close

स्काईआइटीले सुरु गर्‍यो एमएसपी सेवा, व्यवसायहरूले पाउनेछन् एकै ठाउँबाट एकीकृत आइटी समाधान

टेकपाना टेकपाना

जेठ २८, २०८३ १३:१८

स्काईआइटीले सुरु गर्‍यो एमएसपी सेवा, व्यवसायहरूले पाउनेछन् एकै ठाउँबाट एकीकृत आइटी समाधान

काठमाडौँ । इन्टरनेट सेवा प्रदायक कम्पनी स्काई ब्रोडब्यान्ड प्रालिले आफ्नो आईटी डिभिजन ‘स्काईआइटी’ मार्फत म्यानेज्ड सर्भिस प्रोभाइडर (एमएसपी) सेवा सुरु गरेको छ । परम्परागत इन्टरनेट सेवा प्रदायकको सीमित घेराबाट माथि उठेर व्यावसायिक संस्थाहरूका लागि पूर्ण प्रविधि साझेदारका रूपमा यो सेवा विस्तार गरिएको कम्पनीले जनाएको छ ।

हाल डिजिटल प्लेटफर्म, क्लाउड सेवा, साइबर सुरक्षा र व्यवसायको निरन्तरतामा संस्थाहरूको निर्भरता तीव्र रूपमा बढेको छ । यस्तो अवस्थामा एमएसपी सेवा सञ्चालनमा ल्याएको कम्पनीको भनाइ छ ।

कम्पनीका अनुसार यो सेवामार्फत केन्द्रीकृत आईटी सपोर्ट, प्रो-एक्टिभ मनिटरिङ, पूर्वाधार व्यवस्थापन, साइबर सुरक्षा र प्राविधिक सहयोग एकै ठाउँबाट उपलब्ध हुनेछ ।

स्काईआइटीका प्रमुख कार्यकारी अधिकृत सुमनलाल प्रधानले व्यवसायहरू अहिले केवल इन्टरनेट सेवा मात्र नभई भरपर्दो आईटी व्यवस्थापन तथा सञ्चालन, द्रुत प्राविधिक सहयोग, राम्रो साइबर सुरक्षा र निश्चित प्रविधि खर्च खोजिरहेका बताए । उनले भने, “हाम्रो उद्देश्य केवल कनेक्टिभिटी उपलब्ध गराउनु मात्र होइन, संस्थाहरूका लागि विश्वासिलो प्रविधि साझेदार बन्नु हो । एमएसपी मोडलमार्फत हामी निरन्तर सपोर्ट र सेवाको मापनयोग्य मापदण्डसहित व्यावसायिक आइटी व्यवस्थापन सेवा प्रदान गर्नेछौँ ।”

स्काईआइटीको यस सेवाभित्र नेटवर्क पूर्वाधार व्यवस्थापन, प्रयोगकर्ता तथा उपकरण सपोर्ट, सर्भर र सिस्टम मनिटरिङ, वाईफाई तथा ल्यान व्यवस्थापन समावेश छन् । साथै, साइबर सुरक्षा समन्वय, ब्याकअप तथा रिकभरी, आईटी हेल्पडेस्क, एसेट मनिटरिङ र भेन्डर समन्वयजस्ता सेवा पनि कम्पनीले उपलब्ध गराउनेछ

विभिन्न संस्थाको आवश्यकता र व्यवसायको आकारअनुसार छनोट गर्न मिल्ने गरी विभिन्न तहका सेवा प्याकेजहरू तयार गरिएको कम्पनीले जनाएको छ । साथै, नियमित रिपोर्टिङ, प्रभावकारी मर्मतसम्भार र रणनीतिक सुझावमार्फत प्राविधिक समस्या (डाउनटाइम) कम गरी कार्यक्षमता बढाउने लक्ष्य कम्पनीको छ ।

पछिल्लो अध्यावधिक: जेठ २८, २०८३ १७:३७