close

यसरी बनेको थियो, पहिलो मोबाइल ब्याटल रोयल गेम ‘फ्री फायर’

गणेश सुवेदी गणेश सुवेदी

चैत ८, २०७८ १६:६

यसरी बनेको थियो, पहिलो मोबाइल ब्याटल रोयल गेम ‘फ्री फायर’

काठमाडौं । सन् २०१७ त्यो समय थियो, जुन समयमा ब्याटल रोयल गेमले अनलाइन गेमिङको बजारलाई धेरै हदसम्म कब्जा गरेको थियो । यसबेला नै पब्जी पीसी रिलिज भएको थियो, जसले धेरैको मन जितेको थियो ।

योभन्दा अगाडि ब्याटल रोयल गेम भनेर नाम नै सुनिएको थिएन । धेरैको मनमा पब्जी पीसी जस्तै गेम मोबाइल खेल्ने रहर पलाएको थियो र यो रहरलाई यथार्थमा परिणत गर्ने पहिलो गेम बन्यो, फ्री फायर

फ्री फायरको बारेमा धेरैलाई थाहा नहुन सक्छ । फ्री फायर पब्जी जस्तै ब्याटल रोयल गेम हो । जसमा ५० जना प्लेयरहरुलाई प्यारासुटको सहायताले एउटा टापुमा लगेर खसालिन्छ । त्यहाँ उनीहरुले अन्तिमसम्म बाँच्नुपर्ने हुन्छ ।

५० जनामध्ये जो अन्तिमसम्म बाँच्छ, त्यो नै त्यस गेमको विजेता बन्छ । फ्री फायर गेम बनाउने प्रमुख श्रेय फोरेस्ट लीलाई जान्छ । उनको जन्मथलो चीन भएपनि कर्मथलो सिङ्गापुर हो । उनी गरिना कम्पनीको सीईओ तथा संस्थापक पनि हुन् ।

उनले सन् २०१७ मा रिलिज भएको पब्जीले थोरै समयमा कमाएको सफलताबाटै ब्याटल रोयल गेमको भविष्य देखेका थिए ।

त्यसैले उनले गरिनाका दुई कम्पनी ‘वान वान वान डट स्टुडियो’ र ‘ओमेन स्टुडियो’ लाई पब्जी पीसी जस्तै ब्याटल रोयल गेम मोबाइलका लागि बनाउने जिम्मा दिए । जसले नभन्दै सात महिनामा फ्री फायर गेमलाई तयार पारिदिए ।

गेममा भएका कमजोरीलाई सुधार्ने र गेमको प्रचार-प्रसार गर्ने उद्देश्यले २० नोभेम्बर २०१७ मा यसको बेटा भर्जन सार्वजनिक गरियो । जुन केही मानिसलाई मात्र खेल्न दिइएको थियो ।

बेटा भर्जनको परीक्षणपछि ४ डिसेम्बर २०१७ मा यसलाई विश्वव्यापी रुपमा सबैका लागि उपलब्ध गराइयो । सन् २०१७ को अन्तिमतिर यसको रिलिज भएपछि पछाडि फर्केर हेर्नुपरेको छैन ।

यसले सन् २०२१ मा एक अर्ब अमेरिकी डलरभन्दा पनि धेरै कमाएको थियो । साथै यसले विभिन्न अवार्ड पनि जितेको छ, जसमध्ये सन् २०१९ मा प्ले स्टोरको तर्फबाट ‘बेस्ट पपुलर वर्ल्ड गेम’ अवार्ड एक हो ।

फ्री फायरलाई अहिलेसम्म एक अर्बभन्दा बढी डाउनलोड गरिएको छ । फ्री फायरको सफलतालाई मध्यनजर गर्दे गरिनाले अहिले फ्री फायरको म्याक्स भर्जन फ्री फायर म्याक्स पनि सार्वजनिक गरेको छ, जसमा १० करोडभन्दा धेरैपटक डाउनलोड भइसकेको छ ।

फ्री फायरको सफलताको कारण यसको साइज तथा ग्राफिक्स पनि हो, जुन पब्जीको भन्दा सानो र धेरै नै अप्टिमाइज छ । त्यसैले सस्ता र कम पावर भएका मोबाइल फोनमा पनि सजिलै चल्छ । सायद यही कारणले होला, ब्याटल रोयल गेम मन पराउने धेरैको मनमा बस्न सफल भएको ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२