एन्कोडाः नेपालबाटै एआई प्रविधिमा छलाङ मार्ने सपनासहित हार्वर्ड छोडेर फर्किएका युवा इन्जिनियरको कथा
साउन ७, २०८३ १८:११
काठमाडौं । क्याम्ब्रिजको ठिहिर्याउने चिसो रात । हार्वर्ड विश्वविद्यालयको अत्याधुनिक प्रयोगशालामा दिनभर फिजिकल एआईसँग मस्तिष्क खियाएर फर्किएका सूर्योदय शाहीको लागि कोठामा न्यानो ओछ्यानसम्म थिएन । भुइँकै चिसोमा सुतेर उनले एउटा सपना देख्थे- एआईको यो विश्वव्यापी क्रान्तिमा कतै मेरो देशको भाषा र पहिचान हराउने त होइन ? त्यही एउटा प्रश्न र मनभित्रको शून्यताले उनलाई हार्वर्डको चमकधमक र आकर्षक जागिर त्याग्न बाध्य बनायो ।
आज तिनै सूर्योदय काठमाडौंको मैतीदेवीस्थित एउटा साँघुरो कोठामा आफ्ना दुई सहयात्रीसँग मिलेर नेपालको आफ्नै एआई मोडेलको भविष्य लेखिरहेका छन् ।
सूर्योदय विक्रम शाहीको उच्च शिक्षाको यात्रा भारतको प्रतिष्ठित दिल्ली टेक्नोलोजिकल युनिभर्सिटी (डीटीयू) बाट सुरु भएको थियो । जहाँ उनले कम्प्युटर इन्जिनियरिङ पढे । च्याटजीपीटीको लहर आउनुभन्दा धेरै अगाडि नै उनले मेडिकल एआई र कम्प्युटर भिजनमा अनुसन्धान सुरु गरिसकेका थिए । खुट्टाको अल्सर पत्ता लगाउने र बिरुवाको पातमा लाग्ने रोग पहिचान गर्ने एआई मोडेलहरू उनले डीटीयूकै प्रयोगशालामा विकास गरेका थिए ।
उच्च शिक्षा र अनुसन्धानका लागि उनी विश्वमै कम्प्युटर साइन्स रिसर्चमा अग्रणी मानिने युनिभर्सिटी अफ मेरील्यान्ड गए । त्यहाँ उनले कम्प्युटर भिजन, रोबोटिक्स र ह्युमन भिजनको क्षेत्रमा ख्यातिप्राप्त अनुसन्धानकर्ता डा. कर्नेलिया फर्मुलरको नेतृत्वको ह्यमन मोसनलाई अडियोमा बदल्ने परियोजनामा काम गर्ने मौका पाए । तर, उनको उद्देश्य अझ वृहत् थियो ।
महिनौँको प्रयास, लगातारका कोल्ड-ईमेल र निरन्तरको रिजेक्सनपछि अन्ततः उनले म्यासाचुसेट्स आई एन्ड इयर अन्तर्गतको हार्वर्ड अप्थमलोजी एआई एन्ड रोबोटिक्स ल्याबमा अनुसन्धानको अवसर प्राप्त गरे ।
हार्वर्डमा रहँदा उनले दृष्टिविहीन मानिसहरूका लागि डिजाइन गरिएको मेटाको एआरआईए ग्लासेस एआई प्रोजेक्टमा काम गरे । जसले अगाडिको दृश्यलाई केवल चिन्न मात्र होइन, दृष्टिविहीन व्यक्तिलाई हिँड्नका लागि एक्सन-बेस्ड सल्लाह दिने गर्थ्यो । एआईको लहर चलिरहेको बेला यसरी सूर्योदयले ‘फिजिकल एआई’ र इम्बोडाइड एआईको अभ्यास गर्ने मौका पाए ।
बाहिरबाट हेर्दा हार्वर्डको त्यो जीवन जति चम्किलो देखिन्थ्यो, सूर्योदयको व्यक्तिगत यथार्थ त्यति नै सङ्घर्षपूर्ण थियो । कोठा भाडा तिरेपछि बेड किन्ने पैसा समेत नबच्दा उनी चिसो कोठाको भुइँमै सुतेर रात बिताउँथे । दिनभर हार्वर्डको प्रयोगशालामा मस्तिष्क खियाउने र साँझ क्याम्ब्रिजका इनोभेसन सेन्टरहरूमा पुगेर को-फाउन्डरको खोजीमा भौँतारिनु उनको दैनिकी बनेको थियो ।
त्यही समयमा उनले एउटा गहिरो शून्यता महसुस गरे- संसार एआईको क्रान्तिमा तीव्र गतिमा दौडिरहेको थियो, तर त्यो कोठामा नेपाल कतै पनि उपस्थित थिएन ।
सबै पुराना ऐतिहासिक र सरकारी स्रेस्ताहरू विगतमा जलेर खरानी भएको तितो यथार्थ भोग्नुपरेको देश नेपालमा एआईको भविष्य निर्माण गर्नु कसैका लागि पनि एउटा 'मुनशट' (महत्वाकाङ्क्षी तथा उच्च जोखिमयुक्त अग्रगामी परियोजना) जस्तै थियो । तर, हार्वर्ड विश्वविद्यालयमा डा. मेङयु वाङ नेतृत्वको अनुसन्धान प्रयोगशालामा काम गर्ने क्रममा सूर्योदयले एउटा आधारभूत सत्य बुझे- एआईको पुरै साम्राज्य डेटा (आँकडा) को बलियो जगमा उभिएको हुन्छ ।
सूर्योदयले महसुस गरे कि आजका अत्याधुनिक एआई मोडेलहरूलाई अझ सक्षम बनाउने सबैभन्दा ठुलो चुनौती नयाँ एल्गोरिदम होइन, बरु विश्वका अधिकांश समुदाय, भाषा र सन्दर्भलाई समेट्ने उच्च गुणस्तरीय डेटा हो ।
नेपालजस्ता देशका भाषा, ज्ञान र जीवन्त अनुभवले अझै पनि विश्वका अग्रणी एआई प्रणालीहरूमा पर्याप्त रूपमा प्रतिनिधित्व पाएका छैनन् । यही खाडल पुर्न, नेपाललाई प्रविधिको केवल उपभोगकर्ता होइन, विश्वस्तरीय एआईका लागि गुणस्तरीय डेटा निर्माण गर्ने योगदानकर्ताको रूपमा स्थापित गर्न उनी पीएचडी गर्ने अवसर र आकर्षक जागिर त्याग्दै सन् २०२६ को जनवरीमा काठमाडौं फर्किए । र, फेब्रुअरीमा जन्मियो-एन्कोडा ल्याब्स ।
ई-स्पोर्ट्सको मैदानदेखि मैतीदेवीको कोडिङ रुमसम्म
सूर्योदय एक्लै यो गन्तव्यमा होमिएका थिएनन् । उनी भन्छन्- ‘स्टार्टअप कुनै 'र्याम्बो मिसन' होइन, यो त एउटा टिम गेम हो ।” उनले आफ्ना सहयात्रीका रूपमा नेपालकै दक्ष र विश्वासिला पुराना साथीहरू रोजे ।
एन्कोडाका सह-संस्थापक तथा मुख्य सञ्चालन अधिकृत (सीओओ) सुशान्तराज दङ्गाल र सूर्योदय विगत एक दशकभन्दा बढी समयदेखिका मिल्ने साथी हुन् । उनीहरूको पहिलो भेट नेपालको प्रतिस्पर्धी अनलाइन गेमिङ (ई-स्पोर्ट्स) कम्युनिटीमा भएको थियो । उनीहरू सँगै फोर्टनाइट (Fortnite) र भ्यालोरन्ट (Valorant) जस्ता गेमहरू खेल्थे र प्रतिस्पर्धामा भाग लिन्थे ।
गेमिङको त्यो मैदानले उनीहरूलाई चर्को मानसिक दबाबका बीच कसरी धैर्यता कायम राख्ने, हारको सामना कसरी गर्ने अनि समय सकिनै लाग्दा एक-अर्कालाई कसरी विश्वास गर्ने भन्ने व्यावसायिक पाठ सिकाएको थियो । दङ्गालसँग रिएक्ट, नेक्स्ट डट जेएस, नोड र पाइथन जस्ता आधुनिक प्रविधिमा ६ वर्षभन्दा बढीको गहिरो अनुभव छ ।
त्यस्तै, अर्का सह-संस्थापक तथा मुख्य प्रविधि अधिकृत (सीटीओ) अर्जुन दाहाल सानैदेखि प्रविधिप्रति गहिरो रुचि राख्ने एक टेक गिक हुन् । १५ वर्षकै उमेरदेखि विभिन्न प्रणालीहरू डिजाइन गर्ने र ह्याकिङ तथा सफ्टवेयर विकासमा सक्रिय दाहालले पछि भारतको बहुराष्ट्रिय कम्पनी अडानीकनेक्ससहित नेपालका उम्दा आईटी कम्पनीमा ब्याकइन्ड इन्जिनियरका रूपमा काम गरे । ब्याकइन्ड इन्जिनियरिङ र डिस्ट्रिब्युटेड सिस्टममा विशेष दक्षता हासिल गरेका उनी सुशान्त दङ्गालको सिफारिसमा एन्कोडा ल्याब्सको संस्थापक टोलीमा थपिए ।
मैतीदेवीमा बसेर काम गर्ने एन्कोडाको यो टिमको एउटा मौलिक विशेषता छ- एन्कोडाका उत्पादनका हरेक लाइन कोड यी तीनै जना को-फाउन्डरहरू आफैँले लेख्छन् । उनीहरूले कुनै पनि काम बाहिर आउटसोर्स गर्दैनन् । उनीहरू फरक-फरक टाइमजोनमा बसेर अनलाइन मिटिङ गर्दैनन्, बरु हरेक दिन भौतिक रूपमा काठमाडौंमै एकै ठाउँमा बसेर हप्ताको सातै दिन निरन्तर काम गरिरहेका हुन्छन् ।
टोकन क्रान्ति
विश्वव्यापी एआई मोडेलहरू मूल रूपमा ल्याटिन (अङ्ग्रेजी) लिपिमा प्रशिक्षित भएकाले नेपाली जस्ता देवनागरी लिपिमा आधारित भाषाहरू प्रशोधन गर्दा नेपाली प्रविधिको लागत अत्यन्तै महँगो साबित हुँदै आएको छ । अङ्ग्रेजीको एउटा शब्दलाई मोडेलले एउटै टोकनको रूपमा बुझिरहँदा, नेपाली शब्दहरूको बनोट र संयुक्ताक्षरका कारण साविकका मोडेलहरूले एउटै शब्दलाई तीन वा सोभन्दा बढी टोकनमा टुक्राएर मात्र बुझ्ने गर्छन् ।
यही भाषिक विभेदका कारण नेपाली भाषामा एआई मोडेल चलाउँदा तीन गुणा महँगो शुल्क तिर्नुपर्ने बाध्यता छ । यसै गम्भीर समस्यालाई चिर्न एन्कोडा ल्याब्सले आफ्नै विशिष्ट देवनागरी टोकनाइजर विकास गरेको छ । यो प्रविधिले नेपाली भाषाका शब्द र लवजहरूलाई स्वाभाविक रूपमा देवनागरी लिपिमै प्रशोधन गर्छ ।
जसका कारण नेपाली एआई मोडेल सञ्चालन गर्दा लाग्ने एआई एप्लिकेसन र एपीआईको लागत सिधै ३ गुणाले घट्ने सूर्योदय बताउँछन् । यो प्राविधिक विकासले भारतको ठुलो र चर्चित एआई प्रविधि कम्पनी सर्वम् (Sarvam) को नेपाली भाषाको टोकनाइजरलाई समेत प्रदर्शनमा पछि पारेको उनको दाबी छ ।
दन्त-मेडको जन्म
विश्वभर एआईको बजार बाहिरबाट जति चम्किलो देखिए पनि भित्रभित्रै यसले एउटा गम्भीर सङ्कटको सामना गरिरहेको छ । एमआईटीको नान्डा इनिसियटिभ्सद्वारा प्रकाशित 'द जेनएआई डिभाइड: स्टेट अफ एआई इन बिजनेस २०२५' प्रतिवेदन अनुसार करिब ९५ प्रतिशत एआई पाइलट परियोजनाहरू व्यावसायिक कार्यान्वयन (production) सम्म पुग्नु अगावै रोकिएका वा असफल भएका छन् । त्यस्तै, सन् २०२६ को जुनमा स्केल एआईले प्रकाशित गरेको 'द सिक्स पर्सेन्ट रिपोर्ट'ले विश्वका केवल ६ प्रतिशत संस्थाहरूले मात्र एआईलाई आफ्नो मुख्य व्यवसायमा सफलतापूर्वक गहिरोसँग एकीकृत गर्न सकेको तथ्य बाहिर ल्याएको छ । यी दुवै प्रतिवेदनले वास्तविकताको एउटै चित्र देखाएका छन्- बलियो आधारभूत सफ्टवेयर संरचना (Foundation) र उच्च गुणस्तरको डेटा बिना एआईले वास्तविक व्यावसायिक मूल्य सिर्जना गर्न सक्दैन ।
यही निष्कर्षलाई आधार मानेर एन्कोडा ल्याब्सले आफ्नो यात्रा सुरु गर्यो । कम्पनीको स्पष्ट दृष्टिकोण छ- एआई असफल हुनुको मुख्य कारण मोडेल कमजोर हुनु होइन, संस्थाहरूको डेटा आधार (Data Foundation) कमजोर हुनु हो ।
सफल संस्थाहरूले पहिले आफ्नो डेटा व्यवस्थित, संरचित र उच्च गुणस्तरको बनाउँछन्, त्यसपछि मात्र एआईलाई प्रभावकारी रूपमा प्रयोग गर्छन् । त्यसैले एन्कोडा ल्याब्सको लक्ष्य आकर्षक डेमोहरू बनाउनु नभई संस्थाहरूलाई विश्वस्तरीय डेटा पूर्वाधार र त्यसमा आधारित व्यावहारिक उपकरणहरू उपलब्ध गराउनु हो । जसले उच्च गुणस्तरको डेटा सङ्कलन, व्यवस्थापन र किफायती एआई समाधान सम्भव बनाउँछ । यही दृष्टिकोणलाई व्यवहारमा उतार्ने पहिलो उत्पादनका रूपमा एन्कोडा ल्याब्सले स्वास्थ्य क्षेत्रको प्रशासनिक झमेला र कागजी कामको बोझ घटाउन दन्त-मेड (Danta-Med) विकास गरेको छ ।

'दन्त' नामको पछाडि एउटा सुन्दर हिन्दु पौराणिक दर्शन जोडिएको छ । ऋषि वेदव्यासले महाभारत महाकाव्य रचना गर्दा आफ्नो द्रुत वाचनलाई दुरुस्तै लिपिबद्ध गर्न भगवान् गणेशले आफ्नो एउटा दाँत (दन्त) भाँचेर कलमका रूपमा प्रयोग गरी बिना त्रुटि लेखेका थिए भनिन्छ । मानव मस्तिष्कको जटिल ज्ञानलाई प्रविधिको सहायताले सुरक्षित र सुव्यवस्थित दस्ताबेजमा ढाल्ने यही दर्शन नै दन्त-मेडको मर्म हो ।
दन्त-मेड एउटा एम्बिएन्ट एआई-सञ्चालित क्लिनिकल स्क्राइब हो, जसले ओपिडी वा वार्डमा डाक्टर र बिरामीबिच भएको संवादलाई पृष्ठभूमिमा बसेर सुन्छ र अस्पतालको साविककै इलेक्ट्रोनिक मेडिकल रेकर्ड (EMR/HMS) प्रणालीभित्र तुरुन्तै पुनरावलोकन गर्न मिल्ने गरी अत्यन्त व्यवस्थित क्लिनिकल नोट तयार पार्छ ।
यो प्रविधिले परिवेशको आवाज सङ्कलन, स्पिकर डायराइजेसन (कुन डाक्टर बोल्यो र कुन बिरामी स्पष्ट रूपमा छुट्याउने), स्वचालित एसओएपी (Subjective, Objective, Assessment, Plan) दस्ताबेजिकरण, र पूर्वानुमानित कार्यप्रवाह (औषधिको प्रेस्क्रिप्सन र ल्याब परीक्षणको सुझाव) जस्ता जटिल प्राविधिक सुविधाहरू प्रदान गर्छ । यसले डाक्टरहरूको दैनिक करिब २ घण्टाको अमूल्य समय कागजी कामबाट जोगाउने सूर्योदयको दाबी छ । हाल काठमाडौंका तीनवटा निजी अस्पतालहरूसँग सहकार्य गरेर यसको लाइभ पाइलटिङ भइरहेको छ ।
अरू पनि छन् प्रोडक्ट लाइन-अप
एन्कोडा ल्याब्सले केवल स्वास्थ्य क्षेत्रमा मात्र होइन, अन्य कर्पोरेट र सरकारी निकायहरूको डिजिटलाइजेसनका लागि पनि विशिष्ट एआई टुलहरू विकास गरेको छ ।
बैंक तथा वित्तीय संस्थाहरूका लागि परिचय एआई डिजाइन गरिएको छ । यो एक डिजिटल अनबोर्डिङ टुल हो । यसले केवाईसी र केवाईबी (Know Your Business) भेरिफिकेसनको समयलाई २० मिनेटबाट घटाएर एक मिनेटभित्र सीमित गरिदिने सहसंस्थापकहरूको दाबी छ । केवल नागरिकता वा पासपोर्टको फोटो खिचेकै भरमा यसले सबै विवरणहरू अटोमेटिकली ओसीआर गरेर फर्म फिल गर्छ र फेस भेरिफिकेसन म्याच गरेर सुरक्षा सुनिश्चित गर्छ ।
नेपालमा सरकारी र कानुनी दस्ताबेजहरू अझै पनि स्क्यान गरिएका अस्पष्ट पीडीएफ वा इमेजका रूपमा मात्र उपलब्ध छन् । एन्कोडाको देवनागरी अक्षरहरूलाई अत्यन्तै सटीकताका साथ ओसीआर गर्ने लिपि (Lipi) नामक एआई मोडेल छ । जसले महिनौं लाग्ने १०,००० पानाको डिजिटलाइजेसनको काम मात्र एक दिनमा प्रति पेज पाँचदेखि १० को लागतमा सम्पन्न गर्न सक्छ ।
यस एन्कोडासँग बाहेक हार्मोनी (Harmony) नामक डिजिटल ट्विन (Digital Twin) तथा सेकेन्ड ब्रेन (Second Brain) पनि छ । यसले संस्थाका विभिन्न शाखाहरू- जस्तै एचआर, सेल्स र मार्केटिङको डेटालाई एक ठाउँमा ल्याएर आपसमा जोडिदिन्छ र सीईओ वा निर्णयकर्ताहरूलाई एआईसँग सिधै कुरा गरेर रणनीतिक निर्णयहरूको सिमुलेसन (Simulation) गर्ने सुविधा दिन्छ ।
विश्व बजारको सपना
नेपालमा डिप-टेक स्टार्टअप चलाउनु अत्यन्तै चुनौतीपूर्ण काम हो । यहाँका स्थानीय लगानीकर्ताहरूमा प्रि-रेभिन्यु स्टार्टअपको अवधारणा नै नबुझ्ने समस्या रहेको सूर्योदयको बताउँछन् । उनका अनुसार सुरुमै ५० प्रतिशतसम्म शेयर दाबी गर्दै छिटो आईपीओ वा नाफाको दबाब दिन्छन् । त्यसैले एन्कोडा ल्याब्सले आफ्नो इक्विटी कौडीको भाउमा नबेच्ने निर्णय गर्दै हालसम्म कम्पनीलाई पूर्ण रूपमा बुटस्ट्र्याप (आफ्नै व्यक्तिगत लगानी र स्रोत) बाट चलाइरहेको छ ।
कम्पनीको दैनिक खर्च र मोडेल ट्रेनिङको ठुलो आर्थिक बोझलाई व्यवस्थापन गर्न उनीहरूले विभिन्न जुक्तिहरू निकालेका छन् । एन्कोडा ल्याब्स एनभिडिया इन्सेप्सन प्रोग्राममा स्वीकृत भएको छ । जसले उनीहरूलाई वार्षिक एक लाख अमेरिकी डलर (एक करोड ५४ लाख रुपैयाँभन्दा बढी) बराबरको जीपियू क्रेडिट र कम्प्युट पूर्वाधार निःशुल्क उपलब्ध गराएको छ ।
त्यस्तै, कम्पनीको सञ्चालन खर्च जुटाउन उनीहरू आफ्नै डेटा इन्जिन प्रयोग गरी विभिन्न अन्तर्राष्ट्रिय प्रविधि कम्पनी, वाई कम्बिनेटर ब्याक्ड स्टार्टअप, डेटा मार्केटप्लेस तथा अग्रणी एआई अनुसन्धान प्रयोगशालाहरूका लागि उच्च गुणस्तरको डेटा सङ्कलन, एनोटेसन (लेबलिङ) र प्रमाणीकरण (भ्यालिडेसन) गर्ने काम पनि गर्छन् । जसले कम्पनीलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउनुका साथै विश्वस्तरीय एआई प्रणालीहरूका लागि आवश्यक डेटा पूर्वाधार निर्माण गर्ने अनुभव र विशेषज्ञता सुदृढ बनाइरहेको छ ।
यस क्रममा उनीहरूले आफैं काठमाडौँका विभिन्न गुम्बाहरूमा पुगेर जोङ्खा भाषीहरू खोजेर घन्टौंको अडियो डेटा कलेक्ट गरे । यस्तै सानातिना कामबाट हुने कमाईले उनीहरूको बुटस्ट्र्यापिङ खर्च धानिरहेको थियो ।
व्यावसायिक परियोजनासँगै एन्कोडा ल्याब्सले हिमालयन एआईसँग रणनीतिक साझेदारी गर्दै नेपालको ओपन सोर्स नेपाली एलएलएम मोडेल निर्माण अभियानमा पनि योगदान गरिरहेको छ । यस सहकार्यअन्तर्गत एन्कोडा ल्याब्सले नेपाली एलएलएमका लागि आवश्यक डेटा लेयर निर्माण, उच्च गुणस्तरका डेटासेट विकास, मूल्याङ्कन प्रणाली (Evals) तथा डेटा पाइपलाइन तयार गर्ने जस्ता आधारभूत प्राविधिक पूर्वाधार निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ ।
सूर्योदय र उनको टिमको सपना केवल नेपाली भाषा वा नेपालको भूगोलमा मात्रै सीमित छैन । एन्कोडा ल्याब्सको दीर्घकालीन लक्ष्य इन्टरनेटले अझै नसमेटेका स्थान, समुदाय र सन्दर्भहरूलाई एआईले बुझ्न सक्ने बनाउन आवश्यक डेटा पूर्वाधार निर्माण गर्नु हो । आज भाषा तथा टेक्स्टका लागि डेटा निर्माण गरिरहेको कम्पनीको अर्को गन्तव्य स्पेसियल इन्टेलिजेन्स (Spatial Intelligence) हो । यो त्यही क्षेत्र हो, जसमा सूर्योदयले हार्भर्ड विश्वविद्यालयमा अनुसन्धान गरेका थिए ।
एआईले मानिसझैँ आफ्नो वरपरको भौतिक संसारलाई देख्ने, बुझ्ने, नक्साङ्कन गर्ने र त्यसको सन्दर्भअनुसार निर्णय लिन सक्ने क्षमता नै स्पेसियल इन्टेलिजेन्स हो । जसले भविष्यमा रोबोट, स्वचालित सवारीसाधन र अन्य बुद्धिमान प्रणालीहरूलाई वास्तविक संसारमा सुरक्षित र प्रभावकारी रूपमा काम गर्न सक्षम बनाउनेछ ।

भविष्यका एआई प्रणालीहरू केवल भाषा बुझ्ने होइन, वरपरको संसार देख्ने, नक्साङ्कन गर्ने, सन्दर्भ बुझ्ने र त्यसअनुसार निर्णय लिन सक्ने वर्ल्ड मोडेल (World Models) तर्फ अघि बढिरहेका छन् । त्यस्ता प्रणालीहरूका लागि आवश्यक डेटासेट, मूल्याङ्कन प्रणाली र डेटा पाइपलाइन निर्माण गर्नु नै एन्कोडा ल्याब्सको अर्को महत्त्वाकाङ्क्षी लक्ष्य पनि छ । काठमाडौंको मैतीदेवीस्थित एउटा सानो कोठाबाट सुरु भएको यो यात्रा विश्वका अग्रणी एआई प्रणालीहरूलाई इन्टरनेटले पुग्न नसकेका स्थानहरूको सन्दर्भ बुझाउन आवश्यक डेटा पूर्वाधार नेपालबाटै निर्माण गर्ने अठोटका साथ अगाडि बढिरहेको छ ।
पछिल्लो अध्यावधिक: साउन ७, २०८३ १८:११
