close

लगानीकर्ता तर्सिने गरी १००० अङ्कको गिरावट देखिएपछि नेप्सेको वेबसाइट मेन्टिनेन्स मोडमा

टेकपाना टेकपाना

साउन ८, २०८३ १६:१

लगानीकर्ता तर्सिने गरी १००० अङ्कको गिरावट देखिएपछि नेप्सेको वेबसाइट मेन्टिनेन्स मोडमा

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा आज एकैदिन इतिहासकै ठुलो र डरलाग्दो गिरावट देखाएको छ । नेप्से परिसूचक १,००८.९३ अङ्क अर्थात् ३७.०० प्रतिशतले घटेर १,७१७.७९ को बिन्दुमा झरेको देखिएको हो ।

बजार बन्द हुँदासम्म देखिएको यो भारी गिरावटले समग्र लगानीकर्ताहरूलाई चिन्तित र त्रसित बनाएको छ । बजारमा यसरी अस्वाभाविक गिरावट आएपछि नेप्सेको आधिकारिक वेबसाइट (nepalstock.com) हाल 'मेन्टिनेन्स मोड' मा गएको छ ।

वेबसाइटमा हाल 'We'll Be Back Soon' भन्दै साइट मर्मत सम्भारको क्रममा रहेको र केही समयपछि पुन: सञ्चालनमा आउने सन्देश राखिएको छ ।

आजको कारोबारमा ३७ प्रतिशतको ऐतिहासिक गिरावट देखिँदै गर्दा ६ अर्ब २६ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ । बजार ३:०० बजे बन्द भएलगत्तै वेबसाइटमा देखिएको यो प्राविधिक अवरोध वा मर्मत कार्यले गर्दा लगानीकर्ताहरूले विस्तृत विवरण हेर्न पाएका छैनन् । यो उतारचढावलाई नेपाली शेयर बजारको इतिहासमा एक अविश्वसनीय घटनाको रूपमा हेरिएको छ ।

यो वास्तविक गिरावट हो वा वेबसाइटको प्राविधिक त्रुटि मात्रै हो भन्ने विषयमा नेप्सेको आधिकारिक धारणा आउन भने बाँकी छ ।

अपडेट:

नेप्सेको निर्धारित कारोबार समयपश्चात वेबसाइटमा प्राविधिक समस्या आएकोले फरक विवरण देखिएकोमा उक्त समस्या समाधान गरिएको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।

 

पछिल्लो अध्यावधिक: साउन ८, २०८३ २१:०