close

सरकार भन्छः देशका सबै वडा, स्वास्थ्य चौकी र सामुदायिक स्कुलमा इन्टरनेट पुगिसक्यो

टेकपाना टेकपाना

साउन १३, २०७९ १४:३३

सरकार भन्छः देशका सबै वडा, स्वास्थ्य चौकी र सामुदायिक स्कुलमा इन्टरनेट पुगिसक्यो

काठमाडौं । देशभरका सम्पूर्ण स्थानीय तह, वडा कार्यालय, सामुदायिक माध्यमिक विद्यालय र स्वास्थ्य संस्थामा सरकारको निःशुल्क इन्टरनेट जडानको काम सम्पन्न भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले देशका कूल १६ हजार १७७ स्थानमा दुई वर्षसम्मका लागि निःशुल्क इन्टरनेट जडान गरेको हो । 

जसमा पाँच हजार २९९ माध्यमिक विद्यालय, चार हजार २३४ ओटा स्वास्थ्य संस्था, पाँच हजार ९३३ वडा कार्यालय र सात सय आठ ओटा स्थानीय निकाय रहेका छन् । प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी यो परियोजना अघि बढाएको थियो ।

कोष अन्तर्गत सञ्चालित परियोजनाहरूको २०७९ असार मसान्तसम्मको प्रगति विवरण बिहीबारमात्रै सार्वजनिक भएको छ । प्रगति विवरण अनुसार विभिन्न चरणमा भएको सम्झौता अनुरूप देशभरका सम्पूर्ण स्थानीय निकाय, वडा कार्यालय, सामुदायिक माध्यमिक विद्यालय र स्वास्थ्य संस्थामा इन्टरनेट जडानको काम सम्पन्न भएको हो ।

प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोष अन्तर्गत ७०२ स्थानीय तहमा ब्रोडब्यान्ड इन्टरनेट विस्तार गर्नेगरी १८ ओटा परियोजना अगाडि बढाएको थियो । यसरी इन्टरनेट जडान भएका स्थानमा दुई वर्षसम्म निःशुल्क रुपमा इन्टरनेट सेवा उपलब्ध हुने छ ।

त्यसमध्ये कतिपय स्थानमा दुई वर्ष पुगिसकेको छ भने केही स्थानमा भर्खरैमात्र जडानको काम सम्पन्न भएको छ । दुई वर्ष पूरा भइसकेका स्थानमा भने सम्बन्धित संस्थाले नै इन्टरनेट सेवा प्रदायकसँग समन्वय गरी प्राधिकरणले तोकेको मूल्यमा इन्टरनेट जडान गर्न सक्नेछन् ।

प्राधिकरणका अनुसार १८ ओटा प्याकेजमध्ये १० ओटा प्याकेजको अनुगमन तथा प्रमाणीकरणको काम सम्पन्न भइसकेको छ । पाँच ओटा परियोजनामा परामर्शदाताबाट दोस्रो चरणको अनुगमन सकिएको छ । बाँकी तीन ओटा प्याकेज भने तेस्रो चरणको प्रमाणिकरणको प्रक्रियामा छन् । 

यसका साथै प्राधिकरणले यसअघि उपलब्ध गराउँदै आएको इन्टरनेटको गुणस्तरलाई समेत वृद्धि गर्ने छुट्टै परियोजना समेत अघि बढाएको छ । जसमा पहिलो चरणमा भूकम्पबाट अति प्रभावित आठ जिल्लाका वडा कार्यालय, माध्यामिक विद्यालय र स्वास्थ्य संस्थामा २० एमबीपीएस गतिको इन्टरनेट उपलब्ध गराइनेछ ।

जसमा काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, दोलखा, सिन्धुली, रामेछाप र ओखलढुंगा रहेका छन् । जसमा ७६ ओटा स्थानीय तह गरी कूल ४ हजार २ सय ५१ संस्थाहरू रहेका छन् ।

ती संस्थामा २० एमबीपीएसको इन्टरनेट जडानका तथा त्यसको दुई वर्षसम्मको खर्च प्राधिकरणले गर्ने व्यहोर्ने छ । त्यसमध्ये असारसम्म ७३ ओटा गाउँपालिका तथा नगरपालिकासँग सम्झौता भइसकेको प्राधिकरणले जनाएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३