close

निर्वाचन आयोगले बन्द गर्न निर्देशन दिएको ‘नो नट अगेन’ ट्वीटर र फेसबुकको ट्रेन्डिङमा

टेकपाना टेकपाना

कात्तिक ११, २०७९ १४:३६

निर्वाचन आयोगले बन्द गर्न निर्देशन दिएको ‘नो नट अगेन’ ट्वीटर र फेसबुकको ट्रेन्डिङमा

काठमाडौं । निर्वाचन आयोगले बन्द गर्न निर्देशन दिएको ‘नो नट अगेन’ अभियान उल्टै फेसबुक र ट्वीटरको ट्रेन्डिङमा देखिएको छ । पुराना नेताहरूलाई आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनबाट पराजित गराउने उद्देश्य सहित सामाजिक सञ्जालमा सुरु भएको यो अभियान झनै लोकप्रिय बनेको हो । 

आयोगले निर्वाचन आचारसंहिता उलङ्घन गरेको भन्दै उक्त नाम गरेका पेज तथा ग्रुप बन्द गराउन मङ्गलबार निर्देशन दिएको थियो । उक्त निर्देशन पछि यो सामाजिक सञ्जालमा थप चर्चाको विषय बनेको छ ।

आयोगको निर्देशनको विरोध गर्दै विभिन्न व्यक्तिहरूले अहिले 'नो नट अगेन'को समर्थन गरिरहेका छन् । विशेषगरी ट्वीटर र फेसबुकमा यसबारे बढी चर्चा भएपछि फेसबुकको पपुलर नाउ र ट्वीटरको ट्रेन्डिङमा 'नो नट अगेन' परेको हो ।

यतिखेर सामाजिक सञ्जालमा निर्वाचन आयोगको आलोचना र 'नो नट अगेन'को समर्थनमा थुप्रै नयाँ पोस्टहरू आइरहेका छन् ।  आयोगले अभिव्यक्ति स्वतन्त्रताको हनन् गरेको भन्दै चर्चित व्यक्तिहरूले समेत त्यसको विरोध गरेका छन् ।

पूर्व सूचना तथा सञ्चारमन्त्री एवं नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले 'नो नट अगेन' भन्ने विचार लोकतान्त्रिक मूल्य र मान्यता सङ्गत भएको भन्दै आयोगको निर्देशन युक्तिसङ्गत नभएको तर्क राखेका छन् ।

त्यस्तै नेकपा एमालेका नेता भिम रावलले, "कसैलाई मतदान गरौँ वा नगरौँ भन्न नपाइने भए निर्वाचन आयोगले 'शीर्ष' ठानेका नेताहरूलाई अहिले नै 'विजयी' घोषणा गरिदिए कसो होला?" भन्दै प्रश्न गरेका छन् ।

सामाजिक सञ्जालमा 'नो नट अगेन' को बढी समर्थन भइरहेको देखिन्छ । यसमा नाम जोडिएका प्रायः नेताहरूले खासै चासो देखाएका छैनन् ।

पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले भने यसमा विरोध जनाएका छन् । स्वेच्छाले निर्वाचनमा भाग नलिएको व्यक्तिको नाम जोड्न नहुने उनको तर्क छ ।

पछिल्लो अध्यावधिक: कात्तिक ११, २०७९ १४:३८