close

सुस्तामा भारतीय सुरक्षाकर्मी लखेटिएको घटना सत्य, तर भाइरल फोटोहरू एआई सिर्जित

टेकपाना टेकपाना

जेठ २९, २०८३ १४:५७

सुस्तामा भारतीय सुरक्षाकर्मी लखेटिएको घटना सत्य, तर भाइरल फोटोहरू एआई सिर्जित

काठमाडौँ । नेपाल-भारत सीमा क्षेत्र सुस्तामा नेपाली नागरिकले भारतीय सुरक्षाकर्मीलाई लखेटेको वास्तविक घटनालाई लिएर सामाजिक सञ्जालमा भाइरल भइरहेका तस्बिर एआई सिर्जित भएको पाइएको छ । सुस्तामा स्थानीयले भारतीय सुरक्षाकर्मीलाई फिर्ता पठाएको घटना सत्य भए पनि सोही घटनाको भन्दै सामाजिक सञ्जालमा फैलाइएका कतिपय तस्बिर भने एआई प्रयोग गरी बनाइएका नक्कली हुन् ।

प्रतिनिधि सभा सदस्य एवम् श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले शुक्रबार दिउँसो सामाजिक सञ्जालमा दुईवटा तस्बिर सार्वजनिक गरेका थिए । उनले ती तस्बिर शेयर गर्दै प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लाई लक्षित गरी प्रश्न उठाएका थिए ।

प्राविधिक विश्लेषणका क्रममा सामाजिक सञ्जालमा भाइरल भएका ती तस्बिर ओपनएआईको टुल प्रयोग गरी तयार पारिएको पुष्टि भएको छ । भाइरल भइरहेकामध्ये एक तस्बिरमा खोलको छेउ जस्तो देखिने भागमा भारतका ‘सशस्त्र सीमा बल’का सुरक्षाकर्मी देखिन्छन् । उनीहरूको हातमा हतियार पनि देखिन्छन् । अर्को छेउमा दर्जनौं स्थानीय देखिएका छन् । सो फोटोमा अधिकांश सुरक्षाकर्मीको फोटो एक अर्कामा ब्लेन्ड भएको स्पष्ट देखिन्छ । त्यस्तै स्थानीयहरूको फोटो पनि अस्पष्ट छ । यी सङ्केतबाट सो फोटो एआई सिर्जित हो भन्न सकिन्छ । 

त्यस्तै अर्को फोटोमा भारतीय सुरक्षाकर्मीलाई स्थानीयले लखेटिरहेको देखिन्छ । अगाडि सुरक्षाकर्मीहरू भागेका छन् । पछिबाट स्थानीयले लौरोले ती सुरक्षाकर्मीलाई खेदेको देखाइएको छ । तर, यो फोटो पनि ओपनएआईको टुलले निर्माण गरेको पुष्टि भएको छ ।

नेपाल प्रेस, सेतोपाटी, ईकान्तिपुर लगायतले सार्वजनिक गरेको वास्तविक फोटो र भिडिओको स्क्रिनशट लिएर एआईमार्फत यी भाइरल तस्बिरहरू बनाइएको देखिन्छ ।

के भएको थियो सुस्तामा ?

सेतोपटीका अनुसार यो घटना पश्चिम नवलपरासीको सुस्ता गाउँपालिको हो । सो गाउँपालिकाका वडा नं. ५ का वडा अध्यक्ष आदम हुसेनले शुक्रबार बिहान करिब ७ बजे हतियार बोकेका पाँच जना भारतीय सुरक्षाकर्मी नेपाली भूमिमा प्रवेश गरेका थिए ।

भारतीय सीमा नजिकैको टुटनवास्थित पानीको घोलामा बनाइएको कल्भर्ट तरेर नेपाली भूमिमा प्रवेश गरेका भारतीय सुरक्षाकर्मीलाई खेतमा काम गरिरहेका नेपालीले प्रतिकार गरी भारततर्फ नै फिर्ता पठाएका थिए ।

यस घटनाका सम्बन्धमा ईकान्तिपुरमा नवीन पौडेलको ‘भारतीय सुरक्षाकर्मी सुस्ता प्रवेश गरेपछि स्थानीयको प्रतिकार’ शीर्षकको समाचार प्रकाशित छ । जसमा पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी दीपकराज घिमिरेलाई उद्धृत गर्दै भनिएको छ, “नेपाली सुरक्षाकर्मी तत्काल पुगेपछि अहिले सुस्ताको अवस्था सामान्य छ ।”

त्यसैगरी, सेतोपाटी डटकममा पत्रकार भगवती पाण्डेले ‘सुस्तामा हतियारसहित भारतीय सुरक्षाकर्मीले प्रवेश गर्न खोजेपछि स्थानीयले गरे प्रतिकार’ शीर्षकमा समाचार लेखेकी छिन् । उक्त समाचारमा नेपाली भूमिमा हतियारसहित प्रवेश गरेका भारतीय सुरक्षाकर्मीलाई सुस्ताका बासिन्दाले प्रतिकार गरेर फिर्ता पठाएको उल्लेख छ ।

यी विभिन्न तथ्यबाट के पुष्टि हुन्छ भने सुस्तामा भारतीय सुरक्षाकर्मी प्रवेश गरेपछि स्थानीयले प्रतिकार गरी फिर्ता पठाएको घटना सत्य भए पनि सामाजिक सञ्जालमा फैलाइएका भिडन्तका तस्बिर भने एआई निर्मित अर्थात् नक्कली हुन् ।

पछिल्लो अध्यावधिक: जेठ २९, २०८३ १४:५७