close

एन्थोप्रिकको अत्यधिक शक्तिशाली दाबी गरिएको एआई टुल ‘क्लाउड फेबल ५’ बजारमा, केके छन् सुविधा ?

टेकपाना टेकपाना

जेठ २९, २०८३ १६:०

एन्थोप्रिकको अत्यधिक शक्तिशाली दाबी गरिएको एआई टुल ‘क्लाउड फेबल ५’ बजारमा, केके छन् सुविधा ?

काठमाडौँ । एन्थ्रोपिकले यसअघि सर्वसाधारणका लागि सार्वजनिक गर्न नसकिने गरी अत्यधिक शक्तिशाली भनिएको आफ्नो एआई मोडेलको नयाँ भर्सन बजारमा ल्याएको छ । कम्पनीले ‘क्लाउड फेबल ५’ नामको यो टुललाई अन्ततः सर्वसाधारणका लागि खुला गरेको हो ।

वास्तवमा यो मोडेल एन्थ्रोपिककै अर्को एआई कार्यक्रम ‘क्लाउड मिथोस’ को परिमार्जित भर्सन रहेको बताइएको छ । मिथोसलाई विशेषगरी साइबर सुरक्षा, आफै कोड लेख्ने क्षमता र जटिल कुरालाई धेरै चरणमा सोचेर समाधान निकाल्ने अत्यधुनिक टुलका रूपमा चिनिन्छ । गत अप्रिलमा परीक्षणका लागि सीमित रूपमा उपलब्ध गराउँदा मिथोसले प्रविधि, वित्त र सरकारी क्षेत्रका उच्च अधिकारीहरू सुरक्षा चासो चासो पैदा गरेको थियो ।

कतिपय विज्ञले यो टुल वित्तीय सुरक्षाका लागि जोखिमपूर्ण हुनसक्ने चिन्ता व्यक्त गरेका छन् भने कतिपयले यसलाई व्यापारिक प्रचारप्रसारको संज्ञा दिँदै यसको वास्तविक क्षमतामाथि प्रश्न उठाएका छन् ।

एन्थ्रोपिकले मंगलबार एक सूचना जारी गर्दै फेबल ५ लाई निश्चित सुरक्षा सतर्कता र प्रयोगकर्ता सीमा निर्धारण गरेर सार्वजनिक गरिएको जनाएको छ । यद्यपि, कम्पनीले ‘यति धेरै क्षमता भएको मोडेल सार्वजनिक गर्नु आफैमा जोखिमपूर्ण रहेको’ स्वीकार गरेको छ । कम्पनीले भनेको छ, “फेबलको क्षमता हालसम्म सर्वसाधारणका लागि उपलब्ध गराइएका हाम्रा अन्य जुनसुकै मोडेलभन्दा उत्कृष्ट छ ।”

यसअघि मिथोसलाई सीमित संस्थामा परीक्षणका लागि पठाइँदा यसको उच्च बौद्धिक क्षमताका कारण कम्प्युटर प्रणाली ह्याक वा अनधिकृत प्रयोग हुन सक्ने भन्दै एन्थ्रोपिकले सचेत गराएको थियो । 

यता एआई टुलको सरकारी प्रयोग अस्वीकार गरेको विषयलाई लिएर एन्थ्रोपिकले अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) विरुद्ध दायर गरेको मुद्दा अदालतमा विचाराधीन रहेकै अवस्थामा अमेरिकी सरकारी निकायले पनि मिथोसको परीक्षण गरिरहेका छन् ।

एन्थ्रोपिक निकट भविष्यमै पब्लिक कम्पनी बन्ने तयारीमा छ । हाल यसको निजी बजार मूल्यांकन करिब १ ट्रिलियन डलर नजिक पुगेको छ । आफ्ना विभिन्न एआई टुललाई निरन्तर सुधार्दै लगेको र त्यसको क्षमताले विश्वव्यापी चर्चा पाउँदा लगानीकर्ताका माझ कम्पनीको वित्तीय महत्त्वलाई अझ बढाएको विश्लेषकको भनाइ छ ।

कम्पनीका अनुसार यसअघि मिथोसको प्रारम्भिक एक्सेस पाएका करिब १५० समूहलाई अब ‘क्लाउड मिथोस ५’ मा एक्सेस दिइनेछ । यस भर्सनमा संस्थाको विशिष्ट आवश्यकताका आधारमा साइबर सुरक्षा वा जीवविज्ञान (बायोलोजी) सम्बन्धी कुनै प्रतिबन्ध रहने छैनन् । हालसम्म मिथोस प्रयोग गरिरहेका संस्थाले आफ्ना प्रणालीमा १० हजारभन्दा बढी सुरक्षा कमजोरी फेला परेको विवरण एन्थ्रोपिकलाई बुझाइसकेका छन् ।

यो एक्सेस तत्कालका लागि ‘साइबर सुरक्ष अनुसन्धानकर्ता र पूर्वाधार प्रदायकको सानो समूह’ मा मात्र सीमित गरिएको तर छिट्टै यसको दायरा विस्तार गरिने एन्थ्रोपिकको भनाइ छ । कम्पनीले एक विज्ञप्तिमा भनेको छ, “हामी एक विशेष कार्यक्रममार्फत मिथोस ५ को एक्सेस विस्तार गर्ने योजनामा छौँ ।”

‘फेबल’ र ‘मिथोस’ आधारभूत रूपमा एउटै मोडेल हुन् । तर यिनीहरूमा फरक सुरक्षा उपाय र एक्सेसको स्तर निर्धारण गरिएको छ । यी दुवै मोडेलले मानव निर्देशन अनुरूप विगतका कुनै पनि ‘क्लाउड’ मोडेलभन्दा लामो समयसम्म ‘बिना रेखदेख’ काम गर्न सक्ने कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: जेठ २९, २०८३ १६:०