close

गुगल क्रोमको नयाँ नीति: अब एड-ब्लकर प्रयोग गर्न कठिन हुने, विज्ञापन हेर्नैपर्ने बाध्यता

टेकपाना टेकपाना

जेठ २९, २०८३ १३:५९

गुगल क्रोमको नयाँ नीति: अब एड-ब्लकर प्रयोग गर्न कठिन हुने, विज्ञापन हेर्नैपर्ने बाध्यता

 

काठमाडौँ । वेब ब्राउजर गुगल क्रोमले ल्याउन लागेको नयाँ परिवर्तनका कारण प्रयोगकर्ताले अब प्रभावकारी रूपमा एड-ब्लकर (विज्ञापन रोक्ने एक्स्टेन्सन) प्रयोग गर्न नसक्ने भएका छन् । गुगलले एक्स्टेन्सन सञ्चालनसम्बन्धी नियमको पुरानो सेट ‘म्यानिफेस्ट भी२’ लाई विस्तारै बन्द गर्दै नयाँ नीति ‘म्यानिफेस्ट भी३’ अनिवार्य गरेपछि एड-ब्लकर प्रयोगविहीन हुने अवस्था आएको हो । 

गुगलले यस कदमलाई सुरक्षा र ब्राउजरको क्षमता सुधारसँग जोडेर हेरे पनि यसबाट प्रयोगकर्ता विज्ञापन हेर्न बाध्य हुने विश्लेषण गरिएको छ । गत वर्ष सार्वजनिक भएको क्रोमको १२७ भर्सनबाटै सुरु भएको यो प्रक्रियाका कारण सबैभन्दा बढी रुचाइएको एड-ब्लकिङ एक्स्टेन्सन ‘यूब्लक ओरिजिन’ क्रोममा निष्क्रिय भइसकेको छ ।

डेभलपरका अनुसार क्रोमको आगामी भर्सन १५० वा १५१ सम्म पुग्दा म्यानिफेस्ट भी२ को सपोर्ट पूर्ण रूपमा अन्त्य हुनेछ । यसले गर्दा पुराना एड-ब्लकरले काम गर्न छाड्नेछन् । गुगल क्रोमको पछिल्लो अपडेटेड कोडमा ‘ExtensionManifestV2Disabled’ राखिएकाले प्राविधिक रूपमा आगामी केही अपडेटमै यी सेवा पूर्ण रूपमा बन्द हुने बाटो खुलिसकेको छ ।

नयाँ म्यानिफेस्ट भी३ प्रणाली लागु भएपछि क्रोमले एड-ब्लकरको मुख्य मेरुदण्ड मानिने ‘डाइनामिक फिल्टरिङ’ सिस्टमलाई रोक्नेछ । हालसम्म प्रयोग भइरहेको प्रणालीमा एड-ब्लकरले ब्राउजरको ब्याकग्राउन्डमा काम गर्दै विज्ञापन स्क्रिनमा लोड हुनुअघि नै रोक्न सक्थे । तर, नयाँ व्यवस्था अनुसार एड-ब्लकरले विज्ञापन रोक्नका लागि गुगल क्रोमको प्रणालीसँग अनुमति माग्नुपर्नेछ । यस्तो हुँदा विज्ञापन रोक्ने प्रविधि नै निकै कमजोर र अप्रभावकारी बन्नेछ । 

विज्ञापन बिक्रीबाटै आफ्नो अधिकांश आम्दानी गर्ने गुगलको यस नयाँ नीतिले एड-ब्लकरको प्रभावकारितालाई करिब शून्यमा झार्ने प्राविधिक विज्ञको बुझाइ छ । गुगलका इन्जिनियर डेभलिन क्रोनिनले प्राविधिक जटिलता, प्राविधिक दायित्व र सुरक्षा जोखिमका कारण म्यानिफेस्ट भी२ लाई अनन्तकालसम्म कायम राख्न सम्भव नभएको स्पष्ट पारेका छन् । गुगलले सुरक्षाको दृष्टिकोणबाट यस परिवर्तनलाई अपरिहार्य बताए पनि प्रयोगकर्ता र डेभलपरले भने यसलाई विज्ञापन नियन्त्रण गर्ने र आफ्नो व्यापार सुरक्षित गर्ने गुगलको प्रयासका रूपमा लिएका छन् ।

विगतका घटनालाई नियाल्दा क्रोम एक्स्टेन्सनको दुरुपयोग गरी मालवेयर फैलाइएका थुप्रै तथ्य भने बाहिर आएका छन् । गत मार्च महिनामा १० लाखभन्दा बढी डाउनलोड भएको र गुगल आफैंले सिफारिस गरेको ‘Save image as Type’ नामक एक्स्टेन्सनको स्वामित्व गोप्य रूपमा परिवर्तन गरी प्रयोगकर्ताको विवरण चोर्ने कोड थपिएको फेला परेको थियो । यस्तै गत अप्रिलमा क्रोम वेब स्टोरमा एउटै समूहले सञ्चलन गरेको र ब्याकडोर भएका दर्जनौं मालवेयरयुक्त एक्स्टेन्सन फेला परेका थिए भने गत वर्ष ५८ वटा एक्स्टेन्सनले ६० लाख प्रयोगकर्ताको डेटा गोप्य रूपमा ट्र्याक गरेको पुष्टि भएको थियो ।

यद्यपि ‘साइबरन्युज’ले गरेको एक अनुसन्धानले म्यानिफेस्ट भी३ लागू भएपछि पनि साइबर अपराधीले खतरनाख एक्स्टेन्सन बनाउन सक्ने देखाएको छ । अर्कोतर्फ विज्ञापन रोक्न नसकिने अवस्था सिर्जना हुँदा प्रयोगकर्ताको सुरक्षा थप जोखिममा पर्ने देखिएको छ । अमेरिकी साइबर सुरक्षा एजेन्सी ‘सीआईएसए’ ले मालवेयर र हानिकारक वेबसाइटमा हुने रिडाइरेक्टको जोखिम कम गर्न, डिभाइसको गति सुधार्न र तेस्रो पक्षीय डेटा संकलन नियन्त्रण गर्नका लागि अनिवार्य रूपमा एड-ब्लकिङ सफ्टवेयर प्रयोग गर्न सिफारिस गर्दै आएको छ । तर, गुगलको यो नयाँ नीतिका कारण अब क्रोममा विज्ञापन रोक्न असम्भव प्रायः बन्दै गएको छ ।

क्रोममा एड-ब्लकर प्रयोग गर्न नसकिने अवस्था सिर्जना भएसँगै प्रयोगकर्ता र डेभलपरले यसको विकल्प खोज्न थालेका छन् । अनलाइन ट्र्याकिङ र अनावश्यक विज्ञापनबाट बच्न चाहने प्रयोगकर्ता अब क्रोम छोडेर गोपनीयतालाई प्राथमिकता दिने तथा एड-ब्लकिङलाई निरन्तरता दिने ‘ब्रेभ’ वा ‘फायरफक्स’ जस्ता वैकल्पिक ब्राउजरतर्फ आकर्षित हुन सक्ने सङ्केत डेभलपरले गरेका छन् ।

पछिल्लो अध्यावधिक: जेठ २९, २०८३ १३:५९