close

ईमेलबाट परीक्षा लिँदै पूर्वाञ्चल विश्वविद्यालय

टेकपाना टेकपाना

भदौ १७, २०७७ ११:४७

ईमेलबाट परीक्षा लिँदै पूर्वाञ्चल विश्वविद्यालय

काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयले कोभिड महामारीको समयमा वैकल्पिक विधिमार्फत समेस्टर प्रणाली अन्तर्गत स्नातक तथा स्नातकोत्तर तहको परीक्षा सञ्चालन गर्ने भएको छ । आइतबारको प्राज्ञिक परिषद्‌ र सोमबारको कार्यकारी परिषद्‌को निर्णय अनुसार विश्वविद्यालयले ‘टाइम बाउण्ड होम इक्जाम’ को रुपमा आगामी असोज पहिलो साताबाट परीक्षा लिने भएको हो ।

विश्वविद्यालयका अनुसार यो विधिमा प्रश्नपत्र ईमेलमार्फत उपलब्ध गराउने र निश्चित समयभित्र विद्यार्थीले ईमेलमार्फत नै उत्तर पुस्तिका बुझाउने गरी परीक्षा सञ्चालन हुनेछ। परीक्षा व्यवस्थापन कार्यालयले उपलब्ध गराएको विद्यार्थीको रजिष्ट्रेसन नम्बर, रोल नम्बर र आवश्यक निर्देशनहरु केन्द्राध्यक्षले परीक्षा सुरु हुनुभन्दा पाँच दिन अगावै सम्पूर्ण विद्यार्थीलाई जानकारी गराउनेछन् ।

यसैगरी परीक्षा तालिका अनुसारको प्रश्नपत्र परीक्षा सञ्चालन हुने समयभन्दा कम्तीमा ३० मिनेट पहिले परीक्षा व्यवस्थापन कार्यालयले सम्बन्धित क्याम्पस(केन्द्राध्यक्ष)को आधिकारिक ईमेल आईडीमा प्रश्नपत्र पठाइनेछ । उक्त प्रश्नपत्र केन्द्राध्यक्षले परीक्षार्थीको ईमेलमा १५ मिनेट अगाडि पठाउनेछन् ।

परीक्षा फाराम नभरेका परीक्षार्थीहरुलाई परीक्षामा सहभागी नगराइने विश्वविद्यालयले जनाएको छ । प्रत्यक परीक्षार्थीले परीक्षा सुरु हुनुभन्दा १० दिन अगाडि आफ्नो आधिकारिक ईमेल आईडी आफ्नो क्याम्पसलाई उपलब्ध गराउनुपर्नेछ । क्याम्पसले सोही ईमेल आईडीमा प्रश्नपत्र उपलब्ध गराउनेछ ।

परीक्षा सम्पन्न भइसकेपछि उत्तर पुस्तिकाकै आधारमा परीक्षार्थीको हाजिरी विवरण तयार पारिनेछ । परीक्षामा सहभागी हुनका लागि प्रत्येक परीक्षार्थीहरुले नियमानुसार परीक्षा फाराम भरी परीक्षा व्यवस्थापन कार्यालयबाट अनिवार्यरुपमा रोल नम्बर प्राप्त गर्नुपर्नेछ ।

परीक्षार्थीले निर्धारित अवधिमा उत्तर पुस्तिकाको स्क्यान तथा फोटो आफ्नो क्याम्पस तथा कलेजको आधिकारिक ईमेलमा पठाउनुपर्नेछ । यस किसिमको परीक्षामा सहभागी हुन परीक्षार्थी स्वयम्‌ले आफूलाई आवश्यक पर्ने फुलस्केल पेपर, एफोर साइज फोटोकपी पेपर, कालो कलम, इन्टरनेट र विद्युत जस्ता आवश्यक सामग्रीको व्यवस्था गर्नुपर्नेछ ।

यसरी परीक्षार्थीहरुले आफू बसोबास गरेको स्थानबाटै परीक्षामा सहभागी हुन सक्ने विश्वविद्यालयको परीक्षा व्यवस्थापन कार्यालयबाट जारी सूचनामा उल्लेख छ । यो विधिअन्तर्गत सञ्चालित परीक्षामा सहभागी हुन नसक्ने विद्यार्थीहरुले अर्को परीक्षामा नियमित परीक्षार्थीकै रुपमा सहभागी हुन पाउनेछन् ।

परीक्षा सम्बन्धि विस्तृत सूचना थाहा पाउन यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०