close

'सुरक्षित इन्टरनेट'को भिडिओ बनाउने किशोरकिशोरीलाई सरकारी प्रमाणपत्रसँगै नगद पुरस्कार दिइने

टेकपाना टेकपाना

माघ २५, २०७९ ८:५५

'सुरक्षित इन्टरनेट'को भिडिओ बनाउने किशोरकिशोरीलाई सरकारी प्रमाणपत्रसँगै नगद पुरस्कार दिइने

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले सुरक्षित इन्टरनेट सम्बन्धी भिडिओ सामग्री बनाउने किशोर किशोरीलाई प्रमाणपत्रका साथै नगद पुरस्कार प्रदान गर्ने भएको छ । नियामकले सुरक्षित इन्टरनेट दिवसको अवसरमा 'सुरक्षित इन्टरनेटको लागि हातेमालो' शीर्षकमा भिडिओ प्रतियोगिता गर्न लागेको हो । 

प्रतियोगितामा १२ वर्षदेखि १८ वर्ष उमेर समूहका सातै प्रदेशका बालबालिका तथा किशोरकिशोरीहरूले सहभागिता जनाउन सक्ने छन् । भिडिओको अवधि अधिकतम दुई मिनेटसम्मको मात्र हुनुपर्नेछ र भिडिओ एमपीफोर फर्म्याटमा हुनुपर्नेछ । 

प्रदेश अनुसार प्रतियोगीले छुट्टाछुट्टै ईमेल आईडीमा आफ्नो भिडिओ सामग्री पठाउनु पर्नेछ । यसरी प्राप्त भिडिओहरू विशेषज्ञ समितिबाट मूल्याङ्कन गराई प्रत्येक प्रदेशबाट उत्कृष्ट तीन भिडिओलाई छनौट गरी प्रशंसापत्रका साथै नगद पुरस्कार प्रदान गरिनेछ । 

साथै सहभागी सबै बालबालिका तथा किशोरकिशोरीहरूले समेत प्रमाणपत्र प्राप्त गर्नेछन् । भिडिओ बनाउँदा व्यक्तिगत, सामूहिक (बढीमा चार जनासम्मको समूहमा वा बाल क्लब तथा विद्यालयमार्फत) बनाउन सकिनेछ । 

अङ्ग्रेजी वा नेपाली भाषामा बनाउनु पर्ने भिडिओमा प्रतियोगीको पहिचानका लागि आफ्नो दृश्य वा फोटो समेत समावेश गर्नुपर्नेछ । प्रतियोगितामा सहभागी हुने भिडिओ अन्त कतै प्रकाशन नभएको हुनुपर्ने प्राधिकरणले जनाएको छ । 

भिडिओमा कथा, कविता, गीत, नाटक, वक्‍तृत्व कला लगायतका रचनाहरूको माध्यमबाट आफ्नो सिर्जनशीलता प्रयोग गर्न सकिनेछ ।  भिडिओ आउँदो फागुन २३ गतेभित्र पठाइसक्नु पर्नेछ र साथमा आफ्नो जन्ममिति खुल्ने परिचयपत्र र फोटोको डिजिटल प्रति समेत संलग्न राख्नु पर्नेछ ।  

पछिल्लो अध्यावधिक: माघ २५, २०७९ १२:५९