close

टिकटक बिक्री नगरे प्रतिबन्ध लगाउने अमेरिकाको चेतावनी

टेकपाना टेकपाना

चैत २, २०७९ ११:५२

टिकटक बिक्री नगरे प्रतिबन्ध लगाउने अमेरिकाको चेतावनी

काठमाडौं । अमेरिकाले लोकप्रिय एप टिकटकमा रहेको चिनियाँ स्वामित्व बिक्री नगरे आफ्नो देशमा प्रतिबन्ध लगाउने चेतावनी दिएको छ । टिकटकका प्रतिनिधिले बुधबार अमेरिकी प्रशासनबाट त्यस्तो चेतावनी आएको पुष्टि गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अमेरिकी प्रयोगकर्ताको डेटा चिनियाँ सरकारलाई उपलब्ध गराइरहेको हुनसक्ने भन्दै अमेरिकी अधिकारीहरूले चासो व्यक्त गर्दै आइरहेका छन् । द वालस्ट्रिट जर्नलमा प्रकाशित एक रिपोर्टअनुसार अमेरिकाको विदेशी लगानी समितिले टिकटक बिक्री गर्नुपर्ने सर्त अगाडि सारेको हो ।

चीन सरकारले कुनै निश्चित कन्टेन्ट देखाएर वा नदेखाएर आफ्नो देशका नागरिकहरूको लोकप्रिय अभिमत प्रभावित पार्ने कार्यमा टिकटकलाई प्रयोग गर्नसक्ने कुरामा अमेरिकी अधिकारीहरूको मुख्य सरोकार रहेको छ ।

छोटो भिडिओको लागि चर्चित एप टिकटकको स्वामित्व चिनियाँ कम्पनी बाइटड्यान्सको हातमा छ । जुन अमेरिकामा खासगरी किशोरकिशोरीमाझ निकै नै लोकप्रिय छ । पिउ रिसर्च सेन्टरले सन् २०२२ मा गरेको एक सर्भेका क्रममा अमेरिकाका करिब ६७ प्रतिशत किशोरकिशोरीहरू टिकटक प्रयोग गर्नेगरेको बताएका थिए ।

यही मार्चको सुरुताका संसद्‌को विदेशी मामिला समितिले अमेरिकी प्रशासनले टिकटकमाथि राष्ट्रव्यापी प्रतिबन्ध लगाउनुपर्ने पक्षमा आफ्नो मत व्यक्त गरेको थियो ।

यद्यपि गत जनवरीमा द वाल स्ट्रिट जर्नलले प्रकाशित गरेको एक प्रतिवेदन अनुसार टिकटकका अधिकारीहरूले अमेरिकी सांसदहरूसँग बैठक गरेको र कम्पनीको १.५ अर्ब डलरको अमेरिकी व्यवसायको पुनः संरचना गर्ने बताएका थिए । तर टिकटकले भने आफूले चीन सरकारसँग प्रयोगकर्ताको कुनै पनि डेटा शेयर नगर्ने बताउँदै आएको छ ।

पछिल्लो अध्यावधिक: चैत २, २०७९ ११:५९