close

मलाई इन्बक्समा नग्न तस्वीरहरू पठाउन थालियो- कुञ्जना घिमिरे

टेकपाना टेकपाना

चैत १०, २०७९ ११:२५

मलाई इन्बक्समा नग्न तस्वीरहरू पठाउन थालियो- कुञ्जना घिमिरे

काठमाडौं । कलाकार कुञ्जना घिमिरे 'सुन्तली' ले सामाजिक सञ्जालमार्फत आफूलाई मानसिक यातना दिन थालिएको बताएकी छन् । फेसबुकमा एक पाेस्ट गर्दै उनले आफूलाई गालीगलौज गरिएको र इन्बक्समा नग्न तस्वीरहरू पठाइएको उल्लेख गरेकी छन् ।

भरतपुरमा निर्माणाधीन क्रिकेट रंगशालालाई लिएर उठेको विवादमा आफूलाई मानसिक यातना दिइएको र अब सहन नसकिने उनले लेखेकी छन् ।

"अबको हरेक वार्ता खुलेआम रङ्गशालाको मैदानमा गरियोस् न कि बन्द कोठामा । मलाई मेरो इन्बक्समा नग्न तस्वीरहरु पठाउन सुरुवात भएको छ," उनले लेखेकी छन्, "विभिन्न तुच्छ गालीको वर्षात् भइरहेको छ । म पनि मान्छे हुँ, धेरै मन दु:खेको छ राज्य र राष्ट्रसँग ।"

आफ्नाे श्रीमान् सीताराम कट्टेल 'धुर्मुस' ले केही समय धैर्य गर भनेर सान्‍त्‍वना दिएपनि यतिका समय सुन्नै नसकिने शब्दहरूका गालीगलौज सहँदै आउँदा अब आफू मानसिक यातनाले विक्षिप्त भएको उनले उल्लेख गरेकी छन् ।

"अब सुन्ने र सहने शक्ति छैन ममा, कि मलाई सफाइ देऊ कि सजाय ! तर जे गर्छौ छिटो गर," उनले लेखेकी छन् ।

पछिल्लो अध्यावधिक: चैत १०, २०७९ ११:३२