close

विद्यार्थी भर्ना हुन नआएपछि पूर्वाञ्चल विश्वविद्यालयले रोक्यो एआईको पढाइ

टेकपाना टेकपाना

बैशाख १, २०८० ७:४०

विद्यार्थी भर्ना हुन नआएपछि पूर्वाञ्चल विश्वविद्यालयले रोक्यो एआईको पढाइ

काठमाडौं । विद्यार्थीको संख्या अपुग भएपछि पूर्वाञ्चल विश्वविद्यालयले ब्याचलर अफ टेक्नोलोजी इन आर्टिफिसियल इन्टेलिजेन्स (बी टेक इन एआई) को पढाइ स्थगित गरेको छ । 

चार वर्षे कोर्षमा ४८ विद्यार्थी सिट क्षमता भएपनि चार जना विद्यार्थीमात्रै आएपछि उक्त विषयको अध्यापन राेकिएकाे हाे । गत भदौ ५ गते पहिलो पटक भर्ना खुला गरेको विश्वविद्यालयले विद्यार्थी नआएपछि बारम्बार सूचना निकालेकाे थियाे । 

विश्वविद्यालयको स्कुल अफ साइन्स एन्ड टेक्नोलोजीका निर्देशक नरेश शाह राम्राेसँग प्रचार गर्न नसकेर र कोर्षको महत्त्व बुझाउन नसकेर विद्यार्थी नआएको बताउँछन् । 

“हरेक वर्ष सबै शैक्षिक कार्यक्रममा विद्यार्थीको संख्या घटिरहेको छ । विद्यार्थीहरू विदेश गइरहेका छन्,” उनी भन्छन्, “त्यसैको नतिजा पनि हो यो । विद्यार्थीलाई स्वदेशी विश्वविद्यालयमा पठाउन सरकारले पहल गर्नुपर्थ्यो । तर गर्न सकेन । त्यसैले त्यस्तो नतिजा आएको हो ।”

अहिले ती चार विद्यार्थीलाई विश्वविद्यालयले ब्याचर इन इन्फर्मेसन टेक्नोलोजी (बीआईटी) पढाइरहेको छ । विश्वविद्यालयले एआईको अध्यापन गराउन भनेर यसै वर्षदेखि सो विषय सञ्चालन गर्ने योजना बनाएको थियो ।

पछिल्लो अध्यावधिक: बैशाख १, २०८० ७:४०