close

नेपालमै बनेका सवारी साधनलाई मान्यता दिने कानुन छैन: सांसद शाह

टेकपाना टेकपाना

बैशाख ६, २०८० १७:५५

नेपालमै बनेका सवारी साधनलाई मान्यता दिने कानुन छैन: सांसद शाह

काठमाडौं । देशमै बनेको सवारी साधनलाई कानुनले मान्यता नदिएको भन्दै सांसद असिम शाहले सरकारको ध्यानाकर्षण गराएका छन् । आज प्रतिनिधि सभामा बोल्दै उनले मेड इन नेपाल, आत्मनिर्भरता, रोजगारी सिर्जना जस्ता सरकारको नारा भन्ने कुरा मात्र भएको बताए । 

नेपालमा बनेको विद्युतीय सवारीले नम्बर प्लेट नपाएको कुरा अहिले सामाजिक सञ्जालमा बहसको विषय बनेको छ । यही कुरालाई लिएर उनले बैठकमा आफ्नो धारणा राखेका हुन् । 

"आफ्नो देशमा बसेर सवारी साधन उत्पादन गर्छु भन्दा हाम्रो कानुनले स्वदेशमा बनेको सवारीलाई मान्यता दिदैँन । सम्बन्धित निकायसँग बुझ्दा स्वेदशमा नै बाइक र गाडी उत्पादन गरिन्छ भन्ने कुरा त्यो बेला मनन नै गरिएन, त्यसैले त्यस्तै नियम बन्यो भन्ने जवाफ आउँछ," उनले भने । 

यातायात व्यपस्थापन कार्यविधी निर्देशिका २०६० संसोधन २०७४ मा सवारी दर्ताको भंसार प्रज्ञापनपत्र र भंसार महसुल अनिवार्य गरेको छ । यो नियमले गर्दा स्वदेशी उत्पादनले दर्ताको प्रमाणपत्र पाउन नसकेको कुरा बताउँदै यसले नेपालमा उत्पादित सवारी साधनको दर्ताको नम्बर प्लेट पाउन नसकेको उनले बताए । 

"नम्बर प्लेट नहुँदा खरिदकर्तालाई ट्राफिक प्रहरीले नम्बर प्लेट नभएको आधारमा दुख दिने गरेका छन्," उनले बताए । नेपालमै बनेको विद्युतीय बाइक यात्री दर्ता हुन नसक्दा एकातिर कम्पनिले आफ्नो उत्पादन रोकेको छ भने अर्कोतिर नम्बर प्लेट नहुँदा ट्राफिक प्रहरीले सवारी नै जफत गर्ने गरेको छ । 

यसलाई मध्यनजर गर्दै नेपालमा बनेको विद्युतीय सवारी लगायत नेपालमा नै एसेम्बल हुने सवारीको हकमा समेत फरक नियम बनाएर व्यवस्थापन गरिनुपर्ने उनले अभिव्यक्ति दिएका छन् । 
 

पछिल्लो अध्यावधिक: बैशाख ६, २०८० १७:५६