close

पूर्वाञ्चल विश्वविद्यालयमा नेविसंघको तालाबन्दी, इन्जिनियरिङ र आईटी विषयको परीक्षा स्थगित

टेकपाना टेकपाना

जेठ ३२, २०८० १५:३९

पूर्वाञ्चल विश्वविद्यालयमा नेविसंघको तालाबन्दी, इन्जिनियरिङ र आईटी विषयको परीक्षा स्थगित

काठमाडौं । आजदेखि सुरु हुने भनिएको पूर्वाञ्चल विश्वविद्यालयको इन्जिनियरिङ सङ्कायको परीक्षा स्थगित भएको छ । परीक्षा व्यवस्थापन कार्यालयले एक सूचना जारी गर्दै यसको जानकारी दिएको हो ।

योसँगै इलेक्ट्रिकल इन्जिनियरिङ, इलेक्ट्रोनिक्स, कम्युनिकेसन एन्ड इन्फरमेसन इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ लगायत विभिन्न विषयको परीक्षा अनिश्चितकालका लागि स्थगित भएको छ ।

योसँगै असार ३ गते देखि सुरु हुने भनिएकाे विज्ञान तथा प्रविधि सङ्कायभित्र रहेको बीसीए, बीआईटी आदिको परीक्षा समेत अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको छ । 

केही दिनअघि विश्वविद्यालयको सेवा आयोगका अध्यक्ष महेश दाहाललाई नेपाल विद्यार्थी संघ (नेविसंघ) का कार्यकर्ताले कालोमोसो दलेका थिए । त्यसपछि परीक्षा व्यवस्थापन कार्यालयमा समेत ताला लगाइएको थियो । यहीकारण परीक्षा स्थगित गर्नुपरेकाे विश्वविद्यालयका परीक्षा नियन्त्रक बलेन्दु हमालले टेकपानालाई ​जानकारी दिए ।

यो समस्या समाधान हुनासाथ परीक्षा सञ्चालन हुने उनले जनाए । यद्यपि यसअघि सञ्चालन भइरहेको परीक्षा भने यथावत् रहने उनले बताए ।

पछिल्लो अध्यावधिक: जेठ ३२, २०८० १५:५३