close

पूर्वाञ्चल विश्वविद्यालयको स्नातकोत्तरमा थपियो इन्जिनियरिङका दुई नयाँ कोर्ष

टेकपाना टेकपाना

असार २४, २०८० १४:४८

पूर्वाञ्चल विश्वविद्यालयको स्नातकोत्तरमा थपियो इन्जिनियरिङका दुई नयाँ कोर्ष

काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयले स्नातकोत्तर तहमा यो शैक्षिक सत्रबाट इन्जिनियरिङका दुई नयाँ कोर्ष  थप गरेको छ । साउनको पहिलो हप्ताबाट कक्षा सञ्चालन गर्ने गरी विश्वविद्यालयले ‘कन्स्ट्रक्सन म्यानेजमेन्ट’ र ‘इलेक्ट्रिकल पावर’ इन्जिनियरिङ कोर्ष थपेको हो ।

हाइड्रोपावर, ट्रान्समिसन लाइन, फल्ट फाइन्डिङ, रिपेयर  मेन्टेनेन्स लगायतका क्षेत्रमा आवश्यक पर्ने जनशक्ति देशमा नै तयार गर्ने  उद्देश्यले ‘इलेक्ट्रिकल पावर’ सुरु गरिएको पूर्वाञ्चल विश्वविद्यालयका इन्जिनियरिङ सङ्कायका डीन प्राध्यापक ई. देवी प्रसाद भट्टराईले बताए । 

त्यस्तै नेपाल जस्तो विकासशील देशमा पूर्वाधार निर्माण निकै महत्त्वपूर्ण हुने भएकाले त्यसमा चाहिने जनशक्ति निर्माणमा सहयोग गर्न ‘कन्स्ट्रक्सन म्यानेजमेन्ट’ को पढाइ सुरु गरेको पनि उनले बताए । 

स्नातक तहमा इलेक्ट्रिकल विषय पढेका विद्यार्थीले ‘इलेक्ट्रिकल पावर’ मा भर्ना हुन पाउनेछन् भने सिभिल, आर्किटेक्चर र एग्रिकल्चर इन्जिनियरिङ गरेकाले ‘कन्स्ट्रक्सन म्यानेजमेन्ट’ पढ्न पाउनेछन् ।

इन्जिनियरिङ सङ्कायका डीन प्रा. ई. भट्टराईका अनुसार यी दुवै विषयहरू उच्च शिक्षाका रुपमा अध्ययन तथा अनुसन्धानमा केन्द्रित रहेका छन् । साथै यी क्षेत्रमा अभाव भएका जनशक्ति पनि यी कोर्षले पूरा गर्नेछन् । 

यी दुवै विषय पूर्वाञ्चल विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङ विराटनगर र सम्बन्धन प्राप्त हिलसाइड कलेज अफ इन्जिनियरिङ, काठमाडौंमा पढाइ हुने विश्वविद्यालयले जनाएको छ । 

यस शैक्षिक सत्रका लागि भने विश्वविद्यालयले भर्ना लिइसकेको छ । दुवै कोर्षमा विद्यार्थी भर्ना क्षमता मात्र २० जनाको रहेको छ । 

हाल यस सङ्काय अन्तर्गत कम्प्युटर, सिभिल, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स इन्जिनियरिङ लगायत अन्य कोर्षको अध्यापन भइरहेको छ ।

पछिल्लो अध्यावधिक: असार २४, २०८० १४:४८