close

ट्वीटरलाई ‘एक्स’ मा रिब्रान्ड गर्दा एलन मस्क कानूनी झमेलामा पर्न सक्ने

टेकपाना टेकपाना

साउन ९, २०८० १४:५९

ट्वीटरलाई ‘एक्स’ मा रिब्रान्ड गर्दा एलन मस्क कानूनी झमेलामा पर्न सक्ने

काठमाडौं । ट्वीटरलाई ‘एक्स’​मा रिब्रान्ड गर्ने मस्कको निर्णय कानूनी रूपमा जटिल हुने भएको छ । ट्वीटरको प्रतिद्वन्द्वी प्लेटफर्म थ्रेड्स ल्याउने कम्पनी मेटा र माइक्रोसफ्टले यसअघि नै एक्स अक्षरको बौद्धिक सम्पत्ति अधिकार (इन्टेलेक्चुअल प्रोपर्टी राइट्स) लगिसकेकाले एक्स कर्पोरेसन कानूनी झमेलामा पर्ने सम्भावना उच्च भएको हो । 

एक्स (X) व्यापक रूपमा प्रयोग भएको र सयौंले ट्रेडमार्क लिएकाले एक्स कर्पोरेसनलाई कानूनी रूपमा एक्समा रिब्रान्ड गर्न चुनौती हुने विश्लेषकहरू बताउँछन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यम रोयटर्ससँग कुरा गर्दै ट्रेडमार्क एटोर्नी जोश गार्बेनले कुनै न कुनै व्यक्तिले कुनै दिन यही विषयमा मुद्दा हाल्ने सम्भावना शतप्रतिशत भएको दाबी गरेका छन् ।

उनका अनुसार अमेरिकामा एक्सको ट्रेडमार्क दर्ता गर्ने ९०० कम्पनी छन् । मस्कले सोमबार ट्वीटरको नाम ‘एक्स’ राखी सामाजिक सञ्जालका लागि नयाँ लोगो सार्वजनिक गरेका हुन् । कालो ब्याकग्राउन्डमा भएको स्टाइलिश टेक्स्टको ‘एक्स’ अक्षर  नै ट्वीटरको नयाँ लोगो बनेको छ ।

आफ्नो प्रडक्ट वा सेवालाई चिनाउने लोगो, अक्षर, नाम, स्लोगान भएका कम्पनीले त्यस्तो अवस्थामा उल्लङ्घन भएको दाबी गर्न सक्छन्, जतिबेला उनीहरूका उपभोक्तामाथि प्रडक्ट वा सेवालाई लिएर द्विविधा उत्पन्न हुन्छ ।

उल्लङ्घन दाबी गरिएको अवस्थामा नियामकले मुद्दा परेको कम्पनीलाई प्रतिबन्ध नै लगाउन सक्छ । माइक्रोसफ्टले सन् २००३ मा एक्सको ट्रेडमार्क लिएको थियो ।

कम्पनीले आफ्नो एक्सबक्स भिडिओ गेम सिस्टमका लागि सञ्चारसँग सम्बन्धित ट्रेडमार्क दर्ता गरेको थियो । यता मेटाले सन् २०१९ मा निलो र सेतो अक्षरको एक्सको ट्रेडमार्क दर्ता गरेको थियो ।

मेटाले उक्त ट्रेडमार्क सामाजिक सञ्जाल र सफ्टवेयरका लागि दर्ता गराएको थियो । गार्बेन भन्छन्, “मेटा र माइक्रोसफ्टले त्यतिबेलासम्म ट्वीटरमाथि मुद्दा हाल्ने छैनन् जतिबेलासम्म ‘एक्स’ उनीहरूलाई खतरा लाग्दैन वा उनीहरूको ब्रान्डलाई असर गर्दैन । 

यसो त मेटा आफैंले पनि कम्पनीको नाम फेसबुकबाट मेटा राख्दा कानूनी समस्याको सामना गरेको थियो । उक्त कम्पनीमाथि गत वर्ष लगानीकर्ता कम्पनी मेटा क्यापिटल र भर्चुअल रियालिटी कम्पनी मेटा एक्सले ट्रेडमार्क मुद्दा दर्ता गरेका थिए । त्यसबाहेक पनि मेटाले आफ्नो जस्तै लोगाे बनाएको भन्दै इनफिनिटी लोगोमाथि पनि केही कम्पनीले मुद्दा हालेका थिए ।

पछिल्लो अध्यावधिक: साउन ९, २०८० १४:५९