close

स्पेसएक्सको आईपीओसँगै एलन मस्क बने विश्वकै पहिलो ट्रिलियनेयर

टेकपाना टेकपाना

जेठ २९, २०८३ ८:५४

स्पेसएक्सको आईपीओसँगै एलन मस्क बने विश्वकै पहिलो ट्रिलियनेयर

काठमाडौँ । अन्तरिक्ष कम्पनी स्पेसएक्सको ऐतिहासिक आईपीओसँगै एलन मस्क विश्वकै पहिलो ट्रिलियनेयर (१० खर्ब डलरको सम्पत्ति भएका व्यक्ति) बनेका छन् । शुक्रबार शेयर कारोबार सुरु भएसँगै टेस्ला र अन्य कम्पनीसहित उनको कूल सम्पत्ति १.१ ट्रिलियन डलर (११ खर्ब डलर) नाघ्ने अनुमान गरिएको हो ।

स्पेसएक्सले प्रति शेयर १३५ डलर मूल्य तोकेर इतिहासकै सबैभन्दा ठुलो ७५ अर्ब डलरको आईपीओ जारी गरेको छ । जसले कम्पनीको कूल मूल्याङ्कन करिब १.७७ ट्रिलियन (१७ खर्ब ७० अर्ब) डलर पुर्‍याएको छ । वासिङ्टन पोस्टका अनुसार यो कम्पनीले ठुला स्थापित प्रविधि कम्पनीहरूको तुलनामा निकै कम आम्दानी गर्ने र अत्यधिक नगद खर्च गरिरहेको भए तापनि मङ्गल ग्रहमा मानव पठाउने र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) जस्ता महत्त्वाकाङ्क्षी लक्ष्यहरूका कारण लगानीकर्ताहरू उत्साहित छन् ।

मस्कको सम्पत्तिको मुख्य हिस्सा अब स्पेसएक्समै रहेको छ । जहाँ उनको करिब ८६६ बिलियन (अर्ब) डलर बराबरको हिस्सेदारी छ । फोर्ब्सका अनुसार शेयर बिक्रीअघि मस्कको सम्पत्ति करिब ७८० अर्ब डलर थियो । फोर्ब्स वेल्थका डेपुटी सम्पादक म्याट डुरोटका अनुसार दोस्रो धनी व्यक्ति (अल्फाबेटका सह-संस्थापक ल्यारी पेज) को सम्पत्ति करिब ३०० अर्ब डलरको हाराहारीमा छ ।

ओराकलका संस्थापक ल्यारी एलिसन मात्र ४०० अर्ब डलरसम्म पुगेका अर्का व्यक्ति हुन् । यसको मतलब मस्कको सम्पत्ति उनका निकटतम प्रतिस्पर्धीहरूको भन्दा करिब तीन गुणा बढी हुन सक्नेछ ।

'एलन प्रिमियम' र मस्कको व्यापारिक साम्राज्य

विज्ञहरू मस्कको वरिपरि रहेको व्यापारिक सञ्जाललाई 'मस्कोनोमी' (Muskonomy) भन्ने गरेका छन् । रेनेसान्स क्यापिटलका म्याट केनेडीका अनुसार, परम्परागत वित्तीय मूल्याङ्कनको सिद्धान्तभन्दा बाहिर गएर लगानीकर्ताहरूले मस्कको भिजनमाथि गरेको अगाध विश्वासलाई बजारमा 'एलन प्रिमियम' भन्ने गरिन्छ ।

जेपी मोर्गन चेसका सीईओ जेमी डिमन, जो पहिले मस्कका आलोचक थिए, उनले त मस्कलाई 'हाम्रो समयका एडिसन' र 'हाम्रा आइन्स्टाइन' भनेर प्रशंसा गरेका छन् ।

५४ वर्षीय मस्कले सन् २००८ मा टेस्लाको सीईओको जिम्मेवारी सम्हालेपछि कम्पनीलाई विश्वकै सबैभन्दा मूल्यवान् अटो निर्माता बनाए । यसबाहेक उनले सन् २०२२ मा ४४ अर्ब डलरमा सामाजिक सञ्जाल ट्वीटर (हाल एक्स) किनेका थिए । जसले उनलाई राजनीति, अध्यागमन र वाक स्वतन्त्रता जस्ता विषयमा प्रत्यक्ष बोल्ने मञ्च दियो । साथै, उनले द बोरिङ कम्पनी र न्युरालिंक जस्ता अन्य पाँचवटा कम्पनीहरू पनि सह-स्थापना गरेका छन् ।

विवाद र राजनीतिक संलग्नता

उनको अभूतपूर्व सफलता सँगसँगै थुप्रै विवादहरू पनि जोडिएका छन् । कर्पोरेट सुशासन र टेस्लाको ५६ अर्ब डलरको विवादास्पद तलब प्याकेजलाई लिएर शेयरधनीहरूले बारम्बार चिन्ता व्यक्त गर्ने गरेका छन् ।

त्यसैगरी, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई ह्वाइट हाउसमा फर्काउन आर्थिक सहयोग गरेका मस्कले डिपार्टमेन्ट अफ गभर्नमेन्ट एफिसियन्सी (DOGE) मा सल्लाहकारको भूमिका निभाए । यद्यपि, नीति र खर्चको विषयमा ट्रम्पसँगको मतभेदले सार्वजनिक रूपमै विवाद निम्त्यायो ।

यसले मस्कको व्यापार र राजनीतिक महत्त्वाकाङ्क्षाबिचको धमिलो रेखालाई प्रस्ट पारेको छ । यी राजनीतिक कदमहरूले सन् २०२५ मा टेस्लाका गाडीहरू विरुद्ध उपभोक्ताहरूको बहिष्कार निम्त्याउँदा अन्तर्राष्ट्रिय बजारमा टेस्लाको बिक्रीमा समेत असर परेको थियो ।

अत्यधिक सम्पत्ति र असमानतालाई लिएर सार्वजनिक आलोचना भए पनि, मस्कले आफ्नो 'नो-फिल्टर' शैली र असम्भव जस्ता लाग्ने प्रविधिहरूलाई सफल बनाउने ट्र्याक रेकर्डका कारण विश्वभर ठुलो र बफादार समर्थक समूह बनाएका छन् । यही विश्वासले उनलाई आज कागजमै भए पनि विश्वकै पहिलो ट्रिलियनेयरको ऐतिहासिक ताज पहिराएको छ ।

पछिल्लो अध्यावधिक: जेठ २९, २०८३ ९:८