close

भिडिओ एडिटिङ, गेमिङ तथा प्रोग्रामिङका लागि उपयुक्त एसुसको ल्यापटप

टेकपाना टेकपाना

भदौ ३१, २०८० १७:५

भिडिओ एडिटिङ, गेमिङ तथा प्रोग्रामिङका लागि उपयुक्त एसुसको ल्यापटप

काठमाडौं । एसुसले विभिन्न प्रकारका ल्यापटपहरू बजारमा ल्याएको छ । जसमध्ये गेमिङ ल्यापटप पनि एक हो । 

हुन त क्षमतावान प्रोसेसर भएकालाई प्राय: गेमिङ ल्यापटप भन्ने गरिन्छ । यस्तै क्षमतावान प्रोसेसर भएको एसुसको गेमिङ ल्यापटप हो,  एसुस रग स्ट्रिक्स जी १८ (Asus Rog Strix G18) ।

नेपालमा यसै वर्ष आएको यो ल्यापटपमा एनभिडियाको नयाँ प्रोसेसरका साथै अन्य आकर्षक फिचरहरू रहेका छन् । आज हामी यही ल्यापटपको बारेमा चर्चा गर्दै छौं:

कस्तो छ 'एसुस रग स्ट्रिक्स जी १८' ल्यापटप ?

यो आईनाइन तथा १३ औं पुस्ताको प्रोसेसर भएको ल्यापटप हो । जसमा २४ ओटा कोर र ३२ ओटा थ्रेड्स छन् । यसको प्रोसेसरलाई ५.६ गिजाहर्जसम्म बढाउन सकिन्छ । 

ल्यापटपमा एनभिडियाको आरटीएक्स  ४०७० ८ जीबी ग्राफिक्स, एक टीबी एसएसडी र १६ जीबी डीडीआर फाइभ र्‍याम छ । यसमा १६५ हर्ज रिफ्रेश रेट भएको १८ इन्चको ठूलो डिस्प्ले पाउन सकिन्छ । 

झट्ट हेर्दा यसमा गेमिङ ल्यापटपको अनुभव हुन्छ । किबोर्ड बाहेक प्लास्टिक बडीमा पनि रग भनेर ब्रान्डिङ गरिएको छ । यसको अर्थ रिपब्लिक अफ गेम्स (republic of Games) अर्थात् गेमको गणतन्त्र भन्ने हो । 

ल्यापटपको तल्लो भागमा पुरै आरजीबी लाइट (RGB light) छ । सँगसँगै किबोर्डमा पनि आरजीबी दिइएको छ । यसले गर्दा टेबलमा ल्यापटप राख्दा छुट्टै अनुभुति हुन्छ ।

ल्यापटपमा पाँच ओटा हटकी (Hotkey) दिइएका छन् । जसलाई आफ्नो अनुसार कस्टमाइज गर्न सकिन्छ । यसको लागि एसुस आर्मर एप (Armar App) उपलब्ध गराइएको छ । 

यो एपमा अन्य सुविधाहरू पनि छन् । आरजीबी कस्टमाइजेसन पनि त्यसैबाट गर्न सकिन्छ । ल्यापटपमा कति र्‍याम, सीपीयू र ग्राफिक्स प्रयोग भएको छ ? ल्यापटप कति तात्यो ? सबै यही एपबाट हेर्न मिल्छ । 

यसमा भएको ट्राइ-फ्यान कुलिङ (Tri-Fan Cooling) प्रविधिले सीपीयू वा जीपीयू तातेपछि ल्यापटपको पर्फमेन्स घट्न दिँदैन । ल्यापटपमा कुलिङका लागि तीन ओटा फ्यान छन् । सामान्यत:  ल्यापटपमा दुई ओटा मात्र फ्यान दिइएका हुन्छन् । त्यस्तो अवस्थामा ल्यापटपमा बढी क्षमताका गेम खेल्दा वा सफ्टवेयर चलाउँदा चाँडो तात्ने गर्छ । ल्यापटपको सीपीयू वा जीपीयू जति धेरै तात्छ, त्यति नै त्यसको पर्फर्मेन्स कम हुँदै जान्छ। यो कुरालाई मध्यनजर गर्दै एसुसले यो ल्यापटपमा तीन ओटा फ्यानसँगै भेन्टिलेसन पनि प्रसस्तै मात्रामा राखेको छ ।

 

कोडिङका लागि उपयुक्त हुने किसिमले ल्यापटपको स्क्रिन पनि ठूलो दिइएको छ । टाइपिङ गर्न किबोर्ड सहज छ । 

किहरू बीच खाली ठाउँ चाहिँदो मात्रामा छ । टचप्याड ठूलो हुनुका साथै हात राख्न पनि पर्याप्त ठाउँ दिइएको छ । ब्याक प्यानल खोल्दा ल्यापटप अफ गर्न बिर्से स्वत: आफैं अफ गरिदिने सेन्सर पनि यसमा राखिएको छ । यसले हामीलाई करेन्ट लाग्न वा क्षति हुनबाट बचाउँछ । त्यस्तै चार्ज गर्न ल्यापटपसँगै २८० वाटको एडप्टर पाउन सकिन्छ । यसमा ब्याट्री भने ९० वाट क्षमताको दिइएको छ । तर गेम खेल्ने क्रममा भने चार्जरमा लगाउनै पर्ने हुन्छ । जुन अलि समस्याकै कुरा हो ।

प्रदर्शन

यो ल्यापटपबाट हाई ग्राफिक्स सेटिङमा पब्जी खेल्दा बढीमा १६० र घटिमा ९० को रेञ्जमा एफपीएस पाउन सकिन्छ । अपेक्स लेजेन्ड खेल खेल्दा भने १६५ एफपीएस पाइन्छ । त्यस्तै स्याडो अफ टोम्ब राइडर र मेट्रो एक्सोडस खेल्दा औसत १०० को एफपीएस पाउन सकिन्छ । यस अर्थ यो ल्यापटपले गेममा राम्रै अनुभव दिन विश्वास गर्न सकिन्छ । तर उत्कृष्ट नै हुन्छ भन्न सकिंदैन । 

पर्फर्मेन्स राम्रो भएकाले ल्यापटपमा गेम मात्र खेल्ने कुरा भएन । त्यस माथि यसमा एसआरजीबी (sRGB) १०० प्रतिशत नै भएकाले कलर करेक्सन राम्रो हुन्छ । त्यसैले यो ल्यापटपबाट मजाले भिडिओ एडिटिङ गर्न पनि सकिन्छ । 

यो ल्यापटपमा प्रिमियर प्रोबाट पाँच मिनेट लामो फोरके भिडियोलाई एक्सपोर्ट गर्दा करिब ३ मिनेट लाग्छ । त्यही भिडिओ डाभिन्सी रिसल्भबाट एक्पोर्ट गर्दा भने एक मिनेट मात्र लाग्छ । 

तर गेम खेल्दा होस् वा बढी क्षमताका सफ्टवेयरहरू चलाउँदा राम्रो प्रदर्शन पाउन भने टर्बो मोड अन गर्नु पर्छ । तर यो मोड अन गर्दा ल्यापटपले ठूलो आवाज निकाल्छ । जसले लामो समय यो मोडमा काम गर्दा केही समस्या भने आउन सक्छ ।

पोर्ट

ल्यापटपको दायाँ र बायाँ भागमा मात्र पोर्ट रहेका छन् । पछाडि भागमा भेन्टिलेसन मात्र देखिन्छन् । दायाँ भागमा दुई ओटा यूएसबी ए पोर्ट र बायाँ भागमा पावर पोर्ट, इथरनेट पोर्ट, एचडीएमआई पोर्ट, अडियो ज्याक, थन्डरबोल्ट पोर्ट र टाइप सी पोर्ट दिइएको छ । 

कसका लागि उपयुक्त?

गेम वा उच्च क्षमताको सफ्टवेयर नचलाउनेका लागि यो ल्यापटप खासै उपयुक्त विकल्प होइन । तर जसलाई गेममा रुची छ, उसको लागि भने यो उत्कृष्ट विकल्प बन्नसक्छ । 

त्यसका साथै प्रोग्रामिङ, डिजाइनिङ, वेभ डेभलपिङ जस्ता काम गर्नु छ भने पनि यो ल्यापटप एउटा विकल्प हुन सक्छ । यस अर्थमा गेमर, कन्टेन्ट क्रियटर, प्रोग्रामर वा वेब डेभलपरलाई यो ल्यापटप उपयुक्त रोजाइ हुन सक्छ ।

मूल्य

नेपालमा नियोस्टोरले तीन लाख १६ हजार रुपैँयामा यो ल्यापटप बिक्री गरिरहेको छ । ल्यापटप किन्दा झोला र माउस सित्तैमा पाइन्छ । विश्व बजारमा भने यसका ‘टप भेरियन्ट’ पनि उपलब्ध छन् । भविष्यमा नेपाली बजारमा ती आउने अपेक्षा गरिएको छ । 


 

पछिल्लो अध्यावधिक: भदौ ३१, २०८० १७:५