काठमाडौं । आधार कार्डबाहक साढे ८१ करोडभन्दा बढी भारतीयहरूको व्यक्तिगत जानकारी अनलाइनमा लिक भएको छ । समाचार संस्था न्युज एट्टिनका अनुसार भारतको इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर) बाट उक्त डेटा लिक भएको हो ।
भारतको अहिलेसम्मकै सबैभन्दा ठूलो डेटा चुहावट मानिएको यस घटनालाई सुरुमा अमेरिकी साइबर सुरक्षा तथा इन्टेलिजेन्स एजेन्सी रिसेक्युरिटीले पत्ता लगाएको थियो । रिसेक्युरिटीका अनुसार 'pwn001' नाम प्रयोग गरेर ह्याकरले ब्रिच फोरमहरूमा डेटाको थ्रेड पोस्ट गरेका छन् ।
चुहावट भएको डेटामा आधार कार्ड तथा राहदानी विवरण, नाम, फोन नम्बर, र ठेगानाहरू जस्ता व्यक्तिगत जानकारी रहेका छन् । ह्याकरले यी जानकारी आईसीएमआरमा दर्ता भएका नागरिकहरूको कोभिड-१९ परीक्षण रेकर्डबाट निकालेकाे बताइएकाे छ ।
यद्यपि डेटा चुहावटबारे आईसीएमआर वा भारत सरकारबाट आधिकारिक प्रतिक्रिया आइसकेको छैन । तर औपचारिक उजुरी प्राप्त भएपछि केन्द्रीय अनुसन्धान ब्यूरो (सीबीआई) ले यस विषयमा अनुसन्धान सुरु गर्ने बताएको छ ।