नेपाल टेलिकमले भन्योः हाम्रो एसएमएस सेवाको दुरुपयोग गर्दै अनलाइन ठगी भइरहेको छ, सचेत रहनु
असार १, २०८३ ८:२५
काठमाडौँ । नेपाल टेलिकमले आफ्नो एसएमएस सेवाको दुरुपयोग गर्दै भ्रामक एसएमएसहरू पठाएर अनलाइन ठगी भइरहेको भन्दै गम्भीर ध्यानाकर्षण जनाएको छ । आइतबार एक ईमेलमार्फत कम्पनीले कनेक्ट आईपीएस लगायत विभिन्न बैंक तथा डिजिटल भुक्तानी सेवा प्रदायकहरूको नाम दुरुपयोग गरी यस्तो ठगी भइरहेको भन्दै सम्पूर्ण ग्राहकहरूलाई सचेत गराएको हो ।
पछिल्लो समय प्रयोगकर्ताको मोबाइलमा आउने यस्ता भ्रामक एसएमएसहरूमा उनीहरूको खाता निलम्बन भएको, अस्थायी रूपमा बन्द भएको वा अन्य प्राविधिक समस्या देखिएको जस्ता ब्यहोरा उल्लेख गरिएको हुन्छ । यस्ता सन्देशहरूको मुख्य उद्देश्य नै ग्राहकहरूलाई झुक्याएर शङ्कास्पद वेबसाइट वा लिंकमा प्रवेश गर्न प्रेरित गर्नु रहेको टेलिकमले जनाएको छ ।
यस प्रकारका अनलाइन ठगीबाट बच्न टेलिकमले ग्राहकहरूलाई यस्ता एसएमएस, फोन कल तथा शङ्कास्पद लिंकप्रति अत्यन्तै सचेत रहन विशेष अनुरोध गरेको हो । कुनै पनि लिंकमा क्लिक गर्नु अगाडि सम्बन्धित संस्थाको आधिकारिक वेबसाइट वा मोबाइल एपमार्फत जानकारी प्रमाणित गर्न र आफ्ना गोप्य विवरणहरू सुरक्षित राख्न कम्पनीले आग्रह गरेको छ ।
आफ्नो ओटीपी (OTP), पासवर्ड, पिन (PIN), सीभीभी (CVV) लगायतका कुनै पनि गोप्य विवरण कसैसँग पनि शेयर नगर्न टेलिकमले सचेत गराएको छ । यसका साथै, बैंकिङ तथा डिजिटल भुक्तानी सम्बन्धी कुनै पनि जानकारीका लागि सम्बन्धित संस्थाको आधिकारिक माध्यम मात्र प्रयोग गर्न सुझाइएको छ । यदि कुनै शङ्कास्पद एसएमएस, फोन कल वा लिंक प्राप्त भएमा त्यसको जानकारी सम्बन्धित संस्थालाई तत्काल गराउन समेत टेलिकमले अनुरोध गरेको छ ।
ग्राहकहरूको सुरक्षा नै कम्पनीको प्रमुख प्राथमिकता रहेको कुरालाई जोड दिँदै टेलिकमले सम्पूर्ण प्रयोगकर्ताहरूलाई यस्ता भ्रामक र ठगीपूर्ण गतिविधिबाट सदैव सुरक्षित रहन अपिल गरेको छ ।
पछिल्लो अध्यावधिक: असार १, २०८३ ८:२५
