close

गुगलको नयाँ एआई सर्चले देखाउन थाल्यो मालवेयर र स्क्याम साइट

टेकपाना टेकपाना

चैत १६, २०८० १०:३५

गुगलको नयाँ एआई सर्चले देखाउन थाल्यो मालवेयर र स्क्याम साइट

काठमाडौं । एआईद्वारा सञ्चालित गुगलको ‘सर्च जेनेरेटिभ एक्सपिरियन्स’ एल्गोरिदमले प्रयोगकर्तालाई स्क्याम साइटमा पुर्‍याउन थालेको छ । विशेषगरी कुनै पनि विषयको जानकारी दिने क्रममा स्रोत उल्लेख गर्दा उक्त एल्गोरिदमले स्क्याम साइटमा पुर्‍याउन थालेको हो । 

ब्लिपिङ कम्प्युटर नामक सञ्चारमाध्यमका अनुसार यस्तोमा नक्कली आईफोन गिभअवे, टेक सपोर्ट स्क्याम (प्रविधिमा सहायता दिने भन्दै गरिने ठगी), अनावश्यक क्रोम एक्सटेन्सनमा पुर्‍याउने र  अनावश्यक सब्स्क्रिप्सन खरिद गराउने साइटमा पुर्‍याउन थालेको हो । 

यो महिनाको सुरुवातदेखि गुगलले सर्च जेनेरेटिभ एक्सपिरियन्स (एसजीई)  फिचर उपलब्ध गराउन थालेको छ । यो फिचरले विशेषगरी एआईको सहायताले प्रयोगकर्ताले सोधेका प्रश्नको उत्तर दिन्छ । र, सोही अनुसारका अन्य कन्टेन्ट हेर्नका लागि नयाँ साइटहरू सुझाव दिन्छ । त्यही क्रममा उक्त एग्लोरिदमले प्रयोगकर्तालाई स्क्याम साइटमा पुर्‍याउन थालेको बताइएको छ । 

एसईओ विश्लेषक लिलि रेले पहिलो पटक गुगल सर्च इन्जिनले प्रयोगकर्तालाई स्क्याम साइटमा पुर्‍याउन थालेको पत्ता लगाएका थिए । त्यस क्रममा गुगलमा कुनै पनि जवाफ राखेर सर्च जेनेरेटिभ एक्सपिरियन्स प्रयोग गर्दा त्यसले प्रयोगकर्तालाई असान्दर्भिक साइटमा पुर्‍याउने, स्क्याम साइटमा रिडाइरेक्ट गर्ने साइटतर्फ डोर्‍याउने गरेको पाइएको हो । 

त्यसरी रिडाइरेक्ट भएका वेबसाइटले नोटिफिकेसन अन गर्न लगाउँछन् । नोटिफिकेसन अन गरियो बने त्यस्तै किसिमका मालवेयर र स्क्याम साइटको नोटिफिकेसन आउने ब्लिपिङ कम्प्युटरले उल्लेख गरेको छ । 

कतिपय अवस्थामा त्यस्ता लिङ्कले डिभाइसमा भाइरस छ भनेर झुक्काई खतरनाक लिङ्कमा समेत पुर्‍याउने गरेको बताइएको छ । यसरी एफिलियट मार्केटिङ गर्नेहरूले गुगलको यस कमजोरीको फाइदा उठाइरहेका छन् । त्यसबाहेक कतिपय अवस्थामा एसजीईले नक्कली अमेजनको साइटमा पुर्‍याएर आईफोन गिभअवेमा रहेको भन्दै झुक्याएको ब्लिपिङ कम्प्युटरले जनाएको छ । 

यसरी कम गुणस्तरका नक्कली साइटले गुगलको एआईलाई कसरी झुक्याइरहेका छन् भन्ने स्पष्ट छैन । यद्यपि एआईले खोजिदिएका सबै जानकारी सही हुँदैनन् भन्ने कुरा चाहिं यो घटनाले पुष्टि गरेको छ । तसर्थ कुनै पनि जानकारी खोज्दा त्यसलाई प्रमाणित गर्न विज्ञहरूले सुझाव दिएका छन् ।

ब्लिपिङ कम्युटरसँगको कुराकानीमा गुगलका प्रतिनिधिले स्प्यामबाट प्रयोगकर्तालाई जोगाउन कम्पनीले दिनानुदिन सिस्टम अपडेट गर्ने गरेको बताएका छन् । यद्यपि स्क्यामरले सर्वसाधारणलाई झुक्याउन नयाँ नयाँ तरिका अपनाउने गरेको कम्पनीको भनाइ छ ।

पछिल्लो अध्यावधिक: चैत १६, २०८० १०:४१