सार्वजनिक सेवाको जानकारी दिने ‘प्रशासन प्रो’ नामक वेब एप्लिकेसन सार्वजनिक
असार २, २०८३ ११:५५
काठमाडौं । नेपालमा सार्वजनिक सेवा प्राप्तिको प्रक्रियालाई सहज, पारदर्शी र प्रविधिमैत्री बनाउने उद्देश्यका साथ ‘प्रशासन प्रो’ नामक वेब एप्लिकेसन सार्वजनिक भएको छ । अमेरिकी दूतावास युवा परिषद् (यूएसवाईसी) २०२५ का सदस्यहरूले शुक्रबार एक कार्यक्रमका बिच यो पोर्टल आधिकारिक रूपमा सार्वजनिक गरेका हुन् ।
अमेरिकी दूतावासको ‘डिजिटल डिप्लोमेसी, एआई र इनोभेसन’ अभियान अन्तर्गत विकास गरिएको यस प्लेटफर्मले नागरिक र सरकारी सेवाबिचको सूचनाको खाडललाई कम गर्ने लक्ष्य राखेको छ । युथ इनोभेसन ल्याबको प्राविधिक साझेदारीमा तयार भएको यो पोर्टल कम गतिको इन्टरनेटमा पनि सहजै चलाउन सकिने दाबी गरिएको छ ।
प्रशासन प्रो वेब पोर्टलमा नागरिकले दैनिक जीवनमा आवश्यक पर्ने प्रमुख सरकारी सेवाहरू प्राप्त गर्ने प्रक्रियाका बारेमा जानकारी पाउनेछन् । यो वेब एप्लिकेसनमा नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचय पत्र र पासपोर्ट बनाउनका लागि कहाँ कहाँ जानुपर्छ, कति समय लाग्छ, कस्ता कस्ता कागजात आवश्यक पर्छन् भन्ने लगायतका विवरणहरू राखिएका छन् ।
यसमा प्यान कार्ड, सवारी दर्ता, मतदाता परिचय पत्र, पुलिस क्लियरेन्स सर्टिफिकेट लगायत बनाउन आवश्यक पर्ने प्रक्रिया, समय र कागजातको विवरण सहितका जानकारी समेत छिट्टै उपलब्ध गराउने यूएसवाईसीले जनाएको छ । प्रारम्भिक चरणमा यो पोर्टल बागमती र गण्डकी प्रदेशका लागि उपयोगी हुनेगरी तयार पारिएको छ । यसलाई क्रमश: सातै प्रदेशमा उपयोगी हुनेगरी विस्तार गर्ने योजना रहेको छ ।
यो एपमा प्रयोगकर्ताले अङ्ग्रेजी वा नेपाली दुवै भाषामा बोलेर वा टाइप गरेर आफ्ना प्रशासनिक जिज्ञासाहरू सोध्न सक्ने समेत बनाइने उल्लेख छ । जुन महिनाको अन्त्यतिर प्रशासन प्रो नामको माेबाइल एप पनि सार्वजनिक गर्ने तयारी भइरहेको यूएसवाईसीले जनाएको छ ।
पछिल्लो अध्यावधिक: असार २, २०८३ ११:५७
