काठमाडौं । धेरैलाई लाग्न सक्छ, विज्ञापन देखाएर युट्युबले अरू प्लेटफर्मभन्दा धेरै आम्दानी गर्छ । तर विज्ञापनबाट युट्युबले भन्दा मेटाको इन्स्टाग्रामले बढी पैसा कमाउने गरेको पाइएको छ ।
गत शुक्रवार मेटाले अमेरिकी फेडेरल ट्रेड कमिसन (एफटीसी) ले लगाएको एकाधिकार दाबी खारेज गर्न मुद्दा दायर गरेकाे छ । सो क्रममा मेटाले पेश गरेको कागजपत्रमा यस्तो देखिएको हो ।
सो कागजपत्रमा २०२१ मा मात्रै इन्स्टाग्रामले विज्ञापनबाट ३२.४ अर्ब डलर आम्दानी गरेको उल्लेख छ । जुन मेटाको कुल आम्दानीको २७ प्रतिशत हो । तर, सोही वर्ष युट्युबले २८.८ अर्ब डलर मात्र आम्दानी गरेको थियो । त्यसमाथि युट्युबले भिडिओको क्रियटरलाई ५५ प्रतिशतसम्म विज्ञापनको पैसा दिने गर्छ ।
हुन त इन्स्टाग्रामले पनि क्रियटलाई पैसा दिने गरेता पनि त्यो निकै कम छ । त्यसो हुँदा विज्ञापनबाट आएका पैसा पनि युट्युबको तुलनामा इन्स्टाग्रामले नै बढी राख्ने भयो ।
त्यस्तै २०२० र २०१९ मा इन्स्टाग्रामले विज्ञापनबाट क्रमश: २२ र १७.९ अर्ब डलर आय गरेको थियो । यता युट्युबको भने ती वर्षहरूमा आम्दानी क्रमश: १९.७ र १५.१ अर्ब डलर थियो । यसले यी दुई प्लेटफर्ममा विज्ञापन हुने अन्तर कति छ भनेर प्रष्ट पारेको छ ।
ब्लुम्बर्गका अनुसार २०२२ को पहिलो छ महिनामा इन्स्टाग्रामको आम्दानी अझै वृद्धि भएको छ, र यो क्रमश: बढ्दै गएको छ । यी डेटा हालैको नभएपनि अहिले अवस्था करिब उस्तै रहेको अनुमान गर्न सकिन्छ । यस्तोमा आफूमाथि लागेको आरोप हटाउन मेटा अदालत पुगेको छ ।