close

एआईको जमानामा ग्राफिक्स डिजाइनर र चित्रकारको भविष्य के होला ?

सञ्जीवन राई सञ्जीवन राई

चैत ३०, २०८० १६:५१

एआईको जमानामा ग्राफिक्स डिजाइनर र चित्रकारको भविष्य के होला ?

काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) टुलले हरेक क्षेत्रमा क्रान्तिकारी परिवर्तन ल्याइरहेको छ । जसमध्ये ग्राफिक्स डिजाइनिङ एक हो ।

अहिले जेनेरेटिभ एआई टुलमा प्रम्प्ट (केही शब्द लेखेर दिइने निर्देशन)का आधारमै लेख, रचना, तस्वीर र भिडिओ तयार पार्न सकिन्छ । सोहीकारण ग्राफिक्स डिजाइनरहरूलाई कतै एआई टुलले चुनौती दिने वा विस्थापित नै गर्ने पो हो कि भन्ने चिन्ता हुन थालेको छ ।

कतिपय कम्पनीले एआई टुलले तयार पारेका डिजाइन औपचारिक रूपमा नै प्रयोग गर्न थालेका छन् । नेपालमै पनि कुनै शुभकामना दिन अथवा उत्पादन तथा सेवाको प्रचार गर्न एआईको सहयोगमा बनाइएका ग्राफिक्स प्रयोग भइरहेका छन् ।

अझ त्यसमाथि ग्राफिक्स डिजाइनमा प्रयोग हुने सफ्टवेयरमा समेत एआई एकीकृत हुन थालेको छ । यस्तोमा आगामी दिनमा ग्राफिक्स डिजाइनरलाई यसले के-कस्ता असर पार्छ भनेर पनि बहस छेडिनु स्वाभाविक हो ।

एआई टुलका काम डिजाइनरको डिजाइनमा

केही समयअघि ग्राफिक्स डिजाइनर किशोर ज्योतीले फेसबुकमा एउटा किताबको गाताको डिजाइन शेयर गरेका थिए । जुन हेर्दा राम्रो देखिन्थ्यो । तर उक्त डिजाइन उनले एआई टुलको सहयोगमा बनाएका थिए ।

उक्त डिजाइनमा भएको बाख्रा र कुकुरको तस्वीर एआईले बनाएको हो । डिजाइनका अन्य भाग भने उनले हातैले थपेका हुन् । “पुस्तकको कभरमा भएको कुकुरको तस्वीर एआईबाट बनाएको हुँ । त्यो फोटो थुप्रै प्रयासपछि मात्र पाएको थिएँ । तर पछि थप काम गरेर अन्तिम रूप भने दिएको थिएँ,” उनी भन्छन् ।

किशोर ज्योतीका लागि उनले आफ्नो डिजाइनमा एआई टुल प्रयोग गर्नु कुनै नौलो विषय भने होइन । किनकी उनी एआई टुललाई चुनौती नभएर अवसरका रूपमा लिन्छन् ।

हाम्रो पात्रोका मुख्य ग्राफिक्स डिजाइनर आनन्दकुमार महर्जन एआई टुलमा अवसर र चुनौती दुवै देख्छन् । उनी पनि आफूले कहिलेकाहीँ एआई टुल प्रयोग गर्ने सुनाउँदै तिनलाई प्रयोग गर्ने सन्दर्भले सो विषय निर्धारण गर्ने बताउँछन् ।

उनले अहिले तस्वीर र शब्द सिर्जना गर्ने एआई टुल प्रयोग गरिरहेका छन् । “आफूलाई चाहिएको चित्र फेला पार्न होस्, अथवा लिखित सामग्री (कपि राइटिङ) का लागि बेलाबेला एआई टुल प्रयोग गर्छु,” उनी भन्छन्, “तर यी टुल प्रयोग गर्न गाह्रो छ । कहिलेकाहीँ दिनभर काम गर्दा समेत भनेजस्तो नतिजा आउँदैन । आफूले चाहेजस्तो नतिजा निकाल्न प्रयास गरिरहनु पर्छ ।”

यो सन्दर्भमा ग्राफिक्स डिजाइनर तथा चित्रकार विनोद प्रधानको बुझाइ अलि फरक छ । एआई टुलको चर्चा हुन थालेसँगै उनले पनि यसबारे चासाे देखाएका छन् । चित्रकार हावी भएर हुन सक्छ, उनलाई एआईले तयार पारेको फोटो कत्ति पनि चित्तबुझ्दो लागेन । त्यसयता एआई टुलमा अपडेट हुने, तर तिनलाई प्रयोग नगर्ने पक्षमा उनी देखिन्छन् । 

आफू भित्रको चित्रकार मनलाई एकातिर राखेर हेर्दा उनी एआई टुल सहयोगी हुने बताउँछन् । डिजाइनर र चित्रकार दुवै मन एकै ठाउँमा राख्दा आफूले कहिल्यै पनि एआईले तयार पार्ने नतिजाबाट चित्त बुझाउन नसक्ने उनको सोच छ ।

विनोद प्रधानकै जस्तो सोच्छन् अर्का ग्राफिक्स डिजाइनर शिशिर ढकाल । काठमाडौंमा रहेर फ्रिल्यान्सरको रूपमा ग्राफिक डिजाइनिङमा व्यस्त उनी डिजाइनरले कसरी काम गर्छ भन्ने कुरामा एआई प्रयोग निर्भर हुने ठान्छन् । यदि डिजाइनर एआई टुल नै हो भन्ने लागे चुनौती हुने, तर डिजाइन विचारमा आधारित हुन्छ भन्नेलाई त्यो सहयोगी हुने ढकाल बताउँछन् ।

उनको विचारमा डिजाइनरले एआईको प्रयोग गरिरहेता पनि यसलाई टुलका रूपमा नहुने बरु एआईलाई टुलको एक्सटेन्सनका रूपमा हेर्नु पर्ने उनको बुझाइ छ । त्यसो नगरिए सिर्जनात्मक डिजाइन तयार नहुने उनी तर्क गर्छन् ।

एआई टुल सबैथोक होइन !

सबै ग्राफिक्स डिजाइनरको मत छ, अहिलेका एआई टुल सहयोगी हुन सक्छन् । पेशालाई नै चुनौती दिने समस्या हुँदैन । यद्यपि डिजाइनको कामका लागि एआई टुलमा पूर्ण निर्भर हुन नहुनेमा करिब उनीहरूको आवाज समान छ ।

एआई टुल मात्र भएर डिजाइनको काम सम्पन्न नहुने हाम्रो पात्रोका महर्जन बताउँछन् । त्यस्ता टुल प्रयोग गर्ने ज्ञान हुनु र त्यसमा सम्पूर्ण स्तरको पहुँच हुनु आवश्यक हुन्छ । तर यस्ता धेरै एआई टुल सःशुल्क हुने भएकाले थोरै डिजाइनरले मात्र प्रयोग गरिरहेको उनको तर्क छ ।

अझ नेपाली डिजाइनरहरूले पैसा तिरेर ती टुल प्रयोग गर्ने प्रचलन नगण्य मात्रामा भएको उनको बुझाइ छ । त्यसमाथि पैसा तिरे पनि ती टुलबाट सोचेजस्तो नतिजा नआउने पाटो समेत रहेको उनी बताउँछन् ।

एआई टुलबारे अलि फरक धारणा राख्ने प्रधान कतिपय एआई सामग्री डिजाइनरले चाहे जस्तो आउँदै नआउने सुनाउँछन् । भिजुअल तयार भएपनि त्यसले डिजाइनका लागि आवश्यक पर्ने सबै मापदण्ड पूरा नगर्ने उनी जिकिर गर्छन् । “एआईको आफ्नै संयन्त्र भएकाले डिजाइनरको कल्पना/सोच भन्दा भिन्न नतिजा आउँछ । त्यसैले यस्ता टुलहरू नचलाउने, तर नजिकबाट नियाल्ने गरिरहेको छु,” उनी भन्छन् ।

त्यस्तै अर्का डिजाइनर ढकाल पनि प्रोसेसिङ, डेलिभरीमा एआई टुल राम्रो भए पनि अन्तिममा मान्छेले हेर्नु पर्ने बताउँछन् । पूर्ण मसिनमा निर्भर हुने काम पनि कतै न कतै मानिसमा भर परेको उदाहरण दिँदै उनी डिजाइनिङमा पनि सोही कुरा लागू हुने धारणा राख्छन् । 

एआईको चुनौती डिजाइनर पेशामा कति ?

डिजाइनरले एआई टुल प्रयोग गर्ने पाटो छँदै छ । सँगै अहिले नेपालका केही ब्रान्डले एआई जेनेरेट ग्राफिक्सलाई व्यावसायिक रुपमै प्रयोग गर्न थालेको देखिन्छ । त्यसको अर्थ कतै न कतै ग्राफिक्स डिजाइनर स्वयं र पेशालाई नै सृजनात्मक र आर्थिक रुपमा असर पारिरहेको छ । किनकी एआई कन्टेन्ट बनाउन नि:शुल्क रुपमा बनाउन सकिन्छ । अनि त्यो काम क्षणभरै तयार हुन्छ । 

ग्राफिक्स डिजाइनरहरू त्यस प्रचलनले अहिले पेशालाई केही असर गरे पनि लामो समयममा कुनै प्रभाव नपार्ने बताउँछन् । ग्राफिक्स डिजाइनर दिपेन्द्र ढकाल बरु ग्राफिक्स डिजाइनरको पेशाको महत्त्व बढाउने बताउँछन् । 

उनका अनुसार ठूला ब्रान्डहरूले एआई जेनेरेट टुललाई आफ्नो व्यावसायिक प्रयोगका लागि प्रयोग गर्दा एक समयमा ग्राफिक्स डिजाइनरलाई प्रभाव पर्न सक्छ । तर त्यो क्षणिक हुन्छ ।

“एआई टुलले ग्राफिक्स डिजाइरसँगै फोटोग्राफरलाई केही समय प्रभाव पार्न सक्छ । किनकी सहज, सरल र नि:शुल्क हुने भएकाले कम्पनीहरूले एआई जेनेरेट ग्राफिक्स प्रयोग गर्न सक्छन्,” ढकाल भन्छन्, “एआई जेनेरेट ग्राफिक्स हेर्दा राम्रो होला । तर सबै मिलेको हुँदैन । अनि डिजाइनर नराखेर कम्पनीको मालिकले आफैं काम आफैं पनि गर्न सक्दैन । त्यसो गरे उसको व्यापार नै चौपट हुन सक्छ । यसले एक समयमा डिजाइरको आवश्यकता महसुस गराउँछ ।” 

विचार निर्माण गर्न एआई टुल

कागज र कलमलाई पहिलो टुलका रूपमा लिने ग्राफिक्स डिजाइनर ढकाल डिजाइन गर्न सुरुमा विचार निर्माण गर्नुपर्ने तर्क गर्छन् । अनि अन्तिममा मात्र विचारलाई मूर्त रूप दिन टुल प्रयोग गर्नु पर्ने उनको बुझाइ छ ।

उनका अनुसार पहिले विचारको स्रोत अरूको डिजाइन हेरेर अथवा आफैं कोर्दै जाँदा हुन्थ्यो भने अहिले एआई बन्दै गइरहेको छ । अर्थात् डिजाइन सम्बन्धी विचार निर्माण गर्न एआई टुल सहयोगी बन्दै छ ।

ढकालको यो विचारमा किशोर ज्योती पनि सहमत छन् । उनी पनि एआई टुलले डिजाइनमा ‘विचार निर्माण’ गर्न सहयोग गर्ने विश्वास राख्छन् । र, कतिपय अवस्थामा एआईले तयार पारेका सामग्रीलाई नै त्यहाँ भएका कमिकमजोरी हटाएर व्यावसायिक प्रयोग गर्न सकिने पनि बताउँछन् । 

त्यसो त एआई टुललाई चित्रकारका लागि खतराका रूपमा पनि हेरिएको छ । तर अब समय सँगसँगै अघि बढ्नु पर्छ । जुन कुरा ग्राफिक्स डिजाइनमा पनि लागू हुन्छ । कम्तीमा ज्योती त्यस्तै सोच्छन् ।

किनकी स्टक इमेजमा भएका फोटो डिजाइनमा प्रयोग गर्न पैसा तिर्नु पर्ने हुन्छ । तर एआईले उस्तै प्रकारको फोटो तयार पारिदिन्छ । जुन डिजाइनरले सोचे जस्तै नभए पनि केही राम्रो हुन्छ । सोहीकारण आफूलाई अपग्रेड गर्दै लैजाँदा एआई टुल लगायत कसैबाट पनि खतरा नहुने उनको भनाइ छ ।

एआई टुलका कमजोरी

प्राय: हरेक ग्राफिक्स डिजाइनरको आफ्नै शैली हुन्छ, जुन एआई टुलबाट व्यवस्थापन गर्न सकिंदैन । यसको फाइदा डिजाइनरले उठाउन सक्ने ग्राफिक्स डिजाइनर तथा चित्रकार प्रधान सुनाउँछन् । डिजाइनरले गर्ने कल्पनाको कुनै सीमा नहुने भएकाले यस किसिमको अवसर मिल्ने उनको बुझाइ छ ।

तर प्रविधि अवसर पनि भएकाले यसको फाइदा लिन डिजाइनरले छाड्न नहुने उनी सुनाउँछन् । यद्यपि यसबाट फाइदा लिने वा नलिने त्यो नितान्त कलाकारमा निर्भर हुने उनकाे मत छ । 

“एआई टुल प्रोग्रामिङमा आधारित हुने भएकाले तिनले एकै खालका नतिजा दिन्छन् । मेरा कामहरूमा आफ्नै शैली देखाउन चाहन्छु, जुन कोहीसँग पनि मेल खाँदैन । यस्तो काम एआईले गर्न सक्दैन,” प्रधान अगाडि भन्छन् ।

त्यस्तै अहिले फोटोका लागि मात्र नभएर ग्राफिक्स डिजाइन सम्बन्धी विभिन्न एआई टुल बनाउने क्रम पनि छ । जस्तो: फन्ट र एनिमेसनका लागि एआई ।

ती टुलबाट सही र सटीक नतिजा पनि आउँछ । तर सबै कामका लागि एआईमा निर्भर हुन नहुने बताउँछन्, हाम्रो पात्रोका ग्राफिक्स डिजाइनर महर्जन । यसको कारण ठूला ब्रान्डले प्रिमियम कन्टेन्ट खोज्नु र सबै ग्राहकले एआईको कन्टेन्ट मन नपराउनु रहेको उनको भनाइ छ ।

“कतिपयलाई एआईले बनाएको डिजाइन मन नपर्न सक्छ, त कतिपयले एआईले बनाएको कन्टेन्ट प्रयोग नगर भन्न सक्छन्,” उनी भन्छन्, “डिजाइन गर्ने काम बजारसँग पनि सम्बन्धित छ । यसकारण एआईबाट तयार पारिएका सामग्री चल्छन् कि डिजाइनरले बनाएको चल्छन् भन्ने कुरा ग्राहकमा सापेक्षित रूपमा निर्भर हुन्छ । तर मलाई लाग्छ, हाम्रा लागि एआई सहयोगी टुलको रूपमै नै रहन्छ ।”

पछिल्लो अध्यावधिक: बैशाख १, २०८१ १०:१