close

तपाईँको भाइबर ग्रुपमा केके कुरा भए ? अब च्याटजीपीटीले छोटकरीमा जानकारी दिने

टेकपाना टेकपाना

बैशाख ४, २०८१ १४:५७

तपाईँको भाइबर ग्रुपमा केके कुरा भए ? अब च्याटजीपीटीले छोटकरीमा जानकारी दिने

 

काठमाडौं । मेसेजिङ एप भाइबरले एआईद्वारा सञ्चालित ग्रुप च्याटको सारांश दिने फिचर ल्याउने भएको छ । ग्रुप च्याटमा नहेरेको (सिन नभएको) मेसेजलाई विश्लेषण गर्दै त्यसमा चर्चा गरिएको विषयको जानकारी छोटकरीमा दिन कम्पनीले यस्तो फिचर ल्याउन लागेको हो । 

यसका लागि भाइबरले च्याटजीपीटी निर्माता ओपनएआईसँग सहकार्य गरेको छ । उक्त टुलले सिन नगरेका १०० ओटासम्म मेसेजलाई विश्लेषण गरी त्यसको जानकारी दिने कम्पनीले ब्लगमा उल्लेख गरेको छ । 

एआई समराइजरले ग्रुपमा छलफल गरिएका विषय र त्यहाँ भएका निर्णयलाई छुट्टाछुट्टै पोइन्टमा देखाउनेछ । त्यस्तै ग्रुपमा भएका महत्त्वपूर्ण छलफललाई पनि सामान्य ढङ्गले देखाउने कम्पनीले जनाएको छ । 

यो फिचर प्रयोग गर्न सबैभन्दा पहिले भाइबरको ग्रुप च्याटमा जानुपर्ने हुन्छ । त्यसपछि तल दायाँपट्टि नपढेका मेसेजको सङ्ख्या र तलपट्टि फर्किएको चिन्ह देखिन्छ । त्यसको ठीक माथि ‘गेट समरी’ (Get Summary) अप्सन राखिएको छ । सो अप्सनमा ट्याप गरेपछि छुटेका मेसेजको विस्तृत जानकारी सहितको नयाँ इन्टरफेस देखिन्छ । 

सुरुवाती चरणमा एआई समराइजर फिचर अमेरिका, फिलिपिन्स, युक्रेन, जापान, बुल्गेरिया र पोल्यान्डमा उपलब्ध हुनेछ । सबैभन्दा पहिले सो फिचरले  विभिन्न देशमा बोलिने प्रमुख ५० भन्दा बढी भाषा सपोर्ट गर्ने बताइएको छ । त्यसपछि उक्त फिचर विस्तारै अन्य क्षेत्रहरूमा समेत उपलब्ध हुनेछ ।

पछिल्लो अध्यावधिक: बैशाख ४, २०८१ १४:५७