काठमाडौं । मेटाले गत वर्ष एउटै फेसबुक अकाउन्टबाट चार ओटासम्म प्रोफाइल बनाउन सकिने फिचर ल्याएको थियो । फरक-फरक नाम राखेर बनाउन सकिने ती प्रोफाइलमा छुट्टै पासवर्ड भने हुँदैन । विभिन्न प्रयोजनका लागि छुट्टाछुट्टै अकाउन्ट बनाउन नपरोस् भनेर मेटाले यस्तो सुविधा ल्याएको हाे ।
किन बनाउने एउटै प्रोफाइल ?
मान्छेका चाहना र रुचिका क्षेत्र फरक-फरक हुन सक्छ । उदाहरणका लागि कुनै एउटै व्यक्तिलाई पत्रकारिता, प्रविधि, साहित्य र वन्यजन्तु संरक्षणमा रुचि हुन सक्छ । अब एउटै प्रोफाइलबाट सबै क्षेत्रका अकाउन्ट, पेज वा ग्रुपमा जोडिंदा उसले चाहेको समय उसले खोजेका क्षेत्रका पोस्ट नआउन सक्छन् । त्यसैले आफूले चाहेको क्षेत्रका व्यक्तिलाई एड गर्न, ग्रुपमा जोडिन छुट्टाछुट्टै अकाउन्ट बनाउन सकिन्छ ।
त्यस्तै कतिपयले व्यावसायिक जीवनका लागि छुट्टै अकाउन्ट बनाएका हुन्छन् भने व्यक्तिगत जीवनका लागि छुट्टै अकाउन्ट बनाएका हुन्छन् । त्यसरी छुट्टै अकाउन्ट बनाउँदा छुट्टै पासवर्ड सम्झिनु पर्ने झन्झट हुन्छ । त्यसलाई सजिलो बनाउन फेसबुकमा उक्त फिचर आएको हाे ।
यस्तोमा तपाईंले आफ्नो एउटा प्रोफाइलबाट कुनै पोस्टमा कमेन्ट वा रियाक्ट गर्नु भएको छ भने त्यही अकाउन्टबाट खोलिएको अर्को पोफाइलबाट इन्टर्याक्ट गर्न पाउनुहुन्न । त्यस्तै तपाईंले कुनै प्रोफाइलबाट नोटिफिकेसन आओस् भन्ने चाहनु भएको हुन्छ भने कतिपयमा नआए पनि हुन्थ्यो भन्ने भएको हुन्छ । त्यसका लागि पनि तपाईंले फरक-फरक प्रोफाइल बनाउन सक्नुहुन्छ ।
तपाईंले मुख्य फेसबुक अकाउन्ट डिलिट गरेपछि अन्य अकाउन्टहरू पनि स्वतः डिलिट हुनेछन् । तर, मुख्य अकाउन्ट डिलिट नगरेर अन्य अकाउन्ट डिलिट गर्छु भन्नु भयो भने त्यसको विकल्प पनि रहेको छ ।
कसरी बनाउने एउटै अकाउन्टबाट अरू प्रोफाइल ?
- सबैभन्दा पहिले फेसबुक एप खोल्नुहोस् ।
- अनि, माथि दायाँपट्टि रहेको प्रोफाइल आइकनसँगै भएको तीन ओटा बारमा ट्याप गर्नुहोस् ।
- अनि आफ्नो नाममा ट्याप गर्नुहोस् ।
-त्यसपछि प्रोफाइल पिक्चरको तलपट्टि ‘एडिट प्रोफाइल’ को छेउमा भएको तीन ओटा डटमा ट्याप गर्नुहोस् ।
- यति भएपछि ‘क्रियट एनोदर प्रोफाइल’ (Create another profile) मा ट्याप गर्नुहोस् ।
- अनि गेट स्टार्टेडको बटनमा ट्याप गर्नुहोस् । र, प्रोफाइलको नाम राख्नुहोस् । प्रोफाइल नाम राखिसकेपछि तलपट्टि देखिएको ‘कन्टिन्यु’ को बटनमा ट्याप गर्नुहोस् ।
- यति भएपछि आफ्नो युजरनेम राख्नुहोस् र पुनः कन्टिन्युको अप्सनमा ट्याप गर्नुहोस् । र, अन्तिममा ‘क्रियट प्रोफाइल’ (Create Profile) को अप्सनमा ट्याप गर्नुहोस् ।
- यसरी तपाईंको प्रोफाइल तयार हुन्छ । उक्त प्रोफाइलमा जानका लागि पुनः फेसबुक एप खोलेर होमपेजमा जानुहोस् ।
-अनि माथि दायाँपट्टि रहेको प्रोफाइल आइकनमा ट्याप गर्नुहोस् । र, तपाईंको नामसँगै दायाँपट्टि देखिएको प्रोफाइलमा क्लिक गर्नुहोस् ।
-यदि तपाईंको प्रोफाइल त्यो होइन भने छेउमा भएको डाउन एरो (⌄) मा ट्याप गरेर आफूले चाहेको प्रोफाइल छान्नुहोस् ।
यसरी तपाईं आफूले चाहेको प्रोफाइल स्वीच गर्न सक्नुहुन्छ ।