काठमाडौं । ट्वीटरका रूपमा परिचित सामाजिक सञ्जाल आधिकारिक रूपमा एक्स बनेको छ । कम्पनीले शुक्रबारदेखि ट्वीटर डटकमलाई समेत विस्थापित गरी एक्स डटकमलाई आधिकारिक बनाएको हो ।
यसअघि सबै ठाउँमा ट्वीटरको नाम हटाएको भएपनि डोमेनमा भने ट्वीटर डटकम नै थियो । प्रयोगकर्ताले एक्स डटकम सर्च गर्दा उक्त डोमेन रिडाइरेक्ट भएर ट्वीटर डटकम ब्राउज हुन्थ्यो ।
अब भने कहीँ पनि ट्वीटर डटकम प्रयोग नहुने कम्पनीका मालिक एलन मक्सले बताएका छन् । उनले शुक्रबार पोस्ट राख्दै ट्वीटरको सबै कोर सिस्टम एक्स बनेको बताएका हुन् ।
अहिले ब्राउजरमा एक्स खोल्दा प्रयोगकर्तालाई ‘एक्स डटकममा स्वागत छ’ भनिएको सन्देश देख्न सकिन्छ । “हामी हाम्रो यूआरएल परिवर्तन गरेको जानकारी दिंदैछौं,” उक्त सन्देशमा भनिएको छ, “तपाईंको गोपनीयता र डेटा प्रोटेक्सन सेटिङ भने त्यही रहनेछ ।’’
मस्कले कम्पनीको नाम परिवर्तन गर्न सुरु गरेको डेढ वर्षभन्दा बढी भइसकेको छ । सबैभन्दा पहिले उनले कम्पनीको नाम ट्वीटर इंकबाट परिवर्तन गरेर एक्स कर्पोरेसन राखेका थिए ।
त्यसपछि पुरानो लोगो र ट्वीटरको नाम नै सबै ठाउँबाट विस्थापित गर्न सुरु गरेका थिए । यद्यपि स्थापित कम्पनीका लागि डोमेन नेम परिवर्तन गर्ने कुरा केही समयमै सम्पन्न नहुने भएकाले मस्कलाई यतिका समय लागेको बताइएको छ ।
मस्क र एक्स डटकमको सम्बन्ध निकै निकट छ । उनले सन् १९९९ मा यो डोमेन खरिद गरेर डिजिटल बैंकिङको अवधारणा अगाडि बढाएका थिए । तर, पछि उक्त कम्पनी पेपालमा रूपान्तरण भयो ।
मस्कले उक्त डोमेन पुनः आफ्नै स्वामित्वमा लिएर त्यसलाई सुरक्षित राखेका थिए । २०२२ मा ट्वीटरको सम्पूर्ण स्वामित्व लिएपछि भने उनले सो कम्पनीलाई एक्सका रूपमा अगाडि बढाएका थिए । उनले सबै किसिमका सेवा एउटै प्लेटफर्ममा ल्याउने उद्देश्यले यस्तो रणनीति अपनाएको बताउँदै आएका छन् ।
यससँगै अब भने ट्वीटर औपचारिक रूपमा कहीं पनि देखिने छैन ।