कक्षा १२ को नतिजा चित्त बुझेन ? यसरी दिनुहोस् रिटोटलिङका लागि अनलाइन आवेदन
असार ५, २०८३ २०:१७
काठमाडौं । कक्षा १२ को नतिजा चित्त नबुझेका विद्यार्थीहरूले रिटोटलिङ (पुनर्योग) का लागि आवेदन दिन सक्ने भएका छन् । राष्ट्रिय परीक्षा बोर्ड (एनईबी), परीक्षा नियन्त्रण कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै पुनर्योगका लागि आवेदन खुला गरेको हो । विद्यार्थीहरूले पुनर्योगका लागि १२ असारसम्म आवेदन दिन सक्नेछन् ।
एनईबीले गत १४ देखि २७ वैशाखसम्म कक्षा १२ को परीक्षा सञ्जालन गरेको थियो । जसको नतिजा शुक्रबार (५ असार) प्रकाशन भएको हो । नतिजामा नियमित र आंशिक गरेर ६४.१३ प्रतिशत अर्थात् दुई लाख ६८ हजार १९० जना विद्यार्थी उत्तीर्ण भएका छन् । नियमित तथा आंशिक परीक्षाको नतिजामा चित्त नबुझ्ने विद्यार्थीहरूले पुनर्योगका लागि आवेदन दिन पाउने बोर्डले जनाएको छ । रिटोटलिङका लागि ६ असार (शनिबार) बिहान ११:०० बजेदेखि १२ असार साँझ ५:०० बजेसम्म आवेदन दिन सकिनेछ । प्रति विषय एक हजार रुपैयाँ शुल्क तिरेर रिटोटलिङ गर्न सकिन्छ ।
कसरी दिने आवेदन?
१. सबैभन्दा पहिले बोर्डको वेबसाइट neb.gov.np खोल्नुहोस् ।
२. अब ‘Online payment (Retotaling)’ मा जानुहोस् । वा, सिधै payment.neb.gov.np/StudentPortal मा लग इन गर्नुहोस् ।
३. अब त्यहाँ आफ्नो सिम्बोल नम्बर र जन्ममिति राखेर सर्च गर्नुहाेस् ।
४. त्यहाँ अब विभिन्न विषयहरू देखा पर्छन् । ती विषयमध्ये आफूले रिटोटलिङ गर्न चाहेको विषयको अगाडि ठिक चिन्ह लगाउनु पर्छ ।
५. त्यसपछि ई-सेवा, खल्ती लगायतका मोबाइल वालेटबाट भुक्तानी गर्नुहोस् । यस वर्ष रिटोटलिङका लागि प्रति विषय एक हजार रुपैयाँ शुल्क तोकिएको छ ।
६. भुक्तानी सफल भएपछि प्राप्त हुने कन्फर्मेसन म्यासेजलाई सुरक्षित राख्नु पर्नेछ ।
रिटोटलिङको नतिजा बोर्डको वेबसाइट neb.gov.np बाटै सार्वजनिक गरिने बोर्डले जानकारी दिएको छ ।
पछिल्लो अध्यावधिक: असार ५, २०८३ २०:४१
