काठमाडौं । केही दिनअघि आईओएस १७.५ सार्वजनिक भएसँगै आईफोनबाट डिलिट भएका फोटो पुनः फिर्ता आउने समस्या देखिएको थियो । अहिले एप्पलले आईओएस १७.५.१ भर्सनमार्फत उक्त समस्याको समाधान गरिसकेको छ । यसका साथै कम्पनीले त्याे असामान्य बगको वास्तविक कारण बाहिर ल्याएको छ ।
एप्पल सम्बन्धी लेख्ने नाइ नाइन टु फाइभ म्याकका अनुसार डिभाइसको फाइल सिस्टममा 'करप्टेड डेटावेस' (corrupted database) पसेकाले यस्तो समस्या आएको थियो । त्यस प्रकारका डेटाबेसले डिभाइसमा भएका फाइलहरूलाई प्रभाव पार्ने एप्पलको भनाइ छ । यस्ताे समस्या आईक्लाउडमा सिंक गरिएका फाइलहरूमा नभएको कम्पनीले उल्लेख गरेकाे छ ।
एक रेडिट प्रयोगकर्ताले आईओएस १७.५ को उक्त बगका कारण देखा परेको फोटो रिसेट गरी कम्पनीले अरू कसैलाई बेचेको आरोप लगाएका थिए । एप्पलले भने त्यस्तो गर्न सम्भव नभएकाे प्रतिक्रिया दिएको छ । कम्पनीका अनुसार डिभाइसबाट डिलिट हुने कुनै पनि फोटो तथा फाइल फेरि फिर्ता हुँदैनन् ।
ती प्रयोगकर्ताले रिसेटको प्रक्रिया राम्ररी पूरा नगरेको वा ढाँटेको हुनसक्ने एप्पलका अधिकारीहरूले बताएका छन् । त्यस्तै डिलिट गरिएका फोटो त्यसरी फेरि आउने समस्या सीमित प्रयोगकर्ताको हकमा भएको र प्रयोगकर्ताको डिभाइसमा भएका फाइलहरूको पहुँच कम्पनीसँग नहुने एप्पलले स्पष्ट पारेको छ ।
साइबर सुरक्षा अनुसन्धानकर्ताहरूले पनि यो समस्यालाई समाधान गर्न ल्याइएको आईओएस १७.५.१ अपडेटलाई रिभर्स-इन्जिनियरिङ गरेर विस्तारमा व्याख्या गरेका छन् । जसअनुसार आईओएस १७.५ ले फाइल सिस्टमबाट फोटोहरू स्क्यान गर्न र पुन: रि-इम्पोर्ट गर्न नयाँ माइग्रेसन रुटिन प्रयोग गरेको थियो ।
यस रुटिनले डिलिट गरिएका फोटोलाई पत्ता लगाएर डिभाइसको लोकल फाइल सिस्टममा पठाउँथ्यो । जसले गर्दा त्यस्ता फोटो डिभाइसको ग्यालरीमा देखा पर्थ्यो । अहिले उक्त रुटिनलाई एप्पलले हटाइसकेको छ ।
“आईओएस १७.५.१ को कोड हेर्दा भन्न सकिन्छ कि पुन: देखा परेका फोटोहरू अझै पनि डिभाइसको फाइल सिस्टममा नै थिए । जसलाई आईओएस १७.५ मा भएको माइग्रेसन रुटिनले फेला परेका थिए,” सुरक्षा अनुसन्धानकर्ताहरू भनेका छन्, “तर केबल यो विश्लेषणको आधारमा फोटोहरू डिभाइसको फाइल प्रणालीमा कसरी रहे भनेर भन्न सकिँदैन ।”