close

वनएक्स बेटका एक नेपाली एजेन्ट पक्राउ, देखियो साढे २ करोड बढीको कारोबार

टेकपाना टेकपाना

असार ९, २०८१ २०:३०

वनएक्स बेटका एक नेपाली एजेन्ट पक्राउ, देखियो साढे २ करोड बढीको कारोबार

काठमाडौं । अवैध अनलाइन सट्टेबाजी खेलाएको आरोपमा एक एजेन्ट पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौंका ३० वर्षीय किपेश महर्जन रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले अनलाइन जुवा खेलाएको आरोपमा महर्जनलाई शुक्रबार काठमाडौं कालोपुलबाट पक्राउ गरेको हो ।

कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार कार्यालयलाई अनलाइन बेटिङ प्लेटफर्मबाट जुवा खेलाउने कार्य भइरहेको भन्ने गोप्य सूचना प्राप्त भएको थियो । त्यसैको आधारमा अनुसन्धान गर्दै जाँदा महर्जन अनलाइन बेटिङ गराउन प्रयोग भएका उपकरणसहित पक्राउ परेका हुन् ।

प्रारम्भिक अनुसन्धानका क्रममा महर्जनले प्रयोग गर्ने मोबाइलमा क्याशएप लगायत अन्य बेटिङ प्लेटफर्मका एपहरू थिए । ती एपहरूमा ५१ हजार ६०३ यूएसडीटी (करिब ६८ लाख ८८ हजार रुपैयाँ) थियो । त्यसबाहेक उनकाे मोबाइलमा वनएक्स बेट एप थियो ।

सबै प्लेटफर्मबाट उनले विभिन्न समयमा गरी दुई करोड ७२ लाख ९० हजार रुपैयाँ बढीको कारोबार गरेको प्रहरी अनुसन्धानबाट खुलेकाे छ । त्यसबाहेक महर्जनले सामाजिक सञ्जालमा सर्वसाधारणलाई अनलाइन जुवा खेल्न प्रेरित गरेको बताइएको छ ।

उनीमाथि थप अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।

 

पछिल्लो अध्यावधिक: असार ९, २०८१ २०:४४