close

वनएक्सबेटमा जुवा खेल्ने र बाइनान्समार्फत क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

टेकपाना टेकपाना

जेठ १३, २०८३ २२:१२

वनएक्सबेटमा जुवा खेल्ने र बाइनान्समार्फत क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

काठमाडौँ । अवैध अनलाइन सट्टेबाजी प्लेटफर्म वनएक्सबेटमार्फत जुवा खेलेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौँ स्थायी घर भई हाल चितवन बस्दै आएका ३६ वर्षीय शिशिर गौतम रहेका छन् । 

इलाका प्रहरी कार्यालय टाँडीको टोलीले विशेष सूचनाका आधारमा मङ्गलबार दिउँसो करिब १ बजे बकुलहर चोकबाट उनलाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गौतमले वनएक्सबेटमा जुवा खेल्ने र बाइनान्समार्फत क्रिप्टोकरेन्सी सञ्चित गरी अवैध कारोबार गर्ने गरेको सूचना प्राप्त भएको थियो । 

सोही सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिई खानतलासी गर्दा प्रयोगमा रहेको मोबाइल फोन, विभिन्न बैंकका ६ थान एटीएम कार्ड र ४ हजार रुपैयाँ नगद बरामद गरेको छ । 

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवले प्रारम्भिक अनुसन्धानका क्रममा उनको फोनमा बेटिङ एप र बाइनान्स फेला परेको जानकारी दिए । “उनी कति समयदेखि यो अवैध बेटिङमा आबद्ध थिए भन्ने विषयमा विस्तृत अनुसन्धान भइरहेको छ,” यादवले टेकपानासँग भने ।

 

पछिल्लो अध्यावधिक: जेठ १३, २०८३ २२:१२