close

निर्वाचन आयोगको मतदाता नामावलीबाट यसरी फेला परे ल्यापटप चोर्ने व्यक्ति

जनकसिंह धामी जनकसिंह धामी

असार ११, २०८१ १६:११

निर्वाचन आयोगको मतदाता नामावलीबाट यसरी फेला परे ल्यापटप चोर्ने व्यक्ति

म दार्चुलाको जनकसिंह धामी । हाल अध्ययनका लागि बागबजार काठमाडौं बस्दै आएको छु । त्रिचन्द्र क्याम्पसमा म भौतिक शास्त्र अध्ययनरत गर्दैछु । अध्ययन बाहेक म वेब डेभलपमेन्टको काम गर्छु । 

वैशाख अन्तिमतिरको कुरा हो, म बसेको होस्टेलको कोठाबाटै मेरो ल्यापटप हरायो । दार्चुलाबाट काठमाडौं पढ्न आएको विद्यार्थी, त्यसैमा आफ्नो महत्त्वपूर्ण डेटा भएको ल्यापटप मेरा लागि निकै महत्त्वपूर्ण थियो । विशेषगरी म अध्ययन, अनुसन्धान र वेब डेभलपमेन्टका लागि ल्यापटप प्रयोग गर्दै आइरहेको थिएँ ।  

मेरा लागि त्यसमा भएका डेटा सबथोक थिए । होस्टेलले उपलब्ध गराएको कोठामा हामी तीन जना बस्थ्यौं । त्यसमध्ये एक जना साथीसँग मेरो पुरानो चिनजान थियो । अर्का एक जना भने होस्टेलमा नयाँ थिए । यतिसम्म कि मलाई उनको अगाडिको नाम मात्र याद थियो । 

ल्यापटप कोठाबाट हराएको दिन ती व्यक्ति कोठाबाटै गायब थिए । उनको सामान पनि खासै केही बाँकी थिएन । एउटै कोठामा बस्ने भए पनि हामीबीच त्यति चिनजान थिएन । एक पटक कुरै कुरामा उनको फोन नम्बर लिएको थिए । त्यही बेला उनले आफ्नो घर हेटौ‌ंडा भनेका थिए ।  

ल्यापटप हराउनु अनि ती व्यक्ति कोठाबाटै गायब हुनुले मलाई उनीमाथि शंका लाग्यो । होस्टेललाई ती व्यक्तिको विवरण उपलब्ध गराउन अनुरोध गरें । तर, हाेस्टेलमा पनि उनकाे विवरण भेटिएन । केही नलागेपछि म निवेदन दिन महानगरीय प्रहरी वृत्त सिंहदरबारमा उजुरी दिन गएँ । उहाँहरूलाई ती व्यक्तिको नाम र नम्बर उपलब्ध गराएँ । ल्यापटप चोरी गर्नासाथ मोबाइल अफ गरेकाले उनलाई प्रहरीले सम्पर्क गर्न सकेन । यस्ता घटना धेरै आउने र फोन नम्बर ट्रेस गर्न नसकिने जानकारी आयो । 

तत्कालै अर्को ल्यापटप खरिद गर्न सक्ने अवस्था थिएन । केही उपाय नलागेपछि म आफै‌ं ती व्यक्तिको जानकारी पहिचान गर्न तम्सिएँ । त्यसका लागि सबैभन्दा पहिले ती व्यक्तिको थर पत्ता लगाउन उनको नम्बरमा रहेको ईसेवामा थोरै रकम पठाएँ । उनको थर खुल्यो । 

त्यसपछि निर्वाचन आयोगको साइटमा गएँ । त्यसपछि पेलोड्स मार्फत लिङ्क प्रयोग गरी वेब स्क्रयाब गरें । अनि हेटौंडा उपमहानगरपालिकाका सबै वडाका मतदाताको नाम सीएसभी फाइलमा डाउनलोड गरें । त्यसबाट मैले पत्ता लाएको नाम फिल्टर गरें । त्यहाँ त्यही नामका तीन/चार जना थिए । त्यसमध्येबाट उनको उमेर मिल्ने दुई जना भेटिए । 

दुवै वडाका वडाअध्यक्षलाई फोन गरेर हुलिया बताएपछि दोस्रो व्यक्ति चोरी गर्ने हुन् भन्ने पत्ता लाग्यो । वडा अध्यक्षले ती व्यक्तिको बुबाको सम्पर्क नम्बर उपलब्ध गराउनु भयो । यसपछि शंका गरेकै व्यक्तिले ल्यापटप लगेकाे प्रष्ट भयो । कुरा गर्दा उहाँहरूले नै चोरी गर्ने व्यक्तिलाई खोजेर काठमाडौं ल्याउने प्रतिवद्धता दिनुभयो । र, त्यसको केही दिनमै उहाँहरू प्रहरी कार्यालयमा आउनु भयो ।

उनले ल्यापटपको सबै फाइल फर्म्याट गरेर अपरेटिङ सिस्टम पनि परिवर्तन गरेका रहेछन् । मैले डेटा रिकभर नगरेसम्म ल्यापटप नलिने अडान राखें । पछि मेरो सबै डेटा रिकभर गरेर ल्यापटप उपलब्ध गराइयो । 

यसरी ती व्यक्तिले अन्य व्यक्तिको सामान पनि चोर्न सक्ने भन्दै मलाई जाहेरी दिन भनिएको थियो । तर, ती व्यक्तिकी आमा मेरो अगाडि रुन थाल्नुभयो । ‘गल्ती भयो अब त्यस्तो कहिल्यै गर्दैिनँ भनेपछि मैले निवेदन फिर्ता लिएँ । यद्यपि प्रहरीले उनलाई एक दिनका लागि थुनामा राखेको थियो ।

पछिल्लो अध्यावधिक: असार २१, २०८१ १८:५५