काठमाडौं । आकर्षक डिजाइन, राम्रो प्रदर्शन, फरक युजर इन्टरफेस अनि गज्जबको इन्जिनियरिङ । यो विशेषता नथिङको सीएमएफ फोन वन (Nothing CMF Phone 1) मा पाइन्छ । विश्वभर नै फरक डिजाइनका कारण नामी रहेको यो फोन वास्तवमा कस्तो छ ? आज हामी यस सामग्रीमा बताउने छौं:
सुरुमा जोकोही पनि यो फोनको लुक्सका कारण लोभिन्छन् । फोनको रङ संयोजन सुन्दर नै छ । फोनको पछिल्लो भागमा भएको नब (Knob) बटार्न पनि सकिन्छ ।
पछाडिबाट हेर्ने हो भने पनि फोन एकदमै आकर्षक देखिन्छ । यसको ब्याक प्यानल कडा खालको प्लास्टिकबाट बनाइएको छ । सोहीकारण हेर्दा र छाम्दा एकदमै प्रिमियम महसुस हुन्छ । अर्को कुरा यसमा हातको दाग पनि बस्दैन ।
अहिले नेपाली बजारमा यस फोनको सुरुवाती मूल्य ३६ हजार ९९९ रुपैयाँ तोकिएको छ ।
ओभल क्यामेरा मोड्युलमा दुई ओटा क्यामेरा र छेउतिर एउटा फ्ल्याश देख्न सकिन्छ । फोन हलुका भएकाले बोकेर हिँड्न सहज नै छ । फोनको किनाराहरू फ्ल्याट छन् । साथै फोन निकै ह्यान्डी पनि छ ।
अब फोनको अगाडिको भागको कुरा गरौं । फोनमा ७.६७ इन्चको सुपर एमोलेड डिस्प्ले छ । जसमा १२० हर्जको रिफ्रेट रेट दिइएको छ । साथमा दुई हजार निट्ससम्मको ब्राइटनेस पाउन सकिन्छ । साथमा बेजल्सहरू फोनको तल्लो भाग बाहेक अन्य ठाउँमा एकदमै कम छन् । त्यसैले यसमा भिडिओ हेर्दा राम्रै अनुभव हुन्छ ।
स्क्रिनमा भएको पन्च होलमा भने १६ मेगापिक्सेलको क्यामेरा छ । साथै डिस्प्लेमा पहिल्यै स्क्रिन प्रोटेक्टर राखिएको छ भने यसमा इन डिस्प्ले फिङ्गरप्रिन्ट पनि पाउन सकिन्छ ।
यस फोनमा नब (knob) मुख्य भागको रूपमा रहेको छ, जुन रोचक पनि छ । तपाईंले फोनको ब्याक प्यानललाई अनस्क्रु गर्न सक्नुहुन्छ अनि तपाईं आफैंले ब्याक कभर परिवर्तन पनि गर्न सक्नुहुन्छ । अथवा भनौं, तपाईंले फोनको हार्डवेयरमा नै निकै कस्टमाइजको विकल्प पाउनुहुन्छ ।
त्यतिमात्र नभएर थुप्रै एक्सेसरिजहरू पनि उपलब्ध छन् । जस्तो: फोनको स्ट्यान्ड, कि चेन । तर यी एक्सेसरिजहरू भने तपाईंले छुट्टै किन्नु पर्ने हुन्छ ।
तर, यसको ब्याक कभर यति सजिलै खोल्न मिल्छ । अनि यसमा आईपी ५२ रेटिङ दिइएको छ । तर, यो फोन पानी र धूलोबाट कत्तिको सुरक्षित छ त ? साथै, होसियारी भइएन भने फोनका भागहरू हराउन सक्ने सम्भावना पनि हुन सक्छ ।
अब कुरा गरौं क्यामेराको । फोनमा ५० मेगापिक्सेलको सोनी आईएमएक्स ८८२ मुख्य क्यामेरा , २ मेगापिक्सेलको डेफ्थ सेन्सर र १६ मेगापिक्सेलको फ्रन्ट क्यामेरा पाउन सकिन्छ ।
मेरो अनुभवको आधारमा भन्दा प्रकाश राम्रो भएको बेला खिचेका फोटोहरू स्तरीय आउँछन् । रङ भने अलि बढी उज्यालो हो कि जस्तो लाग्छ । क्यामेरामा पनि केही रोचक कुरा छन् । जस्तो: पोट्रेट मोडमा भिभिड र न्युट्रल गरी दुई ओटा विकल्प पाउन सकिन्छ । जसले तपाईंलाई राम्रो फाेटाे खिच्न मद्दत गर्छ ।
साथै, क्यामेरामा अलि भिन्न भिन्न फिल्टरहरू पनि तपाईंले पाउन सक्नुहुन्छ । रातिको समय अथवा प्रकाश कम भएको समयमा खिचेको फोटोहरू भने अलि राम्रा हुँदैनन् । यसको अर्थ कम्पनीले इमेज प्रोसेसिङमा भने अझै काम गर्नु पर्छ ।
अगाडिपट्टि भने १६ मेगापिक्सेलको सेल्फी क्यामेरा छ । यसमा एपार्चर, पोट्रेट, प्रो, पानोरमा, एचडीआर, टाइमल्याप्स जस्ता मोड पाउन सकिन्छ ।
भिडिओको कुरा गर्ने हो भने ३० एफपीएसमा फोरके भिडिओ खिच्न सकिन्छ । जसलाई फोनको राम्रो पक्षको रूपमा लिन सकिन्छ । साथै ६० एफपीएसमा १०८० पिक्सेलसम्मको भिडिओ खिच्न सकिन्छ । उसैगरी सेल्फी क्यामेराबाट ३० र ६० एफपीएसमा १०८० पिक्सेलसम्मको भिडिओको खिच्न सकिन्छ ।
यस फोनको क्यामेरामा स्टेबलाइजेसनको लागि ईआईएस दिइएको छ । तर फोनको मूल्य अनुसार भने यसमा धेरैले ओआईएसको अपेक्षा गरेका हुन सक्छन् ।
एन्ड्रोइड १४ मा आधारित यो फोन नथिङ ओएस २.६ मा चल्छ । प्रोसेसर भने मिडिया टेक डाइमेन्सिटी ७३०० फाइभजी प्रयोग भएको छ । जुन हालै सार्वजनिक भएको चिपसेट हो । मूल्य अनुसार यो फोनका लागि सो चिपसेट उपयुक्त नै छ ।
फोन लामो समय प्रयोग गर्दा वा मल्टि टास्किङ अथवा सामान्य गेम खेल्दा पनि राम्ररी नै चल्छ । केही हेभी टास्कहरू र गेम खेल्दा खेल्दा भने फोन अलि ताँतेको महसुस हुन्छ ।
गेमिङको कुरा गर्नुपर्दा फोनमा एचडीआर ग्राफिक्समा अल्ट्रा फ्रेम रेटमा गेम खेल्न सकिन्छ । गेम राम्ररी नै चल्छ । तर, मोनो स्पिकर भएकाले गेम खेल्दा घरीघरी स्पिकर भने छोपिने हुन सक्छ ।
कम्पनीका अनुसार यो फोनमा दुई वर्षसम्म एन्ड्रोइड अपडेट र तीन वर्षसम्म सेक्युरिटी अपडेट पाउन सकिन्छ ।
फोनको युजर इन्टरफेस सफा, सामान्य र भिन्न छ । सफ्टवेयर एक्सपेरियन्स पनि प्रिमियम फोनहरूमा जस्तै पाउन सकिन्छ । फाेनकाे विजेट्स, कस्टमाइजेसन, एज प्यानल, केही सेटिङ्स वा फिचर भने अलि फरक पाउन सकिन्छ ।
र्याम र स्टोरेजको कुरा गर्दा फोनमा ८ जीबी एलपीडीडीआर फोर एक्स र्याम पाउन सकिन्छ । जसमा थप २ जीबी र्याम विस्तार गर्न सकिन्छ । अनि इन्टर्नल स्टोरेज भने यूएफएस २.२ १२८ जीबी उपलब्ध छ । यदि स्टोरेज पर्याप्त भएन भने दुई टेराबाइट सम्मको माइक्रो एसडी कार्ड हाल्न सकिन्छ ।
अथवा तपाईंले ८/२५६ जीबी भेरियन्ट लिन सक्नुहुन्छ । जसको मूल्य भने नेपाली बजारमा ४१ हजार ४९९ रुपैयाँ रहेको छ ।
अब ब्याट्रीको कुरा गरौं । फोनमा ५००० एमएएच क्षमताको ब्याट्री पाउन सकिन्छ । यसो हुँदा फोनको ब्याट्री ब्याकप्याक पनि राम्रो नहुने कुरै भएन । त्यसमाथि फोनले ३३ वाटको चार्जिङ पनि सपोर्ट गर्छ । तर, बक्समा भने चार्जर आउँदैन । तपाईंले छुट्टै खरिद गर्नु पर्ने हुन्छ । फोन किन्दा तपाईंले यूएसबी सी टू यूएसबी सी केवल मात्र पाउनुहुन्छ । साथै फोनले पाँच वाटको रिभर्स चार्जिङ पनि सपोर्ट गर्छ ।
कनेक्टिभिटीका लागि फोनमा ब्लुटुथ भर्सन ५.३ दिइएको छ भने फोनले वाई-फाई सिक्स पनि सपोर्ट गर्छ । त्यस्तै फोनमा डुअल सिम सपोर्ट पनि पाउन सकिन्छ ।
नथिङ यो यो फोन लाइट ग्रिन कलर र ब्ल्याक गरी दुई रङमा उपलब्ध गराउने छ । समग्रमा भन्दा फरक डिजाइन, ब्याट्री टिक्ने, फोन चलाउँदा राम्रो अनुभव दिने फोन खोजिरहनु भएको छ भने सीएमएफ फोन एउटा राम्रो विकल्प हुन सक्छ ।