लाखौं पाइरेटेड पुस्तकबाट एआईलाई तालिम दिएको एन्थ्रोपिकले प्रति पुस्तक ४.६१ लाख क्षतिपूर्ति दिने
साउन ६, २०८३ १२:२४
काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कम्पनी एन्थ्रोपिकले आफ्नो क्लाउड (Claude) च्याटबटलाई तालिम दिन पुस्तकका पाइरेटेड कपी प्रयोग गरेबापत हजारौं लेखकहरूलाई क्षतिपूर्ति दिने भएको छ । अमेरिकी अदालतले १.५ अर्ब डलरको प्रतिलिपि अधिकार सम्झौता स्वीकृत गरेको हो ।
यससँगै लेखकहरूले प्रति पुस्तक करिब ३,००० डलर (४ लाख ६१ हजार रुपैयाँभन्दा बढी) भुक्तानी पाउने छन् । जिल्ला न्यायाधीश अरासेली मार्टिनेज-ओल्गुइनले सोमबारको फैसलामा यो क्लास-एक्सन सम्झौताले पीडित लेखक र प्रकाशकहरूलाई ठुलो राहत प्रदान गर्ने बताएकी छिन् । यो फैसलाले ४ लाख ८२ हजार भन्दा बढी पुस्तकहरू समेटेको छ । जसमध्ये करिब ९१ प्रतिशत पुस्तकका लेखक वा प्रकाशकहरूले आफ्नो दाबी पेस गरिसकेका छन् र उनीहरूले अब यो भुक्तानी प्राप्त गर्नेछन् ।
वादी पक्षका तर्फबाट बहस गरिरहेका वकिल जस्टिन नेल्सनले एक विज्ञप्तिमा यो सम्झौता इतिहासकै सबैभन्दा ठुलो प्रतिलिपि अधिकार क्षतिपूर्ति रकम भएको बताएका छन् । उनले भनेका छन्, "हामी यो क्लास-एक्सनका सदस्यहरूलाई जतिसक्दो चाँडो रकम वितरण गर्न उत्सुक छौं ।"
अमेरिकी जिल्ला न्यायाधीश विलियम एल्सपले गत सेप्टेम्बरमा सान फ्रान्सिस्कोको सङ्घीय अदालतमा यस सम्झौतालाई प्रारम्भिक स्वीकृति दिएका थिए । उनी अहिले सेवानिवृत्त भइसकेका छन् । एल्सपले गत वर्ष यस मुद्दामा मिश्रित फैसला सुनाउँदै प्रतिलिपि अधिकार सुरक्षित रहेका पुस्तकहरूमा एआई च्याटबटहरूलाई तालिम दिनु गैरकानुनी नभएको तर एन्थ्रोपिकले पाइरेसी वेबसाइटहरू मार्फत लाखौं पुस्तकहरू गैरकानुनी रूपमा प्राप्त गरेको ठहर गरेका थिए ।
एन्थ्रोपिककी डेपुटी जनरल काउन्सिल अपर्णा श्रीधरले उक्त फैसलालाई ऐतिहासिक कदमको रूपमा व्याख्या गर्दै यसले प्रतिलिपि अधिकार कानुन अन्तर्गत पुस्तकहरूमा एआईलाई तालिम दिनु 'फेयर युज' (उचित प्रयोग) हो भन्ने देखाएको उल्लेख गरिन् ।
"सम्झौता अन्तर्गत समेटिएका ९१ प्रतिशतभन्दा बढी लेखक तथा प्रकाशकहरूले भुक्तानीमा आफ्नो हिस्सा दाबी गरेकोमा हामी खुसी छौं र यो विषयलाई छिट्टै टुङ्ग्याउन चाहन्छौं," श्रीधरले विज्ञप्तिमा भनेकी छिन् ।
चर्चित थ्रिलर उपन्यासकार एन्ड्रिया बार्ट्जले सन् २०२४ मा अन्य दुई लेखकहरूसँग मिलेर पहिलो पटक यो मुद्दा दायर गरेकी थिइन् । अदालतहरूमा अझै पनि विचाराधीन अवस्थामा रहेका दर्जनौं एआई प्रतिलिपि अधिकार सम्बन्धी मुद्दाहरूमध्ये यो नै पहिलो ठुलो सम्झौता हो ।
(विनिमय दर १ अमेरिकी डलर = १५३.६८ रुपैयाँ)
पछिल्लो अध्यावधिक: साउन ६, २०८३ १२:४४
