काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूलाई ग्राहकबाट आफूखुसी शुल्क नलिन निर्देशन दिएको छ । प्राधिकरणले बिहीबार आर्थिक विश्लेषण शाखामार्फत जारी गरेको परिपत्रमा ग्राहकसँग लिने शुल्क तथा महसुल दर दूरसञ्चार ऐन, २०५३ को दफा ४२ अनुसार प्राधिकरणबाट स्वीकृति प्राप्त गरेर मात्र लागू हुनुपर्ने जनाएको छ ।
केही इन्टरनेट सेवा प्रदायकहरूले सेवाका शुल्क तथा महसुल दर स्वीकृत नगरी सामाजिक सञ्जाल, पत्रपत्रिका र आफ्नै वेबसाइटहरूमा सूचना प्रकाशित गरी कार्यान्वयन गरेको पाइएको भन्दै प्राधिकरणले यो कार्य कानूनी व्यवस्था विपरीत रहेको स्मरण गराएको छ ।
शुल्क परिवर्तनका लागि प्राधिकरणबाट अनुमोदन प्राप्त गरेपछि मात्र त्यसबारे ग्राहकलाई जानकारी गराउनुपर्ने प्राधिकरणले जनाएको छ ।