सम्झनुस् त, भर्खर फेसबुक खोल्दाको माहोल । पहिलो पटक गुगल सर्च गर्दाको क्षण । ती क्षण साँच्चै रमाइला थिए । गुगल सर्च गर्दा फुत्त फुत्त नतिजा आउँदा कम्ता रमाइलो हुँदैन थियो । अनि फेसबुकको त्यो सामान्य लेआउटमा आउने न्युज फिड ।
सायद तपाईंले पक्कै पनि देख्नुभयो फेसबुकमा राखिएका पुराना प्रोफाइल पिक्चरहरू गुगलबाट डाउनलोड गरिएको, पासपोर्ट साइज र जसोतसो खिचिएका सेल्फी ।
अब ती साथीहरूको सूची याद गर्नुहोस् । पक्कै पनि धेरै जसो फेसबुक फ्रेन्ड तपाईँका आफन्त, छरछिमेक र साथीभाइ हुनुपर्छ । अनि विदेशमा रहेका आफन्त/परिवारजनलाई पनि सम्झनुस्, जोसँग तपाईंले सामाजिक सञ्जाल चलाउनकै लागि भनेर मोबाइल फोन मागिरहनु भएको छ ।
ओहो, ती पुराना दिन । सामाजिक सञ्जाल भर्खर भर्खर चलाउन थाल्दाका क्षण । कम्ता रमाइला थिएनन् ।
अब वर्तमानबारे् पनि गम्न अनुरोध गरेँ ।
अहिले सामाजिक सञ्जाल कुनै खतरनाक लागूऔषधभन्दा कम छैन । यसमा जताततै ठगिने सम्भावना छ । कसले कतिबेर कुन सनकमा नराम्रो कमेन्ट गर्छ, थाहा छैन । अश्लीलता र निम्न स्तरका कन्टेन्टले भरिभराउ छन् सञ्जाल ।
मानौं, अहिले सामाजिक सञ्जाल फोहोरले भरिन लागेको तलाउ हो । अनि पहिलेको सामाजिक सञ्जाल शुद्ध मूलपानी ।
आजकल सामाजिक सञ्जालले भाँडामा जमिरहने पानीको रूप लिइसकेको छ । जसमा लेउ लाग्छ । ब्याक्टेरिया र भाइरस त्यहीँबाट जन्मन्छ । शुद्ध कदापि हुन सक्दैन । सामाजिक सञ्जाल नदि जस्तो सलल्ल कहिल्यै बग्न सक्दैन ।
यसको लचकता यति छ कि यसमा जति पनि अटाउन सक्छन् । तर यहाँ फसेकाहरू दलदलमा परे जस्ता हुन्छन् ।
यसो भनिरहे पनि म सामाजिक सञ्जालको विरोधी होइन । आजको युगमा सामाजिक सञ्जाल जीवनको अपरिहार्य हिस्सा बनेकोमा ‘होइन’ भन्न सक्दिनँ ।
तपाईंलाई याद हुनु पर्छ ‘साहित्यलाई समाजको ऐना’ भनिन्छ । अब साहित्यको कुर्सी सामाजिक सञ्जालले खोसिसकेको छ ।
थाहै नपाइ समाजको एउटा गतिलो ऐना बनेको छ, सामाजिक सञ्जाल । जुन ऐनाले तपाईंलाई तपाईंसँगै तपाईंको समाज, संस्कृति, र मनोविज्ञानलाई प्रतिबिम्बित गर्छ । कहिले तपाईंले यहाँ आफैंलाई पाउनुहुन्छ, कहिले आफ्ना प्रियजनसँग पाउनुहुन्छ अनि कहिले आफ्ना विचारहरूको लागि डुङ्गा बनाइरहनु भएको पाउनुहुन्छ ।
वास्तविक ऐना जसरी सामाजिक सञ्जालले तपाईं कस्तो हुनुहुन्छ भन्ने दृश्य देखाइदिन्छ । डिजिटल चौतारीको रूप लिएको सामाजिक सञ्जालमा सबैको उपस्थिति छ, तर सबै एक्ला पनि ।
अलि स्पष्ट भन्दा आधुनिक युगको नयाँ माध्यम सामाजिक सञ्जाल हो, जहाँ सूचना र भावना तुरुन्तै एक अर्कामा साट्न सकिन्छ । हिजोको जमानामा चिठीपत्रको माध्यमबाट व्यक्त गरिने भावना, आज एउटा ‘स्टोरी’ वा ‘पोस्ट’ मार्फत् तुरुन्त सार्वजनिक गरिन्छ । पहिले मेलातिर नयाँ मान्छे भेटिन्थे भने आजभोलि स्क्रिनमा ।
यहाँ को कति खेर चम्कन्छन् कुनै टुङ्गो छैन । तिनको समय कति हो केही ठेगान छैन । यसको प्रकृति स्थिर छँदै छैन । त्यसैले हो, फुर्सद हुनासाथ तपाईं हामी फेसबुक, इन्स्टाग्राम, एक्स (ट्वीटर)जस्ता प्लेटफर्महरूमा समय बिताउँछौं ।
तर यो ऐनामा तपाईंले खोजेको कम र नखोजेको बढी देखिन्छ । तपाईंको इच्छा मात्र देखिँदैन, बरु यसले तपाईंलाई आफ्नो बनाइदिन्छ । यसले तपाईंको सुख, दुःख, हार, जीत जस्ता हरेक भावनालाई क्यामेरामा कैद गरेजस्तै कैद गर्छ । र तपाईंलाई तिनकै परिधिमा घुमाउन थाल्छ ।
हो, अहिले तपाईं हामी सामाजिक सञ्जालको साङ्गलोले बाँधिइसकेका छौं । यसैले त केही समय फेसबुक, टिकटक चलाउँछु भनेर बस्दा दुई घण्टा बितेको पत्तै हुँदैन । यस्तो अनुभव त तपाईंसँग कति कति!
एक पटक नेटफ्लिक्सका सीईओले भनेका थिए उनको कम्पनीको मुख्य प्रतिस्पर्धी अरू कुनै प्लेटफर्म नभइ तपाईं हाम्रो निद्रा हो । अब कल्पना गर्नुस्, मेटा, बाइटडान्स जस्ता कम्पनीले हामीलाई सुत्न नदिन कति मेहनत गरिरहेका छन् ।
राति विस्तारमा ढल्केर स्क्रोल गर्दै जाँदा निदाउन लागिएको हुन्छ । अकस्मात् एउटा पोस्टले ध्यान खिच्छ । निद्रा गायब । यो अनुभव पनि तपाईंसँग कति कति !
यी सबैको अर्थ अब सोच्नुपर्ने बेला भइसकेको छ, सामाजिक सञ्जाललाई आफ्नो आवश्यकता अनुसार चलाइरहेका छौं वा हामी नै यसको नियन्त्रणमा छौं ?
जतिबेला पनि सामाजिक सञ्जालमा केही पोस्ट गर्न मन लागिरहनु, कसले के पोस्ट गरेको छ भनेर स्क्रोल गर्दै बस्नु - दुवै सूचक हुन् कि हामी सामाजिक सञ्जालको नियन्त्रणमा गइसक्यौं । र त्यो नियन्त्रण गर्ने औजार हो, एपको एल्गोरिदम ।
विभिन्न अनुसन्धानहरूले पनि सामाजिक सञ्जाल चलाउने समय उकालो लागिरहेको देखाएको छ । ग्लोबल वेब इन्डेक्स (जीडब्लूआई)को २०२१ को रिपोर्ट अनुसार २०१९ देखि २०२१ को अवधिमा सामाजिक सञ्जालमा बिताइने औसत समय ६० प्रतिशत बढीले बढेको छ । भनिन्छ अहिले एक जनाले औसतमा दिनभर टिकटक ९० मिनेट, युट्युब ४० मिनेट, फेसबुक ३३ मिनेट, इन्स्टाग्राम २९ मिनेट चलाउँछ ।
यो समय बढाउने काम पनि एल्गोरिदमकै हो । अब आफैं सोच्नुस्, यसको दोष कसलाई दिने ? हाम्रो निर्णय क्षमतालाई कि ‘एल्गोरिदम महाराज’लाई?
हो, एल्गोरिदम एक किसिमको भगवान् नै हो । किनकि हामीले यसलाई देख्दैनौं । तर यसले भने हामीलाई राम्ररी देख्छ । यसले हरेक क्षण हाम्रो लागि भनेर हामीलाई मनपर्ने फोटो, भिडिओ निरन्तर रूपमा पठाइरहेको हुन्छ । यसको छनौट हामीलाई मन नपर्ने भन्ने कुरा धेरै हदसम्म हुँदैन ।
त्यसमाथि सामाजिक सञ्जालको मुख्य विशेषता हामीले हेर्ने फिड हरेक सेकेन्ड नयाँ हुनु हो । जुन अनन्त छ । हामीलाई नयाँ कुरा मन परिहाल्ने । अनि त्यस नयाँ कुरा के पठाउँ भनेर हाम्रो प्रत्येक गतिविधिलाई हेरिरहेको जासुस चैं एल्गोरिदम । अनि परिएन त फसादमा ?
सामाजिक सञ्जाल माकुरोको जाल हो । जुन मानिसको मनोविज्ञानलाई गहिरोसँग अध्ययन गरेर डिजाइन गरिएका हुन्छन् । सरल तरिकाले बुझ्दा एल्गोरिदमको मुख्य काम हामीलाई लामो समयसम्म प्लेटफर्ममा रोकिराख्नु हो ।
यसको करामतबारे चर्चा गरिहाल्छु ।
तपाईंले कुनै दिन कुकुरको फोटोमा लाइक गर्नुभयो भने अर्को दिन तपाईंको फिडमा कुकुरका फोटोहरू मात्र आउन थाल्छ । फिटनेस टिप्स खोज्न थाल्नु भए तपाईंको फिडमा मसल्स, फिटनेस रुटिन, प्रोटिन सप्लिमेन्ट्स जस्ता कुराहरूले भरिन थाल्छ ।
अब जुन मन पर्छ, त्यो कुरा तपाईंले छोड्न सक्नु होला त!
यसरी नै तपाईं परिधिमा घुमिरहनु हुन्छ । मान्नुस् कि एल्गोरिदम साइकलको चक्का हो । र तपाईं त्यसको ‘स्कोप’ । नयाँ ठाउँमा पुग्नु हुन्छ तर घुमिमात्र रहनु भएको हुन्छ ।
सम्झनुस् के भने सामाजिक सञ्जालका प्लेटफर्महरूले हामीलाई कसरी फसाउने भन्ने कुरा राम्ररी बुझेका छन् । अनि त्यसको अँध्यारो पक्षबारे तपाईंले पनि जानकारी लिनु परेन त!
छोटोमा बुझौं कि सामाजिक सञ्जालमा तपाईं/हामी स्वतन्त्र व्यक्ति रहेनौं । त्यसको एल्गोरिदमको दास बनिसकेका छौं । एउटा स्क्रोलिङ रोबोटमा परिणत भइसकेका छौं ।
सुरुमै मैले तपाईंलाई पहिलो पटक फेसबुक अकाउन्ट बनाउँदाको क्षण सम्झन अनुरोध गरेको थिएँ । त्यसबेला साँच्चै तपाईंले सामाजिक सञ्जाल चलाउनु भएको हुन सक्छ । अब त्यसबेलाको जस्तो सामाजिक सञ्जाल चलाउन सम्भव छैन । अहिले त तपाईंलाई सामाजिक सञ्जालले चलाइरहेको छ ।
तर, सजग प्रयोगकर्ता बन्दा अझै पनि तपाईं आफैंले सामाजिक सञ्जाल चलाउन सक्नुहुन्छ । अन्यथा तपाईं एल्गोरिदमको दरबारमा सधैंभरि दास रहिरहनु हुन्छ ।