close

शक्तिशाली चिप ल्याउँदै मिडियाटेक, आईफोन १६ प्रोको भन्दा ८६ प्रतिशत फास्ट हुने दाबी

टेकपाना टेकपाना

असोज १०, २०८१ ७:५३

शक्तिशाली चिप ल्याउँदै मिडियाटेक,  आईफोन १६ प्रोको भन्दा ८६ प्रतिशत फास्ट हुने दाबी

काठमाडौं । ताइवानी सेमिकन्डक्टर उत्पादक मिडियाटेकले आफ्नो नयाँ चिपसेट मिडियाटेक डाइमेन्सिटी ९४०० आगामी अक्टोबरमा सार्वजनिक गर्दैछ । तर चिप सार्वजनिक हुनु अगावै उक्त चिपले एप्पलको पछिल्लो ए१८ चिप र क्वालकमको स्नापड्रागन प्रोसेसरलाई पछि पार्ने चर्चा गरिएको छ ।

चिनियाँ सामाजिक सञ्जाल विबोमा डिजिटल च्याट स्टेसनका अनुसार मिडियाटेक डाइमेन्सिटी ९४०० चिपसेटको जीपीयूलाई जीएफएक्स एजटेक १४४०पी (GFX Aztec 1440p) अफ स्क्रिन भल्कन बेन्चमार्क प्रयोग गरेर परीक्षण गरिएको थियो । जसमा जीपीयूले १३४ एफपीएसको नतिजा दिएको छ । जुन एप्पलको ए१८ भन्दा ८६ प्रतिशत र ग्यालेक्सी एस२४ सिरिजमा भएको स्नापड्रागन ८ जेन थ्री प्रोसेसरभन्दा ४१ प्रतिशतले बढी हाे ।

यद्यपि चिपसेटको जीपीयूको रअ (raw) प्रदर्शनको लागि सो परीक्षण गरिएको थियो । यसले गर्दा प्रदर्शनमा राम्रो नतिजा देखिनु स्वाभाविक हो । तर परीक्षणको वातावरण कस्तो थियो भन्ने जानकारी नदिइएकाले वास्तविक प्रयोगमा पनि सोही बराबरको नतिजा आउँछ भनेमा शङ्का गर्न सकिन्छ ।

केही समयअघि यस चिपसेटको सीपीयूको प्रदर्शन पनि अहिलेका प्रमुख चिपसेटको तुलनामा ३० प्रतिशतले बढी भएको खबर बाहिरिएको थियो । यदि यी खबरहरू साँचो भए मिडियाटेक डाइमेन्सिटी ९४०० चिपसेट अहिलेसम्मकै सबैभन्दा शक्तिशाली चिपसेट हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज १०, २०८१ ७:५८