close

एप्पलको आईओएस २७ आउँदै, यस्ता छन् ७ नयाँ फिचर अनि नयाँ स्वरूपको सिरी

टेकपाना टेकपाना

जेठ २४, २०८३ १३:२०

एप्पलको आईओएस २७ आउँदै, यस्ता छन् ७ नयाँ फिचर अनि नयाँ स्वरूपको सिरी

काठमाडौँ । भोलि सोमबार आयोजना हुने डब्लूडब्लूडीसीको उद्घाटन सत्रमा एप्पलले आफ्नो नयाँ अपरेटिङ सिस्टम आईओएस २७ को बेटा भर्सन सार्वजनिक गर्दैछ । विगत केही वर्षदेखि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को दौडमा केही पछि परेको देखिएको कम्पनीले यस पटक सिरीलाई पूर्ण रूपमा नयाँ र शक्तिशाली स्वरूपमा प्रस्तुत गर्ने भएको हो ।

एप्पलले सन् २०२४ मा एप्पल इन्टेलिजेन्समार्फत सिरीमा नयाँ स्वर र च्याटजीपीटीसँगको एकीकरण जस्ता फिचर ल्याउने वाचा गरेको थियो । तर, ती फिचरहरू समयमै उपलब्ध गराउन नसक्दा कम्पनीले कानुनी मुद्दा र क्षतिपूर्ति समेत बेहोर्नुपरेको थियो । अहिले एप्पलले गुगलको जेमनाई प्रविधिलाई आधार बनाएर सिरीलाई पुनर्जीवित गर्दैछ ।

गुगल र माइक्रोसफ्ट जस्ता कम्पनीहरूले एआईका लागि जथाभाबी डेटा सेन्टरहरू निर्माण गरिरहँदा र प्रयोगकर्ताको गोपनीयतामाथि प्रश्न उठिरहँदा, एप्पलले आफ्नो सुस्त तर जिम्मेवार छविलाई फाइदाको रूपमा प्रयोग गर्न खोजेको छ । एप्पलले गोपनीयताका लागि प्राइभेट क्लाउड कम्प्युट र च्याटहरू आफैँ डिलिट हुने जस्ता फिचरहरूमा जोड दिनेछ ।

१. नयाँ सिरी र छुट्टै एप

सिरी अब च्याटजीपीटी र जेमनाई जस्तै च्याटबट इन्टरफेसमा उपलब्ध हुनेछ । अर्थात् यसको आफ्नै छुट्टै एप हुनेछ र यो डायनामिक आइल्याण्डसँग जोडिनेछ । यसले एउटै अनुरोधमा धेरै कार्यहरू गर्न सक्ने, व्यक्तिगत सन्दर्भ बुझ्ने (Personal Context) र स्क्रिनमा के भइरहेको छ भन्ने कुराको जानकारी राख्ने (Onscreen Awareness) क्षमता राख्नेछ ।

२. फोटो एपमा नयाँ एआई टुलहरू

फोटो एपमा तीनवटा प्रमुख एआई फिचरहरू थपिनेछन् । जसमध्ये एक्सेन्ड (Extend) नामक फिचरले तस्बिरको मूल फ्रेमभन्दा बाहिरको थप सामग्री सिर्जना गर्ने अनुमति दिनेछ ।

इन्हान्स (Enhance) नामक फिचरले फोटोको रङ, प्रकाश र गुणस्तर स्वचालित रूपमा सुधार्नेछ भने विशेष गरी स्पेसियल फोटोका लागि डिजाइन गरिएको रिफ्रेम (Reframe) फिचरले फोटो खिचिसकेपछि पनि त्यसको कोण (Perspective) बदल्न सघाउनेछ । गुगलको जेमनाई प्रविधिले गर्दा 'क्लिन अप' फिचर पनि झनै प्रभावकारी हुनेछ ।

३. क्यामेरामा भिजुअल इन्टेलिजेन्स

क्यामेरा एपभित्र अब फोटो र भिडिओसँगै सिरी मोड पनि उपलब्ध हुनेछ । यसले खानाको प्याकेजमा भएको पोषण लेबल (Nutrition Label) स्क्यान गरेर जानकारी दिने र क्यामेराले देखेका कन्ट्याक्ट विवरणहरू सिधै फोनमा सेभ गर्न मद्दत गर्नेछ ।

४. एप्पल वालेटमा पास बनाउने सुविधा

प्रयोगकर्ताले अब आफैँ डिजिटल पास वा टिकेटहरू बनाउन सक्नेछन् । क्यूआर कोड स्क्यान गरेर वा म्यानुअल रूपमा विवरण भरेर टिकट बनाउन सकिनेछ । यसका लागि एप्पलले तीनवटा टेम्प्लेट दिएको छ: साधारणका लागि सुन्तला (Standard), जिम जस्ता ठाउँका लागि निलो (Membership) र सिनेमा वा खेलकुदका लागि बैजनी (Event) ।

५. एप्पल हेल्थमा अपग्रेड

पहिले शुल्क लाग्ने भनिएको एप्पल हेल्थ प्लस सेवाका सुविधाहरू अब हेल्थ एपमै नि:शुल्क उपलब्ध हुनेछन् । यसमा विशेषज्ञहरूले बनाएका सचेतनामूलक भिडिओहरू, एआई-आधारित कोचिङ र परामर्श तथा थप प्रभावकारी पोषण ट्र्याकिङ समावेश हुनेछन् ।

६. किबोर्डमा व्याकरण सुधार

एप्पलको किबोर्डले अब हिज्जे (Autocorrect) मात्र नभई ग्रामर्ली (Grammarly) ले जस्तै व्याकरणका गल्तीहरू सुधार्ने र वैकल्पिक शब्दहरूको सुझाव दिनेछ ।

७. सफारीमा ट्याब ग्रुपको स्वचालित नामकरण

एप्पल इन्टेलिजेन्सले अब सफारीमा खोलिएका ट्याबहरूको विषयवस्तु बुझेर ट्याब ग्रुप (Tab Group) को नाम आफैँ राखिदिनेछ । यो सुविधा पडकास्टको च्याप्टर बनाउने प्रविधि जस्तै हुनेछ ।

एप्पलको यो नयाँ प्रयासले सिरीलाई केवल टाइमर सेट गर्ने सहायकबाट एक पूर्ण डिजिटल सहयोगीमा बदल्ने अपेक्षा गरिएको छ । सोमबारदेखि बेटा टेस्टिङ सुरु हुने भए पनि पब्लिक बेटा भने आगामी जुलाईमा मात्रै सार्वजनिक हुने बताइएको छ ।

पछिल्लो अध्यावधिक: जेठ २४, २०८३ १३:२०