close

आधा घण्टासम्म कुर्दा पनि राइडर भेटिएन !

सापेक्ष सापेक्ष

असोज १२, २०८१ १५:४१

आधा घण्टासम्म कुर्दा पनि राइडर भेटिएन !

हिजो शुक्रवार दिनभरको तालिम थियो । बासस्थान बानेश्वर, अनि तालिमकेन्द्र त्रिभुवन विश्वविद्यालयको पत्रकारिताको केन्द्रीय विभाग, बल्खु ।

अविरल वर्षा बिहानैदेखि थियो । तालिममा जसरी पुग्नुपर्ने भएकाले रुझ्दै गइयो, राइड शेयरिङ प्लेटफर्मको फाइदा लिएर । हुन त म सार्वजनिक यातायातमा पनि जान सक्थेँ । तर तालिम केन्द्रमै पुगिन्छ भन्ने लोभले त्यता ध्यान नै दिइनँ ।

कार्यक्रम हल भित्र नै भएकाले वर्षाको समस्या थिएन । फर्किँदा कसरी जाने होला भनेर बेलाबेला सोच्ने गर्थेँ । शरीरमा भिजेको लुगा जो थियो । 

कार्यक्रम साँझ ६ बजे आसपास सकियो । कार्यक्रम स्थलभन्दा अलि तल बल्खुचोक नजिकैसम्म हिँडेर झरे । छेवैको खाजाघर पसेँ । चिया पिएँ । राइड शेयरिङ प्लेटफर्ममा राइडर खोजेँ ।

मैले मोबाइलमा राइड शेयरिङ फोल्डर नै बनाएर चार ओटा राइड शेयरिङ एप राखेको छु । कतै जानुअघि ती सबै प्लेटफर्ममा शुल्क हेर्ने बानी छ । 

तुलनात्मक रूपमा अन्य प्लेटफर्मभन्दा सस्तो भएकाले सुरुमा टुटल हेरेँ । त्यहाँ कोही राइडर देखाइरहेको थिएन । राइडर नभेटिने पक्का भएपछि क्यान्सिल गरेँ ।

जुमुजुम हेरेँ । त्यहाँ आफू नजिकै केही राइडर देखाइरहेको थियो । तर उनीहरूले एसेप्ट गरेनन् । अन्य समयमा पनि त्यहाँ तत्कालै राइडर नपाइने भएकाले मैले पुन: रिक्वेस्ट पठाइनँ ।

त्यसपछि पठाओ र इन्ड्राइभमा मूल्य हेरेँ । यीमध्ये तुलनात्मक रूपमा इन्ड्राइभमा सस्तो देखियो । अनि राइडहरू पनि आफू वरपर टन्नै देखिए । 

केही राइडरले मेरो रिक्वेस्ट हेरे, आएनन् । बल्खुबाट नयाँ बानेश्वरसम्म १७० रुपैयाँ अफर गर्दा आएनन् । २०० अफर गरेँ, अहँ कसैले एसेप्ट गरेनन् ।

पठाओको अवस्था पनि त्यस्तै रह्यो । त्यहाँ १८६ रुपैयाँसम्म अफर गरिएको थियो, राइडरले एसेप्ट गरेनन् । केही पटक प्रयास गरेँ, कोही भेटिएनन् । 

चिया पसलमा बसेर राइडर खोजेकै आधा घण्टा भइसकेको थियो । अब चैं भेटिन्न भन्ने लाग्यो । त्यसमाथि पानी रोकिने सम्भावना थिएन । रात पनि पर्दै गएको थियो । 

ठीक त्यही बेला मसँग खुद्रा पैसा थिएन । त्यही चिया पसलमा अतिरिक्त १० रुपैयाँ डिजिटल पेमेन्ट गरेर ५० रुपैयाँ नगद लिएँ । 

जेब्राक्रस गरेर बल्खु चोक पुगेँ । नेपाल यातायातलाई पाँच मिनेट कुरेँ । नेपाल यातायात चढेपछि मलाई लाग्दै थियो, २५ रुपैयाँमा यात्रा सकिनेमा बित्थामा मैले आधा घण्टा त्यत्तिकै खेर फालेँ । 

बिहान राइड शेयरिङ प्लेटफर्मबाटै गएपनि पत्रकारिताको केन्द्रीय विभाग पुग्दा मज्जैले बिझेको थिएँ । तर गाडीमा उसरी नै रुझ्ने सम्भावना थिएन । बरु गाडीमा चढ्दाको आफ्नै दु:ख थिए, ती कुरा नगरौं ! जेनतेन बासस्थान पुगियो ।

चार ओटा राइड शेयरिङ प्लेटफर्म प्रयोग गर्दा पनि कोही राइडर नपाएको विषय मैले आफ्नो मित्रमण्डलीमा साझा गरेँ । उनीहरूमध्ये कतिपयलाई त्यस्तै भएको रहेछ । एक साथीले त कुपन्डोलदेखि नयाँ बानेश्वरसम्म १०० रुपैयाँ अफर गर्दा पनि राइड नभेटिएको व्यथा सुनाए । 

त्यसपछि मलाई मेरो व्यथा केही लागेन । बरु यस विषयमाथि लेख्ने सोच आयो । हाल काठमाडौं सहित नेपालभर नै अविरल वर्षा भइरहेको छ । काठमाडौंका कतिपय ठाउँमा घरभित्रै बाढी पसेको अवस्था छ । जनधनको क्षति भइरहेको छ । त्यस्तोमा राइडर नपाइनुलाई हामीले ठूलो विषय मान्नु हुन्न ।

हिजो कोही पनि राइडर नपाएपछि अब कहिल्यै ती प्लेटफर्म प्रयोग नगरुँ भन्ने झोँक चलेको थियो । सोचिल्याउँदा त्यसो गर्नु मुर्ख्याइँ लाग्यो । यसमा अझै पनि मेरो सोच विवादास्पद नै छ । भलै मैले नपाए पनि सोही समयमा अरू कोहीले त सेवा पाइरहेका थिए !

वास्तवमा राइड शेयरिङले म जस्ता साधन नभएकोलाई केही अल्छी बनाएको सत्य छ । सजिलै सार्वजनिक यातायातबाट पुगिने स्थानमा पनि हामी राइड शेयरिङमा नै जान खोज्ने भएका रहेछौं ।

हिजोको घटनाले मलाई यो कुरा मज्जैले बोध गराएको छ । कतिपय ठाउँमा वर्षाले गर्दा बिजुली छैन, खानेकुरा छैन, सुरक्षित बासस्थान छैन । अनि जाबो काठमाडौंमा राइडर नपाएको भनेर दु:ख मान्नु किन ? भलै, ती प्लेटफर्मले यस्तो विषम परिस्थितिमा केही सूचना पक्कै जारी गर्नु पर्थ्यो !

जे होस्, देश रोइरहेको बेलामा विलासितामाथि झापड लागेको बुझेँ । बस् ।

पछिल्लो अध्यावधिक: असोज १२, २०८१ १६:१५