close

एलन मस्क ट्वीटरलाई बैंक बनाउन चाहन्थे, तर बन्दै गइरहेको छ डेटिङ एप

टेकपाना टेकपाना

कात्तिक १९, २०८१ १७:१८

एलन मस्क ट्वीटरलाई बैंक बनाउन चाहन्थे, तर बन्दै गइरहेको छ डेटिङ एप

काठमाडौं । अर्बपति उद्यमी एलन मस्कले सन् २०२२ मा ट्वीटर (अहिलेको एक्स) खरिद गर्दा थुप्रै नाटकीय क्षणहरू देखिए । आफूलाई सबैभन्दा मन पर्ने प्लेटफर्म ट्वीटर भएको दाबी गर्दै आएका मस्क अन्य सामाजिक सञ्जालमा थिएनन् । 

त्यसो त अन्य सामाजिक सञ्जालमा मस्क नहुनुका पछाडि पनि थुप्रै कारण छन् । खासगरी मेटाका प्लेटफर्ममा मस्क सक्रिय नहुनुको कारण भने मार्क जुकरबर्ग हुन् । दुई जनाबिचको पुरानै दुस्मनी र ती प्लेटफर्मले डेटा बेचेको आरोपका कारण मस्क त्यता सक्रिय छैनन् । 

त्यसैले उनी सक्रिय एक मात्र सामाजिक सञ्जाल ट्वीटर थियो । उनी आफ्ना हरेक कम्पनीको विज्ञापन ट्वीटरबाटै गर्थे । मस्कले ट्वीटरमा ट्वीट गर्दा त्यहाँको शेयर बजार उथलपुथल हुने अवस्था थियो । अर्थात् मस्क सामाजिक सञ्जाल ट्वीटरका सबैभन्दा प्रभावशाली व्यक्ति थिए । 

सन् २०२२ मा ट्वीटर खरिद गरेपछि त्यसलाई उनले डिजिटल बैंकका रूपमा स्थापित गर्न खोजेका थिए । त्यसैको परिणाम स्वरूप पेपालमा परिणत भएको एक्स डटकमलाई उनले ट्वीटरमा ल्याए । मस्क, एड हो, ह्यारिस फ्रिकर र क्रिश्टोफर पाइनले सन् १९९९ मा डिजिटल बैंकका रूपमा एक्स स्थापना गरेका थिए । तर, पछि यो कम्पनी पेपालमा परिणत भयो र, ईबेले खरिद गर्‍यो । 

मस्कले ट्वीटर खरिद गरेपछि सबैभन्दा पहिला कम्पनीको नाम ट्वीटर इंकबाट एक्स कर्पोरेसन राखे । त्यसपछि ट्वीटरको डोमेन नै एक्स डटकम बनाए । उनले एक्सलाई ‘एभ्रिथिङ एप’ बनाउन चाहेका थिए । त्यस्तो एप, जसमा सबै सुविधाहरू उपलब्ध होऊन् । 

तर, उक्त प्लेटफर्म खरिद गरेको दुई वर्षसम्म एक्स ‘एभ्रिथिङ एप’ हुने कुनै छाँटकाँट छैन । द भर्जका अनुसार गत वर्ष आन्तरिक बैठकका क्रममा मस्कले ‘सन् २०२४ भित्र एक्सले सबैको वित्तीय जीवन व्यवस्थापन गर्ने’ बताएका थिए । त्यसका लागि कम्पनीले भेन्मो जस्तै भुक्तानीको फिचर विकास गरिरहेको छ । 

यसले भुक्तानी प्रक्रियाका लागि क्यालिफोर्निया सहित ३८ ओटा अमेरिकी राज्यमा ‘मनी ट्रान्समिटर लाइसेन्स’ प्राप्त गरेको छ । तर, न्युयोर्क जस्ता राज्यहरूमा लाइसेन्स पाउन बाँकी नै छ । तर, भुक्तानीका लागि यही प्लेटफर्म प्रयोग हुन्छ भन्ने कुनै आधार छैन । मस्कले कसरी यसलाई भुक्तानीका लागि अपरिहार्य प्लेटफर्म बनाउँछन्, त्यो हेर्न बाँकी नै छ । 

मस्कले चाहेको भन्दा एक्स फरक भइरहेको छ । फरक यस सन्दर्भमा कि यो टिकटकको विकल्पमा छोटा भिडिओ शेयर गर्न सकिने फिचर, युट्युबको विकल्पमा लामा भिडिओ र पडकास्ट पोस्ट गर्न सकिने विकल्पका रूपमा प्रयोग हुन थालेको छ । त्यसैगरी लिङ्क्डइनको विकल्पमा जागिर दिन र खोज्न सकिने माध्यम तथा जोडी खोज्ने डेटिङ एपको विकल्प बन्दै गइरहेको द भर्जले उल्लेख गरेको छ ।

पछिल्लो अध्यावधिक: कात्तिक १९, २०८१ १७:२०