पार्टपुर्जाको लागत ह्वात्तै बढेपछि आईफोन १८ प्रो म्याक्सको मूल्य ३० हजारभन्दा बढीले महँगिने !
असार २८, २०८३ ७:२८
काठमाडौं । एप्पलले आफ्ना अघिल्ला मोडेलहरूको तुलनामा आईफोन १८ प्रो म्याक्स उत्पादन गर्न निकै ठुलो रकम खर्च गरिरहेको छ । यसको सिधा अर्थ उपभोक्ताका लागि यसको मूल्य २०० डलर वा सोभन्दा बढीले वृद्धि हुनेछ ।
एप्पलले हालै गरेको अभूतपूर्व मूल्य वृद्धिमा सबै आईफोन मोडेलहरूलाई यथावत् राखेको थियो । तर आगामी आईफोन १८ प्रो सिरिज यसबाट प्रभावित हुने सम्भावना पहिले नै थियो । काउन्टरपोइन्ट रिसर्चको पछिल्लो अनुमान अनुसार, एप्पलले आईफोन १८ प्रो म्याक्सका लागि तिर्नुपर्ने बिल अफ मटेरियल्स (पार्टपुर्जाको कूल लागत) हालको मोडेलको तुलनामा ३०० डलर बढी रहेको छ ।
हुन त पार्टपुर्जाको लागत सधैं बढिरहेको हुन्छ । जसका कारण आईफोन १५ प्रो म्याक्सको उत्पादन लागत यसको अघिल्लो संस्करण भन्दा १२ प्रतिशत बढी थियो र आईफोन १६ मोडेलहरूको लागतमा पनि सामान्य वृद्धि भएको थियो । तर, अहिले विश्वव्यापी चिप अभावका कारण एप्पलले केही विशिष्ट पार्टपुर्जाका लागि उल्लेखनीय रूपमा बढी मूल्य तिर्नुपरेको छ ।
विशेष गरी मेमोरीका कारण एप्पलको उत्पादन लागत उच्च हुने देखिएको छ । काउन्टरपोइन्ट रिसर्चले विस्तृत अनुमान त सार्वजनिक गरेको छैन, तर १ टीबी स्टोरेज भएको १२ जीबी र्यामको आईफोन १८ प्रो म्याक्समा अघिल्लो मोडेलको तुलनामा केही परिवर्तन हुने अपेक्षा गरिएको छ ।
जसमा एनएएनडीको लागत चार गुणा बढी हुनेछ भने डीर्यामको लागत झन्डै चार गुणा महँगो हुनेछ । प्रोसेसरको लागत यथावत् रहन सक्छ । क्यामेराको लागत सामान्य रूपमा बढ्नेछ भने डिस्प्लेको लागत भने केही घट्न सक्ने अनुमान छ ।
एप्पलले यसअघि कम मूल्यका कन्फिगरेसन (स्टोरेज भेरियन्ट) हटाउने रणनीति अपनाएर मूल्य वृद्धिलाई लुकाउने प्रयास गरेको थियो । उदाहरणका लागि, आईफोन १५ प्रो म्याक्स सार्वजनिक गर्दा एप्पलले १२८ जीबीको मोडेल हटाएर यसको सुरुवाती मूल्यलाई अघिल्लो मोडेलको २५६ जीबी कन्फिगरेसन बराबर बनाएको थियो ।
नयाँ प्रतिवेदनले एप्पलले आईफोन १८ प्रो सिरिजका लागि पनि यस्तै किसिमको परिवर्तन गर्ने अपेक्षा गरेको छ । यसले उपभोक्ताहरूका लागि औसतमा २०० डलरको मूल्य वृद्धि हुने अनुमान गरेको छ । यद्यपि यसो गर्दा पनि एप्पलको नाफामा सङ्कुचन आउने बताइएको छ ।
यी सबै अनुमानहरू आईफोन १८ प्रो म्याक्समा प्रयोग हुने अपेक्षा गरिएका प्रत्येक छुट्टाछुट्टै पार्टपुर्जाका सूचनाहरूमा आधारित रहेको बताइएको छ । यद्यपि, बिल अफ मटेरियल्स (BOM) अघिल्ला मोडेलहरूको बीओएमसँग तुलना गर्नका लागि मात्र उपयोगी हुन्छ ।
यसमा एप्पलको खरिद गर्ने क्षमता (बाइङ पावर) लाई खासै ध्यान दिइएको हुँदैन । जसले गर्दा कम्पनीले आफ्ना प्रतिस्पर्धीहरूको तुलनामा कहिलेकाहीँ सस्तो दरमा सम्झौता गर्न सक्छ । साथै, यसमा अनुसन्धान तथा विकास र मार्केटिङको लागत पनि समावेश गरिएको छैन, जुन चिप अभावका कारण नबढे पनि अन्य कारणले पक्कै बढेको छ ।
परिणामस्वरूप, यो आईफोन लन्चसँगै एप्पलले बिल अफ मटेरियल्स (BOM) भन्दा धेरै कुराहरू व्यवस्थापन गर्नुपर्ने देखिन्छ । यसको वास्तविक परिणाम आगामी सेप्टेम्बरमा फोनहरू सार्वजनिक नभएसम्म थाहा पाउन सकिने छैन ।
यद्यपि, अत्यधिक महँगो हुन सक्ने अनुमान गरिएको आफ्नो आईफोन फोल्ड बजारमा ल्याउनका लागि एप्पलका निम्ति यो वर्ष सबैभन्दा प्रतिकूल समय बन्न सक्ने देखिन्छ ।
पछिल्लो अध्यावधिक: असार २८, २०८३ ७:२८
