close

नेपालीलाई लक्षित गर्दै छुट्टै अवैध अनलाइन सट्टेबाजी प्लेटफर्म ‘मेटाबेट’ सञ्चालनमा

टेकपाना टेकपाना

चैत १४, २०८० १७:४९

नेपालीलाई लक्षित गर्दै छुट्टै अवैध अनलाइन सट्टेबाजी प्लेटफर्म ‘मेटाबेट’ सञ्चालनमा

 

काठमाडौं । नेपाली प्रयोगकर्तालाई लक्षित गर्दै छुट्टै अनलाइन सट्टेबाजी वेबसाइट सञ्चालनमा आएको छ । 'मेटाबेट ६३' एनपी नामक अनलाइन सट्टेबाजी अवैध रूपमा सञ्चालनमा आएको हो ।

अहिले उक्त वेबसाइटको प्रचार प्रसारका लागि फेसबुकमा बुस्ट तथा विज्ञापन गर्ने कार्य समेत भइरहेको छ । यसको फेसबुक पेजमा छ हजार भन्दा बढी फलोर जुटिसकेका छन् ।

मेटाबेटले आफूलाई लाइभ क्यासिनोको रूपमा चिनाउँदै आएको छ । विश्वकै चर्चित क्रिकेट लिग आईपीएलको अवसर पारेर यो बेटिङ साइट सञ्चालनमा ल्याइएको जस्तो देखिन्छ ।

नेपालमा यस्ता अनलाइन सट्टेबाजी खेल्ने र खेलाउने दुवै कार्य प्रतिबन्धित छन् । तर यो नयाँ वेबसाइटलाई भने नियामक नेपाल दूरसञ्चार प्राधिकरणले यो समाचार तयार पार्दासम्म पनि ब्लक गरेको छैन ।

यसको भुक्तानीका लागि सिटिजन्स बैंक, एभरेस्ट बैंक, ग्लोबल आईएमई बैंक, प्रभु बैंक, लक्ष्मी बैंक, माछापुच्छ्रे बैंक, एनआईसी एसिया बैक, नेपाल एसबीआई बैंक र कनेक्ट आईपीएस प्रयोग गर्न सकिने भन्दै लोगो समेत सामवेश गरिएका छन् । 

त्यसो त वनएक्स बेट, डाफा बेट, उल्फ ७७७, निजमेगन जस्ता अन्य बेटिङ साइट समेत खुलेआम सञ्चालनमा रहेका छन् । सामाजिक सञ्जाल प्रयोगकर्तालाई लक्षित गर्दै यस्ता प्लेटफर्मको प्रचारप्रसार तथा कारोबार हुने गरेको छ ।

प्रहरीले अनलाइन सट्टेबाजी खेल्ने, खेल्न प्रोत्साहन गर्ने र एजेन्टका रूपमा सक्रिय मानिसहरूलाई बेलाबेलामा पक्राउ गरेपनि यस्ता अवैध क्रियाकलाप नियन्त्रण हुन सकेको छैन । 

नेपालमा संशोधित जुवा ऐन २०२० को दफा २ मा जुवाको परिभाषा स्पष्ट उल्लेख छ । सो ऐनका अनुसार जुवा भन्नाले सम्पत्ति हार्ने वा जित्ने गरी कुनै संयोग आधारमा बाजी थापी खेलेको कुनै खेल भनी सम्झनु पर्छ भनिएको छ । 

जुवा ऐन २०२० को दफा ३ मा जुवा खेल्न वा खेलाउन प्रतिबन्ध रहेको उल्लेख छ । दफा ३ को उपदफा १ मा लेखिएको छ, “कुनै व्यक्तिले जुवा खेल्न, खेलाउन वा जुवा खेल्ने खाल थाप्न वा आफ्नो हकको वा आफ्नो भोग चलन वा जिम्माको कुनै घर कोठा वा ठाउँलाई जुवा खेल्ने वा खेलाउने काममा व्यवहार गर्न वा गराउन, जुवा खेलेको ठाउँमा बस्न हुँदैन ।” 

ऐनको दफा ४ मा दफा ३ मा मनाही गरेका काम गर्ने वा गराउनेलाई विभिन्न सजाय हुने व्यवस्था गरिएको छ । 

त्यस्तै विज्ञापन (नियमन गर्ने) ऐन, २०६६ को दफा ५ को उपदफा १ को (ख) मा जुवा खेल्न खेलाउन वा प्रचलित कानून बमोजिम अनुमति नलिएको चिठ्ठा किन्न किनाउन प्रोत्साहन गर्ने विषयमा विज्ञापन गर्न नहुने व्यवस्था छ । 

पछिल्लो अध्यावधिक: चैत १४, २०८० १७:४९