close

‘इसेवा होटल्स’ मा जोडिए देशभरका ३५ सय होटल

टेकपाना टेकपाना

मंसिर २३, २०८१ १४:११

‘इसेवा होटल्स’ मा जोडिए देशभरका ३५ सय होटल

काठमाडौं । डिजिटल भुक्तानी सेवाप्रदायक इसेवाले सञ्चालनमा ल्याएको होटल बुकिङ प्लेटफर्म ‘इसेवा होटल्स’ मा ३५ सय बढी होटल जोडिएका छन् । एक विज्ञप्ति जारी गर्दै कम्पनीले ५४ बढी जिल्लाका साना, मझौला तथा ठूला होटलहरू आफ्नो प्लेटफर्ममा समावेश भएको जानकारी दिएको हो ।

कम्पनीका अनुसार यस प्लेटफर्मबाट चर्चित तारे होटलदेखि ग्रामीण क्षेत्रका होमस्टेसम्म बुक गर्न सकिने छ । यसका लागि इसेवा एप वा इसेवा होटल्सको वेबसाइटमार्फत होटलका विवरणहरू हेरेर उपयुक्त विकल्प रोज्न सकिने कम्पनीले जनाएको छ ।

"ग्राहकको सहजता र परिस्थितिलाई ध्यानमा राख्दै इसेवा होटल्समा बिना अग्रिम भुक्तानी कुनै पनि सहरमा अवस्थित जुनसुकै होटल बुक गर्न सकिने र आवश्यकता अनुसार बुकिङ रद्द गर्न सकिने व्यवस्था छ," कम्पनीको विज्ञप्तिमा लेखिएको छ ।

यसैबीच ग्रामीण क्षेत्रका होमस्टेहरूलाई प्लेटफर्ममा समावेश गर्न तथा आर्थिक रूपमा सशक्त बनाउन कम्पनीले यूएसआईडी ट्रेड एण्ड कम्पेटेटिभनेससँग साझेदारी गरेको छ । यस सहकार्यले साना तथा मझौला होटल वा होमस्टेहरूलाई प्राविधिक सहयोग पुग्नुका साथै व्यवसाय सञ्चालनमा थप उत्साह प्रदान गरेको कम्पनीको भनाइ छ ।

पछिल्लो अध्यावधिक: मंसिर २३, २०८१ १४:४९