काठमाडौं । एप्पलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) टिम कुकले सन् २०२४ मा १० अर्ब रुपैयाँभन्दा बढी आम्दानी गरेका छन् । कम्पनीको वार्षिक प्रतिवेदन अनुसार उनको कूल कमाई सात करोड ४६ लाख अमेरिकी डलर (लगभग १० अर्ब २३ करोड रुपैयाँ) पुगेको हो ।
यो आँकडा सन् २०२३ को तुलनामा ११ प्रतिशतले बढी हो । सन् २०२३ मा उनको आम्दानी छ करोड ३२ लाख डलर थियो । टिम कुकको कमाइमा ३० लाख डलर आधारभूत तलब, पाँच करोड ८० लाख डलर स्टक पुरस्कार र एक करोड २० लाख डलर कार्यसम्पादनमा आधारित बोनस समावेश छ ।
यस बाहेक उनले अवकाश योजना, जीवन बीमा, बिदाको भुक्तानी, सुरक्षा र व्यक्तिगत हवाई यात्रा खर्च लगायत अन्य सुविधाबाट १५ लाख डलर पाएका छन् ।
म्याकर्युमर्सका अनुसार एप्पलले टिम कुकलाई व्यवसायिक र व्यक्तिगत दुवै यात्राका लागि निजी विमान प्रयोग गर्न अनिवार्य गरेको छ । सन् २०२४ का लागि कुकको लक्षित तलब पाँच करोड ९० लाख डलर डलर तोकिएको थियो । तर कम्पनीले राम्रो प्रदर्शन गरेपछि उनले थप नगद प्रोत्साहन पाएका हुन् । त्यसैले उनको वार्षिक आम्दानी वृद्धि भएको हो ।
यद्यपि कुकको २०२४ को कमाइ २०२३ को तुलनामा बढी भए पनि २०२२ मा पाएको नौ करोड ९० लाख डलरभन्दा निकै कम हो । सन् २०२२ मा उनले लगभग १० करोड डलर कमाएका थिए । त्यसपछि कुक र एप्पल बोर्डले उनको तलब समायोजन गर्ने निर्णय गरेको थियो । एप्पलका अन्य शीर्ष कार्यकारीहरू लुका मेस्ट्री, केट एडम्स, डेर्ड्रे ओ-ब्रायन र जेफ विलियम्सले भने २०२४ मा दुई करोड ७२ लाख डलर कमाएका छन् ।
एप्पलको २०२५ का शेयरधनीको बैठक २५ फेब्रुअरी बिहान ८ बजे (प्यासिफिक समय) हुने तय भएको छ । बैठकमा शेयरधनीहरूले बोर्ड अफ डाइरेक्टरको पुन: निर्वाचन र कार्यकारीहरूको पारिश्रमिक अनुमोदन लगायतका विषयमा मतदान गर्नेछन् ।
सीईओ टिम कुक र अन्य कार्यकारीहरूले बैठकमा कम्पनीको भविष्यका योजनाबारे कमै जानकारी दिने गरे पनि केही महत्त्वपूर्ण जानकारी प्राप्त हुने अपेक्षा गरिएको छ । गत वर्षको बैठकमा कुकले आर्टिफिसियल इन्टेलिजेन्सको सम्भावनाबारे चर्चा गरेका थिए । त्यसपछि जुन २०२४ मा ‘एप्पल इन्टेलिजेन्स’ फिचरको रूपमा सार्वजनिक गरिएको थियो ।