फ्याक्टचेकः रास्वपा महाधिवेशनमा डा तोशिमा कार्कीले निःशुल्क कन्डम बाँडेको भन्दै भाइरल तस्विर एआई निर्मित
असार ८, २०८३ ११:१९
काठमाडौं । आइतबार दिउँसोदेखि सामाजिक सञ्जालमा सांसद तथा राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ डा तोशिमा कार्कीको एउटा फोटो भाइरल बनिरहेको छ । हातमा अस्थायो गर्भ निरोधक साधन कन्डम लिएको जस्तो देखिने तस्विरसहित उनले महाधिवेशन स्थलमा निःशुल्क कन्डम वितरण गरेको दाबी गरिएको छ ।
एउटा राजनीतिक पार्टीको महाधिवेशन स्थलमा खिचिएको भन्दै असान्दर्भिक लाग्ने तस्विर सामाजिक सञ्जालमा तीव्र रूपमा भाइरल बनेको देखिए पछि टेकपाना फ्याक्टचेक डेस्कले यस विषयमा अनुसन्धान अगाडि बढायो । त्यस क्रममा सक्कली तस्विरलाई एआई टुल प्रयोग गरी एडिट गरिएको र उनले समातेको हाते पङ्खा हटाएर त्यसको ठाउँमा कन्डमको प्याकेट राखी भ्रामक रूपमा भाइरल बनाएको पुष्टि भएको छ ।
दाबी
Janata Television नामक फेसबुक पेजले २१ जुन २०२६ को राति ७ः४५ बजेको समयमा ‘रास्वपा महाधिवेशन चितवन मा : डा तोशिमा कार्की फ्री क न्ड म (ढाल) वितरण गर्दै 🥹’ क्याप्सन सहित डा कार्कीको तस्विर शेयर गरेको छ । हेर्नुहोस् फेसबुक पोस्ट र त्यसको स्क्रिनशटः

अनुसन्धानः
जनता टेलिभिजन नामक फेसबुक पोस्टमा रहेको तस्विरलाई गुगलको रिभिर्स इमेज सर्च र किवर्ड सर्च गर्दा अनेकौं प्रयोगकर्ता तथा पेजहरूले सोही तस्विर र दाबी गरेको भेटियो । ओम नाथ नामक फेसबुक प्रयोगकर्ताले फोटोको साथमा लेखेका छन्, “रास्वपाको महाधिवेशनका कारण चितवनमा देशभरिबाट मानिसहरू जम्मा भएपछि होटलदेखि बजारका हरेक व्यापारिक गतिविधि बढेका छन्। व्यवसायीहरूका अनुसार यही कारणले कन्डमको माग पनि उच्च रूपमा बढेको पाइएको छ। हामीले यसमा लजाउनुपर्ने कुनै कुरा देख्नुहुँदैन सुरक्षित यौन स्वास्थ्य र प्रजनन सचेतनालाई लुकाउनु भन्दा खुलेर स्विकार्नु नै बुझ्ने समाजको विशेषता हो।”
हेर्नुहोस् फेसबुक पोस्ट र स्क्रिनशटः

त्यस्तै Kalika Khabar नामक फेसबुक पेजले ‘रास्वपा महाधिवेशन चितवन मा : डा तोशिमा कार्की फ्री कन्डम वितरण गर्दै। #watch तस्बिरहरु- नेपाल फोटो लाइब्रेरी 👇’ क्याप्सनसहित उक्त तस्विर शेयर गरेको छ ।
हेर्नुहोस् फेसबुक पोस्ट र स्क्रिनशटः

यसैगरी N.B. Chand नाम गरेका फेसबुक प्रयोगकर्ताले कालिका खबरकै शीर्षक जस्ताको तस्तै राख्दै फोटो पोस्ट गरेका छन् । हेर्नुहोस् फेसबुक पोस्ट र स्क्रिनशटः

हरि बानियाँ नामक फेसबुक प्रयोगकर्ताले फोटोको साथमा ‘रास्वपा महाधिवेशन चितवन मा : डा तोशिमा कार्की फ्री कन्डम वितरण गर्दै।’ भनेर लेखेका छन् । हेर्नुहोस् फेसबुक पोस्ट र स्क्रिनशटः

Betana Dainik नामक फेसबुक पेजले पनि उस्तै दाबीसहित पोस्ट गरेको छ । हेर्नुहोस्, स्क्रिनशटः

फेसबुकमा मात्र होइन, रेडिटमा समेत यो फोटो शेयर भएको पाइयो । सब रेडिट r/NepalSocial मा Ramos6025 नामक प्रयोगकर्ताले ‘Good initiative from RSP. #निलो क्रान्ति’ लेख्दै फोटो पोस्ट गरेका छन् । हेर्नुहोस्, स्क्रिनशटः

त्यस्तै Harka Sampang A Revolution नामक फेसबुक ग्रुपमा खबर डटकम नामक फेसबुक पेजबाट सोही फोटो पोस्ट भएको छ । हेर्नुहोस्, ग्रुप पोस्ट र स्क्रिनशटः

Deepak Bikaram Deuja नामक फेसबुक प्रयोगकर्ताले ‘अनि पो नयाँ त साथीहरू 🤗 …’ भन्दै उक्त फोटो शेयर गरेका छन् । हेर्नुहोस् पोस्ट र स्क्रिनशटः

Hamro palpa gauuu dhading नामक फेसबुक पेजमा पनि त्यही फोटो पब्लिश भएको छ । हेर्नुहोस् पोस्ट र स्क्रिनशटः

यसका साथै Manish Purbe नामक फेसबुक प्रयोगकर्ताले लामो भूमिका सहित फोटो पोस्ट गरेका छन् । जसमा उनले लेखेका छन्, “के राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता महाधिवेशनमा गएका हुन् कि डेटिङमा?
रास्वपा महाधिवेशन चितवनमा : डा. तोशिमा कार्कीद्वारा निःशुल्क कन्डम वितरण!
देशको अर्थतन्त्र, बेरोजगारी, भ्रष्टाचार, शिक्षा र स्वास्थ्यका विषयमा गम्भीर बहस हुने अपेक्षा गरिएको महाधिवेशनमा कन्डम वितरणको चर्चा बढी हुन थालेपछि जनताले पनि प्रश्न गर्न थालेका छन्।
महाधिवेशन भनेको विचार, नीति र संगठन निर्माणको थलो हो कि यस्ता प्रचारमुखी गतिविधिको मञ्च?
जनताले खोजेको उत्तरदायी राजनीति हो, सस्तो प्रचार होइन।
देशका जल्दाबल्दा समस्याको समाधानबारे बहस कम र यस्ता गतिविधिको चर्चा बढी हुनु आफैंमा सोचनीय विषय हो।
महाधिवेशनबाट देश बनाउने योजना निस्कियो कि कन्डम वितरणको समाचार? जनताले जवाफ चाहेका छन्।…”
हेर्नुहोस् पोस्ट र स्क्रिनशटः

यसैगरी ‘नेकपा एमाले सपोटर’ फेसबुक पेजमा Himal नामक प्रयोगकर्ताले यही फोटो शेयर गरेका छन् । हेर्नुहोस् पोस्ट र स्क्रिनशटः
अनुसन्धानः
भाइरल तस्विरलाई हामीले ओपन एआईको रिसर्च भेरिफाई टुलमा राखेर जाँच गर्दा कम्पनीकै एआई टुल (च्याटजीपीटी) मार्फत तयार पारिएको (एडिट तथा तोडमोड गरिएको) देखियो ।
भाइरल तस्विर शेयर गर्ने क्रममा धेरैजसो फेसबुक पेज तथा प्रयोगकर्ताले नेपाल फोटो लाइब्रेरीलाई उद्धृत गरेको देखेपछि हामीले सम्बन्धित पेजमा पनि उक्त तस्विर खोज्यौँ । जसमा २१ जुन २०२६ को दिउँसो २ः४७ बजेको समयमा मिल्दोजुल्दो तस्विर भेटियो । ‘रास्वपा महाधिवेशनमा डा. तोसिमा कार्कीको संयोजनमा तीन स्थानमा हेल्थ डेस्क’ क्याप्सन सहित राखिएको उक्त तस्विरमा भाइरल तस्विरमा देखाइए जस्तो कन्डम नभएर अरू नै कुनै चिज डा. कार्कीको हातमा देखिएको छ । हेर्नुहोस्, दुवै तस्विरको तुलना ।

नेपाल फोटो लाइब्रेरीका प्रकाशचन्द्र तिमिल्सेनाले आफूहरूले खिचेको फोटो छेडखानी गरी असान्दर्भिक बनाउँदै पुनः प्रकाशन गरिएको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । उनले भनेका छन्, "यी तस्बिरहरु नेपाल फोटो लाइब्रेरीको आधिकारिक तस्बिर हो। यसमा अनधिकृत रूपमा छेडखानी गरी, भ्रामक सन्देश प्रवाह हुने गरी तथा नेपाल फोटो लाइब्रेरीलाई समेत क्रेडिट दिई फेसबुकमा पोस्ट गरिएको पाइएकाले त्यस्ता सम्पूर्ण पोस्ट तत्काल हटाउन सम्बन्धित सबैमा अनुरोध गर्दछौँ। यदि यस्ता पोस्टहरू निरन्तर रूपमा देखिएमा वा पुनः प्रकाशन गरिएको पाइएमा, सम्बन्धित व्यक्ति वा पेजविरुद्ध आवश्यक कानुनी कारबाहीको प्रक्रिया अघि बढाइने र यस सम्बन्धमा प्रेस काउन्सिल नेपाल तथा नेपाल प्रहरी साइबर ब्युरो लाई औपचारिक जानकारी गराइनेछ।"
यस प्रसङ्गमा हामीले डा.तोशिमा कार्कीलाई फोन सम्पर्क गरेर बुझ्ने प्रयास समेत गरेका छौं । उनले नेपाल फोटो लाइब्रेरीले खिचेको आफ्नो तस्विरमा आफ्नो हातमा देखिएको वस्तु हाते पङ्खा भएको बताइन् । “यो नियत र सोचाइको विषय हो । त्यसैले हामी समाजकै नैतिक चरित्र र सोचमै परिवर्तन जरुरी छ भनेर यसरी लागिरहेका छौँ । यसलाई उजुरीको विषय बनाएर ठुलो विषय बनाइराख्नपर्छ भन्ने जरुरी पनि लाग्दैन,” उनले टेकपानासँग भनिन् ।
यसबाट नेपाल फोटो लाइब्रेरीले खिचेको डा. तोशिमा कार्कीको फोटोलाई एआई टुलको सहयोगमा तोडमोड गरी भ्रामक रूपमा फैलाएको पुष्टि हुन्छ ।
दाबी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा सांसद डा. तोशिमा कार्कीले निःशुल्क कन्डम वितरण गरिरहेकी छिन् ।
दाबीकर्ता
Janata Television, Kalika Khabar, Betana Dainik, खबर डटकम (Harka Sampang A Revolution ग्रुपमार्फत), Hamro palpa gauuu dhading जस्ता फेसबुक पेज तथा ओम नाथ, N.B. Chand, हरि बानियाँ, Deepak Bikaram Deuja, मनीष पूर्वे, Himal (नेकपा एमाले सपोटर पेजमार्फत) र रेडिट (Reddit) मा Ramos6025 (r/NepalSocial) लगायतका प्रयोगकर्ताहरू ।
तथ्य
ओपन एआईको रिसर्च भेरिफाई टुलबाट जाँच गर्दा पनि यो तस्विर एआईमार्फत एडिट गरिएको देखिएको छ । स्वयं डा. तोशिमा कार्कीले आफ्नो हातमा भएको वस्तु हाते पङ्खा नै भएको र यसलाई नियतवश भ्रामक बनाइएको स्पष्ट पारेकी छिन् । नेपाल फोटो लाइब्रेरीका फोटोग्राफरले समेत आफ्नो आधिकारिक तस्विरमा छेडखानी गरिएको पुष्टि गरेका छन् ।
निष्कर्ष
डा. तोशिमा कार्कीले कन्डम बाँडेको भनिएको तस्विर भ्रामक र झुठो हो । वास्तविक तस्विरलाई एआईको प्रयोग गरी तोडमोड गरेर गलत प्रचार गरिएको हो ।

प्रतिक्रिया
तपाईँले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु सक्नुहुनेछ ।
पछिल्लो अध्यावधिक: असार ८, २०८३ १२:३९

