close

फ्याक्टचेकः विश्वकै अग्लो पगडी लगाउने व्यक्ति भन्दै नेपाली पेजले फैलाए एआईले बनाएको फोटो

हिक्मत आचार्य हिक्मत आचार्य

बैशाख २०, २०८२ २०:२३

फ्याक्टचेकः विश्वकै अग्लो पगडी लगाउने व्यक्ति भन्दै नेपाली पेजले फैलाए एआईले बनाएको फोटो

काठमाडौँ । केही दिनदेखि सामाजिक सञ्जाल फेसबुकमा एक तस्बिर भाइरल भइरहेको छ । तस्बिरमा सेतो दाह्री-जुँगा पालेका एक वृद्ध सिख व्यक्तिले निकै ठुलो र लामो सेतो पगडी लगाएको देखाइएको छ । पृष्ठभूमिमा ग्रामीण परिवेश देख्न सकिन्छ ।

नेपालीसहित केही भारतीय फेसबुक पेज तथा इन्स्टाग्राम अकाउन्टले यो तस्बिर भारतका अवतार सिंह मौनीको भएको र उनले विश्वकै सबैभन्दा लामो पगडी लगाएर कीर्तिमान राखेको दाबी गरेका छन् । यद्यपि टेकपाना फ्याक्टचेकले अवतार सिंह मौनीको भन्दै भाइरल बनाइएको फोटो एआईले तयार पारेको पुष्टि गरेको छ । त्यसका साथै गिनिज बुकमा भारतका अवतार सिंह मौनीको नाममा कुनै रेकर्ड नभएको पत्ता लागेको छ ।

दाबी

बिहीबार १ मे २०२५ बिहान ११ः४४ बजे फेसबुकमा ‘Butwal बुटवल’ नामको फेसबुक पेजले दाह्री-जुँगा पालेका एक वृद्ध सिख व्यक्तिले निकै ठुलो र लामो सेतो पगडी लगाएको फोटो राखेको थियो ।

त्यसको क्याप्सनमा लेखिएको थियो, “विश्वको सबैभन्दा अग्लो पगडी लगाउने रेकर्ड पञ्जाबका अवतार सिंह मोनीको नाममा छ । यो पगडीको तौल ४५ किलोग्राम छ र यसको लम्बाइ ६४५ मिटर छ। यो पगडी लगाउन ५-६ घण्टा लाग्छ ।”

यो सामग्री तयार पार्दासम्म उक्त पोस्टमा ३१०० बढी रियाक्सन, १४१ कमेन्ट र ३४ शेयर आएको छ । हेर्नुहोस् ओरिजिनल लिङ्कआर्काइभ लिङ्क । 

अनुसन्धान

टेकपाना फ्याक्टचेक डेस्कले ‘Butwal बुटवल’ नामक पेजको दाबी फेला पारेपछि त्यसबारे थप जानकारीका लागि फेसबुकमा ‘पगडी’ कीवर्ड सर्च गर्‍यो । त्यस क्रममा अन्य थुप्रै पेजले पोस्ट र क्याप्सन उस्तै राख्दै पोस्ट राखेको फेला पार्‍यो ।

त्यसैगरी त्यही दिन सोही क्याप्सन र फोटोसहित ‘National Online News’ नामक फेसबुक पेजले पनि दिउँसो १२ः११ बजे पोस्ट राख्यो । हेर्नुहोस् ओरिजिनल पोस्टआर्काइभ पोस्ट । 

नयाँ पुस्ता डटकम नामक फेसबुक पेजले १ मे २०२५ दिउँसो १२ः४० बजे ‘विश्वको सबैभन्दा अग्लो पगडी लगाउने रेकर्ड पञ्जाबका अवतार सिंह मोनीको नाममा छ। यो पगडीको तौल ४५ किलोग्राम छ र यसको लम्बाइ ६४५ मिटर छ। यो पगडी लगाउन ५-६ घण्टा लाग्छ।’ क्याप्सन सहित त्यही फोटो राख्यो । यो सामग्री तयार पार्दासम्म उक्त पोस्टमा ८५४ रियाक्सन, १५ कमेन्ट र ६ शेयर आएको छ । हेर्नुहोस् ओरिजिल लिङ्क आर्काइभ लिङ्क

सोभा थापा नामको फेसबुक पेजले १ मे २०२५ दिउँसो १ बजेर २३ मिनेटमा ‘विश्वको सबैभन्दा अग्लो पगडी लगाउने रेकर्ड पञ्जाबका अवतार सिंह मोनीको नाममा छ। यो पगडीको तौल ४५ किलोग्राम छ र यसको लम्बाइ ६.४५ मिटर छ। यो पगडी लगाउन ५-६ घण्टा लाग्छ।’ क्याप्सन राख्दै सोही फोटो पोस्ट गरेको पाइयो । यो सामग्री तयार पार्दासम्म उक्त पोस्टमा ८९०० रियाक्सन, ३५८ कमेन्ट र १४३ शेयर आएको छ । हेर्नुहोस् ओरिजिनल लिङ्कआर्काइभ लिङ्क

त्यस्तै महबुब आलम (ओरिजिनल लिङ्कआर्काइभ लिङ्क), विवस पन्थ (ओरिजिनल लिङ्कआर्काइभ लिङ्क) नामका फेसबुक अकाउन्टले पनि सोही दाबीसहित पोस्ट राखेका छन् । 

जोक्स नेपाल (ओरिजिनल लिङ्कआर्काइभ लिङ्क) र ‘एनएजे इन्टरटेन्मेन्ट’ (ओरिजिनल लिङ्कआर्काइभ लिङ्क) नामका पेजले पनि सोही दाबीसहित पोस्ट राखेका छन् ।

भाइरल सञ्चार नामक फेसबुक पेजले माथि उल्लेख भएको क्याप्सन पढेर भिडिओ बनाएर राखेको छ । २ मे २०२५ मा राखिएको सो भिडिओमा ५५ हजार बढी रियाक्सन, २२५ कमेन्ट, ७३५ बढी शेयर र १८ लाख बढी भ्युज आएको छ । हेर्नुहोस् ओरिजिनल भिडिओआर्काइभ भिडिओ

विभिन्न नेपाली फेसबुक पेजले उही पोस्ट र क्याप्सनसहित ती वृद्ध व्यक्तिको फोटो राखेको फेला पारेपछि टेकपाना फ्याक्टचेक डेस्कले उक्त क्याप्सनलाई हिन्दीमा अनुवाद गरी हेर्दा केही हिन्दी पेजले पनि सोही दाबी गर्दै पोस्ट राखेको पायो ।

त्यसका साथै फ्याक्टचेक डेस्कले फोटो गुगल रिभर्स इमेज सर्च, यान्डेक्स र बिङ गरी हेर्‍यो । त्यस क्रममा विभिन्न युट्युब च्यानलले सोही फोटो शर्ट्सका रूपमा राखेको पाइयो । तर, कुनै पनि सञ्चार माध्यमले त्यही फोटोलाई लिएर समाचार बनाएको भेटिएन । 

त्यसपछि उक्त फोटोलाई म्याग्निफायरबाट हेरियो । त्यस क्रममा फोटोमा देखिएका व्यक्तिको औंला कम देखिए । 

त्यसका साथै उनको पृष्ठभूमिमा देखिएका घोडा जस्ता वस्तुको खुट्टा पनि अस्वाभाविक देखियो । 

यी सबै प्रक्रियापछि फोटो एआईले बनाएको हो कि होइन भन्ने पत्ता लगाउने टुल हाइभ मोडेरेसनमा फोटो अपलोड गरी हेर्‍यौं । र, उक्त टुलले फोटो एआई वा डिपफेक प्रविधिबाट ९९.४ प्रतिशत बनेको हुनसक्ने औंल्यायो । उक्त टुलका अनुसार यो फोटो स्टेबल डिफ्युजनबाट बनेको हुनसक्ने सम्भावना उच्च छ । कूल १ स्कोरमा स्टेबल डिफ्युजनबाट बन्ने स्कोर ०.९८ देखिएको छ ।

फोटो एआईबाट निर्मित भएको पुष्टि भएपछि टेकपाना फ्याक्टचेक डेस्कले क्याप्सनको विश्लेषण गर्‍यो । त्यसका लागि पनि क्याप्सनमा भनिएको जस्तो पञ्जाबका अवतार सिंह मौनीले पगडी सम्बन्धी कुनै रेकर्ड राखेका छन् कि छैनन् ? छन् भने त्यसको तौल ४५ किलो हो कि होइन ? लम्बाइ कति हो र त्यसलाई लगाउन पाँच देखि छ घण्टा लाग्छ कि लाग्दैन भन्ने दाबी पुष्टि गर्न लागियो । 

गिनिज वर्ल्ड रेकर्डको आधिकारिक वेबसाइटमा पगडीको रेकर्ड १ डिसेम्बर २०१० मा भारतका मेजर सिंहले राखेको फेला पर्‍यो । उनले ४०० मिटर लामो पगडी लगाएर रेकर्ड राखेका थिए । हेर्नुहोस् लिङ्क र स्क्रिनशट ।

गिनिज वर्ल्ड रेकर्ड्सको वेबसाइटमा ‘अवतार सिंह मौनी’को नाम नै भेटिएन । तर, सन् २०१४ मै भारतीय सञ्चार माध्यम एनडीटीभी, बेलायती सञ्चार माध्यम डेली मेलटेलिग्राफ, अमेरिकाको न्युयोर्क पोस्ट लगायतले अवतार सिंह मौनीले सबैभन्दा गरुङ्गो र लामो पगडी लगाउने गरेको उल्लेख गरेका थिए । उनीहरूका अनुसार अवतार सिंहले लगाउने पगडी ६४५ मिटर लामो र १०० पाउन्ड (४५.३५ किलो) थियो ।

तर, ती सञ्चार माध्यमले पनि अवतार सिंह गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउने तयारीमा रहेको उल्लेख गरेका थिए । यदि उनले लगाउने पगडी साँच्चै १०० पाउन्ड तौलको र ६४५ मिटर लामो भए उनले मेजर सिंहको रेकर्ड तोड्ने ती सञ्चार माध्यमले उल्लेख गरेका थिए । तर, त्यसपछि ती तीन ओटै सञ्चार माध्यमले ‘अवतार सिंह मौनी’ले गिनिज वर्ल्ड रेकर्ड्समा नाम लेखाएको उल्लेख गरेका छैनन् । 

 

दाबी

फोटोमा देखिएका व्यक्ति अवतार सिंह मौनी हुन् र उनले सबैभन्दा अग्लो पगडीको रेकर्ड राखेका छन् ।

दाबीकर्ता

‘Butwal बटवल’, सोभा थापा, भाइरल सञ्चार, जोक्स नेपाल, एनएजे इन्टरटेन्मेन्ट, नयाँपुस्ता डटकम, नेसनल अनलाइन न्युज, महबुब आलम, विवस पन्थ लगायतका फेसबुक पेज तथा अकाउन्ट ।

तथ्य

भारतका अवतार सिंह मौनीको भन्दै भाइरल भइरहेको अग्लो पगडी लगाएको व्यक्तिको फोटो एआईबाट तयार पारिएको हो । अवतार सिंह मौनीले ६४५ मिटर लामो र ४५ किलोग्राम तौल भएको पगडी लगाएको भन्ने समाचार सन् २०१४ तिर आएका थिए । तर, उनको नाम गिनिज वर्ल्ड रेकर्ड्समा छैन ।

निष्कर्ष

‘Butwal बटवल’, सोभा थापा, भाइरल सञ्चार, जोक्स नेपाल, एनएजे इन्टरटेन्मेन्ट, नयाँपुस्ता डटकम, नेसनल अनलाइन न्युज, महबुब आलम, विवस पन्थ लगायतका फेसबुक पेज तथा अकाउन्टले अवतार सिंह मौनीको भन्दै राखेको फोटो एआईले तयार पारेको हो । उनले सबैभन्दा अग्लो पगडी लगाएकै छैनन् । सन् २०१४ तिर अवतार सिंह मौनीले सबैभन्दा गरुङ्गो र लामो पगडी लगाएको भन्दै भारतीय र अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले चर्चा गरेका थिए । उनले गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउने तयारी गरिरहेको ती सञ्चार माध्यमले उल्लेख गरेका थिए । तर, त्यसपछि उनको बारेमा केही अपडेट छैन । उनको नाम गिनिज वर्ल्ड रेकर्ड्सको आधिकारिक वेबसाइटमा छैन । सबैभन्दा गरुङ्गो र लामो पगडी लगाउने व्यक्तिको रूपमा गिनिज वर्ल्ड रेकर्ड्समा मेजर सिंहको नाम छ । उनले सन् २०१० मा ३५ किलो तौल भएको पगडी (खुला राख्दा ४०० लामो थियो) लगाएर रेकर्ड राखेका थिए । गिनिज बुकले पगडीका अन्य रेकर्ड राखे पनि सबैभन्दा लामो र गरुङ्गो पगडीको रेकर्ड मेजर सिंहकै नाममा छ ।

प्रतिक्रिया

तपाईंले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु होला ।

पछिल्लो अध्यावधिक: बैशाख २०, २०८२ २०:३३