काठमाडौँ । त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलतर्फ नेपाल टेलिकमको फाइबर चोरी भएपछि मंगलबार साँझदेखि आन्तरिकतर्फको ल्यान्डलाइन टेलिफोनमा समस्या आएको पाइएको छ । विमानस्थल स्रोतका अनुसार आन्तरिक विमानस्थल जाने बाटोमा नेपाली सेनाको क्षेत्र नजिकै टेलिकमको तार चोरी भएपछि यो समस्या आएको हो । “समस्या हिजो साँझदेखि नै आएको थियो । आज बिहान टेलिकमका प्राविधिकहरू आएर हेर्दा करिब ७-८ मिटर लामो तार काटेर चोरी गरेको भेटिएको छ,” स्रोतले भन्यो, “नयाँ तार जडान गरेर समस्या समाधान गर्ने प्रयास भइरहेको छ ।”
आन्तरिक वायुसेवा कम्पनीहरूले सूचना जारी गर्दै यस विषयमा ग्राहकलाई जानकारी दिएका छन् । सबै आन्तरिक वायुसेवा कम्पनीहरूको विमान्स्थलस्थित टेलिफोन नम्बरमा यो समस्या आएको छ ।
नेपाल टेलिकमका सहप्रवक्ता नवीन कुमार मिश्रले समस्या समाधानका लागि बुधबार बिहानदेखि प्राविधिक खटाइएको बताएका छन् ।
बुधबार बिहान बुद्ध एयरले एक सूचना जारी गर्दै काठमाडौंस्थित आन्तरिक विमानस्थलमा टेलिफोनहरू अवरुद्ध रहेको जानकारी गराएको छ । यति एयरलाइन्सले पनि आफ्ना ग्राहकका लागि सम्पर्क नम्बर छुट्टाएको छ ।
यता टेलिफोन अवरुद्ध भएको विषयमा भने त्रिभुवन विमानस्थल नै बेखबर देखिएको छ । विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौला र प्रवक्ता रिन्जी शेर्पाले यस विषयमा जानकारी नभएको प्रतिक्रिया दिए ।