close

गोसाईंकुण्ड जाने यात्रु लक्षित एनटीसीले रसुवाको चन्दनबारीमा सुरु गर्‍यो टुजी सेवा

टेकपाना टेकपाना

साउन २३, २०८२ १३:५१

गोसाईंकुण्ड जाने यात्रु लक्षित एनटीसीले रसुवाको चन्दनबारीमा सुरु गर्‍यो टुजी सेवा

 

काठमाडौँ । नेपाल टेलिकमले रसुवाको चन्दनबारीमा टुजी बीटीएस सञ्चालनमा ल्याएको छ । रसुवाको गोसाईंकुण्ड गाउँपालिकास्थित समुद्री सतहबाट करिब २ हजार ३०० मिटरको उचाईमा पर्ने सो स्थानमा टेलिकमले सेवा सञ्चालन गरेको हो । 

नेपाल टेलिकमले धार्मिक तथा पर्यटकीय गन्तव्यको रुपमा परिचित गोसाईंकुण्ड जाने तिर्थालु तथा पदयात्रीहरुको सुविधालाई ध्यानमा राखेर धुन्चेदेखि गोसाइँकुण्ड जाने पदमार्गमा पर्ने चन्दनबारीमा टुजी बीटीएस सञ्चालनमा ल्याएको जनाएको छ । 

गोसाईंकुण्ड जाने दर्शनार्थी तथा पर्यटकले धुन्चेदेखि देउराली, चन्दनबारी, लौरीविनायक र ४ हजार २०० मिटरमा अवस्थित गोसाईंकुण्डसम्म टेलिकमको मोबाइल नेटवर्क उपयोग गर्न सक्छन् । साथै टेलिकमले उच्च हिमाली क्षेत्रमा पुग्ने सेवाग्राहीहरूको सुविधाका लागि फोरजी नेटवर्क विस्तार गर्ने योजना अघि सारेको छ ।  

 प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्यका रुपमा परिचित गोसाईंकुण्डमा प्रत्येक वर्ष जनैपूर्णिमामा मेला लाग्ने गर्छ । सो क्षेत्रमा सेवा सञ्चालनमा आएपछि दर्शनार्थी तथा पर्यटक लगायत सो क्षेत्रमा बसोबास गर्ने बासिन्दा समेत सेवाबाट लाभान्वित हुने छन्। 

दुर्गम तथा अति विकट क्षेत्रका ग्रामीण तहसम्म दूरसञ्चार सेवाको पहुँच विस्तार गर्ने सरकारको नीतिअनुसार कम्पनीले सो क्षेत्रमा सेवा विस्तार गरेको जनाएको छ । प्रतिफल कम आउने र तुलनात्मक रुपमा लगानी बढी हुने स्थानमा समेत समान रुपमा दूरसञ्चार सेवा विस्तार गर्ने क्रमलाई निरन्तरता दिँदै सेवा सञ्चालन गरिएको टेलिकमले जनाएको छ ।

पछिल्लो अध्यावधिक: साउन २३, २०८२ १३:५१